Category: विशेष

  • नक्कली प्रहरी बनेर सर्वसाधारणलाई ठगी गर्ने ‘नटवरलाल’ प्रहरीको फन्दामा

    नक्कली प्रहरी बनेर सर्वसाधारणलाई ठगी गर्ने ‘नटवरलाल’ प्रहरीको फन्दामा

    वीरगंज, २४ जेठ । नक्कली प्रहरी बनेर सर्वसाधारणलाई ठगी गर्ने एकजना ‘नटवरलाल’ मोतिहारी प्रहरीको फन्दामा परेका छन।

    मोतिहारी जिल्लाको सुगौली थाना क्षेत्रमा गोप्य सूचनाको आधारमा प्रहरीले त्वरित कारबाही गर्दै सम्भावित लुटको घटना समयमै विफल पारेको हो।

    सुगौली थानाध्यक्ष अनीश कुमार सिंहको नेतृत्वमा गएको प्रहरी टोलीले भटहां गाउँँमा छापा मारेर नितेश कुमार नामक आरोपीलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार पक्राउ परेका नितेशले आफूलाई प्रहरी अधिकारीको भेषमा प्रस्तुत गरी मानिसहरूलाई डर देखाउने र ठगी गर्ने गर्दथे।

    छापामारीको क्रममा उसको घरबाट २ स्टार लागेको प्रहरी वर्दी, टोपी, चक्कु र टर्च बरामद गरिएको छ। बरामद सामग्रीले उसको आपराधिक गतिविधि पुष्टि भएको प्रहरीको भनाइ छ। प्रारम्भिक सोधपुछमा नितेशले आफ्ना अन्य साथीहरूको वारेमा पनि खुलाएका छन। उसको बयानका आधारमा थप २ जना संदिग्धको नाम पनि सार्वजनिक भएको छ।
    यस घटनामा प्रहरीले ३ जनालाई नाम किटेर र ३ जनालाई अज्ञात राखेर मुद्दा दर्ता गरेको छ। फरार रहेका आरोपीलाई पक्राउ गर्न प्रहरीले खोजी तीव्र पारेको छ।

    प्रहरीले दिएको जानकारी अनुसार नितेशको आपराधिक इतिहास पनि रहेको छ। ऊ यसअघि पटना भएको ३५ लाख रुपियाँँ ठगीको घटनामा समेत संलग्न रहेको अनुसन्धानमा खुलेको छ। यसबाट ऊ संगठित रूपमा अपराध गर्ने गिरोहको सदस्य रहेको देखिन्छ।

    आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि नितेशलाई न्यायिक हिरासतमा मोतिहारी पठाइएको छ। मोतिहारीका एसपी स्वर्ण प्रभातले घटनाको गहन अनुसन्धान भइरहेको र फरार आरोपीलाई चाँडै पक्राउ गरिने बताए।
    प्रहरीले सर्वसाधारणलाई कुनै पनि व्यक्ति प्रहरीको नाम लिएर डर देखाएमा तुरून्त नजिकको प्रहरी कार्यालयमा खबर गर्न आग्रह गरेको छ।

  • दिल्ली होटल आगलागी : २१ को मृत्यु

    दिल्ली होटल आगलागी : २१ को मृत्यु

    नयाँदिल्ली, २० जेठ  : भारतको राजधानी नयाँदिल्लीमा एक होटलमा भएको भीषण आगलागीमा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । पछिल्ला वर्षहरूमा राजधानीमा भएको सबैभन्दा घातक आगलागीका रूपमा यस घटनालाई प्रहरीले पुष्टि गरेको छ ।
    दिल्लीको दक्षिणी भागमा रहेको भीडभाडयुक्त बस्तीमा अवस्थित बेड–एन्ड–ब्रेकफास्ट ‘फ्लोरिस स्टे’ होटलमा बुधबार बिहान आगलागी भएको हो । आगो तीव्र रूपमा फैलिँदा भवनभित्र रहेका पाहुना र कर्मचारी फस्न पुगेका थिए ।
    उद्धार तथा खोजी कार्य जारी रहँदा ४० भन्दा बढी घाइतेलाई उपचारका लागि नजिकैका अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । घटनास्थलमा आठ वटा दमकल परिचालन गरी लामो प्रयासपछि आगो नियन्त्रणमा लिइएको हो ।
    अधिकारीहरूका अनुसार घटनापछि गहिरो दुःख व्यक्त गर्दै २१ जनालाई मृत घोषित गरिएको छ । प्रहरी र आपतकालीन सेवाका टोलीहरू अझै पनि घटनास्थलमा तैनाथ छन् र थप खोजी तथा उद्धार कार्य भइरहेको छ ।
    स्थानीय सञ्चारमाध्यमहरूका अनुसार मृतकमध्ये धेरै अफ्रिकी मुलुकका आगन्तुकहरू रहेको अनुमान गरिएको छ । उनीहरू उपचार तथा अन्य प्रयोजनका लागि दिल्ली आएका थिए । यद्यपि आधिकारिक रूपमा मृतकहरूको पूर्ण विवरण सार्वजनिक गरिएको छैन ।
    प्रधानमन्त्री नरेन्द्र मोदीले घटनालाई ‘दुःखद्’ भन्दै शोक व्यक्त गर्नुभएको छ । उहाँको कार्यालयले सामाजिक सञ्जालमार्फत जारी गरेको विज्ञप्तिमा मृतकका परिवारप्रति समवेदना प्रकट गरिएको छ ।
    आगलागीको कारणबारे प्रारम्भिक रूपमा कुनै ठोस निष्कर्ष नआएको प्रहरीले जनाएको छ । तर भारतमा यस्ता घटनाहरूको प्रमुख कारणमध्ये विद्युत् सर्ट सर्किट, पुरानो तथा कमजोर तारजडान र सुरक्षा मापदण्डको बेवास्ता प्रमुख रहेको बताइन्छ ।
    भारतमा भवन आगलागीका घटना बारम्बार हुने गरेका छन् । यसअघि मार्च महिनामा पूर्वी भारतको एक सरकारी अस्पतालमा भएको आगलागीमा पनि कम्तीमा १० जना गम्भीर बिरामीको मृत्यु भएको थियो, जसले देशको भवन सुरक्षा व्यवस्थामाथि फेरि प्रश्न उठाएको छ ।
    दिल्लीको यो पछिल्लो घटनाले होटल तथा आवासीय भवनहरूको सुरक्षा मापदण्ड कडाइका साथ लागू गर्नुपर्ने आवश्यकता फेरि उजागर गरेको छ, जसले ठूलो मानवीय क्षति रोक्न सकिने अपेक्षा गरिएको छ ।
  • भारतका प्रधानमन्त्री मोदी र सभापति लामिछानेबीच भेटवार्ता

    भारतका प्रधानमन्त्री मोदी र सभापति लामिछानेबीच भेटवार्ता

    काठमाडौँ, २० जेठ । भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज नयाँ दिल्लीमा भेटवार्ता भएको छ ।

    भेटपछि प्रधानमन्त्री मोदीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा सभापति लामिछानेसँग भेट्न पाउँदा अत्यन्त खुशी लागेको उल्लेख गर्नुभएको छ । साथै उहाँले सभापति लामिछानेसँग साझा समृद्ध भविष्यका लागि नजिकबाट सहकार्य गर्ने र उहाँको चाहनालाई स्वागत र पूर्ण रूपमा समर्थन गर्ने उल्लेख गर्नुभएको छ ।

    प्रधानमन्त्री मोदीले नेपाल ‘पहिलो छिमेकी’ नीतिअन्तर्गत एक प्राथमिक साझेदार राष्ट्र भएको र दुवै देशबीच रहेको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उच्च स्तरमा पुर्‍याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक उल्लेख गर्नुभएको छ ।

    भेटका अवसरमा उहाँहरूबीच नेपाल–भारत सम्बन्ध, रास्वपा र भारतीय जनता पार्टी ९भाजपा०बीचको सम्बन्ध, दुई देशबीचको आपसी हितका साथै विविध आयामहरूका विषयमा छलफल भएको थियो ।

    त्यस अवसरमा भारतीय विदेशमन्त्री डा एस जयशङ्कर, प्रधानमन्त्री मोदीका प्रमुख सुरक्षा सल्लाहकार अजित डोभल, विदेशसचिव विक्रम मिश्रीलगायतको उपस्थिति थियो भने नेपालका तर्फबाट सभापति लामिछाने, उहाँकी धर्मपत्नी नीकिता पौडेल, रास्वपाका नेताद्वय विपीन आचार्य र दीपक बोहरा तथा नयाँ दिल्लीस्थित नेपाली राजदूताबासका उच्च अधिकारीको पनि सहभागिता थियो ।

    भाजपाका अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा सभापति लमिछाने भारतको पाँचदिने भ्रमणका लागि सोमबार नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो । यसबीचमा सभापति लामिछानेले मङ्गलबार भारतका गृहमन्त्री अमित शाह, विदेशमन्त्री डा जयशङ्कर, भाजपाका अध्यक्ष नवीनलगायत उच्च पदाधिकारीसँग भेटवार्ता गर्नुभएको थियो ।

  • मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

    मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

    जनकपुरधाम, १५ माघः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस प्रदेशका कूल दुई हजार १६० मतदानस्थलमध्ये एक हजार २४६ मतदानस्थल अतिसंवेदनशील रहेको जनाइएको छ ।

    मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार भारतीय सीमासँग जोडिएका अधिकांश मतदानस्थल अतिसंवेदनशीलमा वर्गीकरण गरिएका छन् । त्यसको अनुगमन तथा सुरक्षाका उपायबारे योजनाबद्ध काम भइरहेको मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता कमल थापाले बताउनुभयो ।

    आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा मधेस प्रदेशमा प्रतिनिधिसभाका लागि ३२ वटा निर्वाचन क्षेत्र रहेकामध्ये ७५५ मतदानस्थल संवेदनशील र १५९ मतदानस्थल सामान्य रहेको जानकारी दिइएको छ । मधेस प्रदेशमा कुल चार हजार ४७१ मतदान केन्द्र छन् । विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी एक हजार २८ जना उम्मेदवार छन् ।

    मधेस प्रदेशमा ३५ लाख १७ हजार १२३ मतदाता छन् । जसमा पुरुषको सङ्ख्या १९ लाख पाँच हजार ८१९ र महिलाको सङ्ख्या १६ लाख ११ हजार ३०४ रहेको जनाइएको छ ।

  • प्रतिनिधिसभा सदस्य निर्वाचनः उम्मेदवारको नाम प्रकाशित

    प्रतिनिधिसभा सदस्य निर्वाचनः उम्मेदवारको नाम प्रकाशित

    काठमाडौँ, ८ माघः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मनोनयन पत्र दर्ता गरेका उम्मेदवारमाथि परेका उजुरीमाथि जाँचबुझ गर्दा दुई जनाको उम्मेदवारी खारेज गरिएको छ ।
    निर्वाचन आयोगका अनुसार काठमाडौँ क्षेत्र नं–१० का उम्मेदवार सुमित्रा बस्नेत र कैलाली–१ का रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ । बस्नेतको नाम कर्जा सूचना केन्द्रको कालो सूचीमा परेको जानकारी पाएपछि जाँच गर्दा प्रमाणित भएपछि उहाँको उम्मेदवारी खारेज गरिएको काठमाडौँ निर्वाचन क्षेत्र नं. १० की निर्वाचन अधिकृत अमृताकुमारी शर्माले राससलाई जानकारी दिनुभयो ।
    उम्मेदवारको नाम प्रकाशित
     देशभरका ७७ मुख्य निर्वाचन अधिकृत र ८८ निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गरिएको छ । यही माघ ९ गते शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेद्वारले नाम फिर्ता लिने समय तोकिएको छ । माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गरिने आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले बताउनुभयो ।
    देशभरका ७७ मुख्य निर्वाचन अधिकृत र ८८ निर्वाचन अधिकृतको कार्यालयबाट आयोगमा प्राप्त जानकारीअनुसार पुरुष तीन हजार ८८, महिला ३९५ र तेस्रो लिङ्गी एक गरी तीन हजार ४८५ जनाको उम्मेदवारी कायम भएको छ । यीमध्ये चार जिल्लाका पाँच उम्मेदवारमाथि उजुरी परेको थियो ।रासस
  • हिन्दू पत्रकार संघलाई भवन र तीन पुरस्कारको लागि सहयोग गर्ने नेपाल जनता पार्टीद्वारा घोषणा

    हिन्दू पत्रकार संघलाई भवन र तीन पुरस्कारको लागि सहयोग गर्ने नेपाल जनता पार्टीद्वारा घोषणा

    वीरगंज, ४ माघ । नेपाल जनता पार्टीले आइतवार वीरगंजको रानीसती धर्मशालामा आयोजित कार्यक्रममा हिन्दू पत्रकार संघको भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने र वार्षिक रूपमा तीनवटा नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।

    नेपाल जनता पार्टीका वरिष्ठ नेता सन्तोषानन्द महाराजले हिन्दू पत्रकार संघको केन्द्रीय कार्यालयका लागि १० धुर जग्गामा एकतल्ले भवन निर्माण गरिदिने उदघोष गर्दै आगामी वर्षदेखि लागू हुने गरी पार्टीको आर्थिक व्यवस्थापनमा संघको निर्णय बमोजिम वितरण गरिने गरी कुल ६५ हजार रुपियाँ राशिको तीनवटा पुरस्कार घोषणा गरे ।

    काशीनाथ तिवारी पुरस्कार (नगद २५ हजार), अनिल पटेल पुरस्कार (नगद २५ हजार) र युवा क्रियाशील पत्रकारिता पुरस्कार (नगद १५ हजार रुपियाँ) पुरस्कार छनोटको पूर्ण अधिकार हिन्दू पत्रकार संघलाई नै दिइएको छ ।

    हिन्दू पत्रकार संघका केन्द्रीय अध्यक्ष राजन  रौनियारले नेपाल जनता पार्टीले देखाएको यो उदारताप्रति आभार व्यक्त गर्दै आगामी निर्वाचनमा सबै हिन्दूवादी दलहरू आफ्नो व्यक्तिगत स्वार्थ त्यागेर एकजुट हुनुपर्नेमा जोड दिए ।

    हिन्दूवादी शक्तिहरू एक भएर चुनावमा होमिएमा सदनमा धर्मको पक्षमा बोल्ने प्रतिनिधिहरूको संख्या बढ्नेछ। यसका लागि हाम्रो संस्थाले विभिन्न दलहरूबीच ‘पुल’को भूमिका निर्वाह गर्न तयार छ र चाँडै यसको पहल गर्ने उनले बताए ।

    नेपाल जनता पार्टीका पर्सा जिल्ला अध्यक्ष अनिल कुर्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हिन्दू पत्रकार संघका केन्द्रीय सल्लाहकार तथा पदाधिकारीहरूलाई विशेष सम्मान गरिएको थियो ।

    कार्यक्रममा नेपाल जनता पार्टीका केन्द्रीय नेताहरू, जिल्ला कार्यसमिति र विभिन्न विभागका प्रमुखहरूको उपस्थिति रहेको थियो ।

  • उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दा १३ प्रकारका कागजात संलग्न गर्नुपर्ने

    उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दा १३ प्रकारका कागजात संलग्न गर्नुपर्ने

    काठमाडौँ, ४ माघः निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन पत्र दर्ता गर्दा १३ प्रकारका कागजात संलग्न गर्नुपर्ने स्पष्ट पारेको छ ।
    पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि यही माघ ६ गते हुने मनोनयन पत्र दर्ता गर्दा उम्मेदवारको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि वा मतदाता परिचय पत्रको प्रतिलिपि, कुनै स्थानीय तहको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा आवश्यक पर्ने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभयो । उम्मेदवारी दिँदा सङ्घीय, प्रदेश वा स्थानीय सरकारमा तथा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व अथवा नियन्त्रणमा रहेको वा तीनै तहका सरकारबाट अनुदान प्राप्त संस्थाबाट पारिश्रमिक पाउने गरी बहाल रहेको भए त्यस्तो पदबाट राजीनामा दिएको निस्सा पनि उम्मेदवारले पेस गर्नुपर्ने उहाँले बताउनुभयो ।
    उम्मेदवारले प्रतिनिधि तोकी मनोनयन पत्र दर्ता गर्ने भएमा प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा २४ सँग सम्बन्धित अनुसूची ११ बमोजिमको प्रतिनिधि मुकरर गरेको फारम भर्नुुपर्नेछ । यसैगरी प्रचलित कानुनबमोजिम योग्यता पुगेको व्यक्तिले मनोनयन पत्र दर्ता गर्दा वा गराउँदा प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम ८ बमोजिम सोही निर्वाचन क्षेत्रको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका एक जना प्रस्तावक र एक जना समर्थक भई विवरण भरी सहीछाप गरेको मनोनयन पत्र पनि पेस गर्नुपर्ने आयोगले जनाएको छ ।
    दलका तर्फबाट उम्मेदवारी दिएको भए मनोनयनको औपचारिक पत्र प्रदान गर्न अधिकार पाएको दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिको पदाधिकारीले प्रदान गरेको प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को अनुसूची ७ बमोजिमको उम्मेदवार मनोनयनको औपचारिक पत्र आवश्यक पर्नेछ । एकल चुनाव चिह्न लिई संयुक्त रुपमा निर्वाचनमा सहभागी दलहरुको हकमा प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को अनुसूची ८ बमोजिमको उम्मेदवार मनोनयनको औपचारिक पत्र पनि समावेश गर्नुपर्नेछ ।
    निर्वाचन अधिकृतको कार्यालयमा रु १० हजार धरौटी जम्मा गरेको रसिद वा भौचर पनि पेस गर्नुपर्नेछ । तर महिला र दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रुपले विपन्न उम्मेदवारको हकमा भने धरौटी रकममा ५० प्रतिशत छुट हुने आयोगका प्रवक्ता भट्टराईले बताउनुभयो । विपन्नका हकमा स्थानीय तहले आर्थिक रुपमा विपन्न भनी सिफारिस गरेको पत्र पनि समावेश गर्नुपर्नेछ ।
    उम्मेदवारले प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा २१ सँग सम्बन्धित अनुसूची ९ बमोजिमको ढाँचामा आफ्नो चल, अचल सम्पत्ति, बैङ्क तथा वित्तीय संस्थामा रहेको खाता, धितोपत्र, सेयर, ऋणपत्र, कसैलाई ऋण दिएको वा लिएको भए त्यसको समेत सम्पूर्ण विवरण उल्लेख गरी सिलबन्दी रुपमा पेस गरेको सम्पत्ति विवरण पनि पेस गर्नुपर्ने जनाइएको छ ।
    निर्वाचन निर्देशिका, २०८२ को दफा २२ सँग सम्बन्धित अनुसूची १० बमोजिम भरिएको वैयक्तिक विवरण फारम, निर्वाचित, मनोनीत वा नियुक्त भएको निकायबाट कुनै पनि प्रकारको पेस्की लिएको भए फछ्र्यौट भएको व्यहोराको निस्सा संलग्न गर्नुपर्नेछ । लेखापरीक्षणबाट कुनै पनि उम्मेदवारका नाममा किटानीसाथ असुल उपर गर्नुपर्ने भनी कायम भएको बेरुजु भए फछ्र्यौट गरेको निस्सा र निर्वाचन आचारसंहिता, २०८२ को अनुसूची ३ बमोजिमको प्रतिबद्धता पत्र पनि समावेश गर्नुपर्ने आयोगले आजै जारी गरेको विज्ञप्तिमा पनि उल्लेख गरिएको छ । रासस
  • मिडिया काउन्सिल मधेस प्रदेशद्वारा  ‘सञ्चारमाध्यमको अवस्था र चुनौती’ विषयक अन्तरक्रिया

    मिडिया काउन्सिल मधेस प्रदेशद्वारा ‘सञ्चारमाध्यमको अवस्था र चुनौती’ विषयक अन्तरक्रिया

    बारा कलैया, ०९ पुस । मधेस प्रदेशका निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले सञ्चारमाध्यम समाजको ऐना भएको बताएका छन् ।

    बुधवार मिडिया काउन्सिल मधेस प्रदेशद्वारा बाराको कलैयामा आयोजित ‘सञ्चारमाध्यमको अवस्था र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा  बोल्दै प्रमुख अतिथि सोनलले सञ्चार क्षेत्रका अवसर र समस्यामाथि चर्चा गरे ।

    प्रविधि र जनसंख्यामा आएको परिवर्तनसँगै सञ्चारमाध्यमले विभिन्न चुनौतीहरूको सामना गरिरहेको उनले बताए । सोनलले गुणस्तरीय समाचार, तथ्यपरक रिपोर्टिङ र स्वतन्त्र पत्रकारिताको सुनिश्चितता आजको आवश्यकता रहेको बताए । डिजिटल माध्यमको बढ्दो प्रभाव, पत्रकारहरूको सुरक्षाको महत्व तथा सञ्चार क्षेत्रको व्यावसायिक विकासबारे समेत प्रकाश पारे । उनले स्थानीय सञ्चारमाध्यमको प्रवद्र्धन गर्दै आधुनिक प्रविधिसँग अद्यावधिक हुन आवश्यक रहेको बताए ।

    मिडिया काउन्सिलका अध्यक्ष सुरेश यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारी, लेखा समिति संयोजक केसी लामिछाने, मधेस प्रदेश अध्यक्ष श्याम बन्जारा, पर्सा अध्यक्ष ओमप्रकाश खनाललगायत बारा–पर्साका सञ्चारकर्मीहरूको उपस्थिति थियो ।

    सञ्चार क्षेत्रमा देखिएका समसामयिक समस्या र चुनौतीवारे वक्ताहरुले धारणा राख्दै समाधानका उपायमा जोड दिएका थिए । मिडिया काउन्सिलका प्रतिनिधिहरूले गोष्ठीमार्फत गुणस्तरीय, निष्पक्ष र जिम्मेवार समाचार सम्प्रेषणमा विशेष ध्यान दिन सञ्चारकर्मीहरूलाई आग्रह गरेका छन् ।

  • मधेस प्रदेशका मुख्यमन्त्री यादवको राजीनामा स्वीकृत

    मधेस प्रदेशका मुख्यमन्त्री यादवको राजीनामा स्वीकृत

    जनकपुर, १७ मङ्सिर : मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशप्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष बुझाउनुभएको राजीनामा स्वीकृत भएको छ ।

    आज प्रदेशप्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधानको धारा १६९ उपधारा (१) को खण्ड (क) अनुसार मुख्यमन्त्री पदबाट दिनुभएको राजीनामा आज प्रदेश प्रमुखले स्वीकृत गर्नुभएको छ ।”

    प्रदेशप्रमुख कार्यालयका निमित्त सचिव शत्रुधन यादवले जारी गर्नुभएको विज्ञप्तिमा नेपालको संविधानको धारा १६९ को उपधारा (३) बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषद्लाई प्रदेशको मन्त्रिपरिषद्को कार्यभार सञ्चालन गर्न तोकिएको व्यहोरा उल्लेख गरिएको छ ।

  • जनताले गणतन्त्रको अनुभूति गर्न पाएनन– महतो

    जनताले गणतन्त्रको अनुभूति गर्न पाएनन– महतो

    वीरगंज, १५ जेठ ।  राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले देशमा गणतन्त्र आएपनि जनताले त्यसको अनुभुति गर्न नपाएको दावी गरेका छन ।

    वीरगंजमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा नेता महतोले सो दावी गरेका हुन । उनले देशमा व्यवस्था परिवर्तन भएपनि अवस्था परिर्वतन नभएको जिकिर गरे । उनले नेपाल सवै नेपालीको लागि बन्नै नसकेकोमा चिन्ता समेत व्यक्त गरे । नेता महतोले नेपालको शासन नश्लिय चिन्तन सोचबाट चलेको आरोप लगाउँदै रक्षकनै  भक्षक हुदा देशमा समस्या भएको आरोप लगाए ।

    महतोले उत्पीडनमा परेका सबै समुदायको हितको लागि देशमा क्रान्तिको आवश्यकता रहेको बताउदै छिटै देशभरिनै परिर्वतन र मुक्तिको निम्ति आन्दोलन गर्ने बताए ।  फागुन १६ गतेबाट भद्रकालिबाट शुरू पहिलो चरणको राष्ट्रिय मुक्ति क्रान्ति चैत्र २४ गते सम्पन्न भएको र पुनः  जेठ ७ गतेबाट दोस्रो चरणको अभियान शुरू गरिएको महतोले बताए । उनले दोस्रो चरण अन्र्तगत एक महिनामा हिमाल,पहाड र तराईमा बिभिन्न कार्यक्रम गर्ने निर्णय गरिएको जानकारी दिए ।  महतोले  जेठ २१ ग्ते दाङ्गको घोराहीमा आम सभा गर्ने, २६ गते कोशी नामको खोरेजी र प्रदेशको पुनः सरचनाको माँग गर्दै बिराटनगरमा बिरोध सभा गर्ने,त्यसतै जेठ २९ बागलुगको बुर्तिवांगमा सभा गर्ने, असार १ गते मधेशी पहाडीको एकता सभा लालबन्दीमा गर्ने र अभियानको अन्तिम दिन  असार ४ काठमाडौंको माईतीघर मण्डेलामा सभा गर्ने निर्णय गरिएको नेता महतोले जानकारी दिए ।

    पत्रकार सम्मेलनमा राष्ट्रिय मुक्ति क्रान्तिका नेता बुद्धिछिरिङ्ग,कमला गुरूङ्ग,नेजामुदिन समानी,राजिव झा,राजेश साह लगायतको उपस्थिति थियो ।