सहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठानद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न, हरियाली वीरगंज अभियानलाई जोड
अभिलाष गुप्ता
वीरगंज, २७ अषाढ । “वृक्षारोपण गरौं–वातावरण संरक्षण गरौं, हाम्रो वीरगञ्ज–हरियाली वीरगंज” भन्ने मूल नाराका साथ शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठान, वीरगंजले शनिबार वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।
वीरगञ्ज महानगरपालिका–१६ स्थित नगवा माईदिया पोखरी परिसरमा रहेको बाबा गनिनाथ गोबिन्द जी मन्दिरको प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा विभिन्न प्रजातिका बिरुवा रोपेर वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने सन्देश दिइएको थियो।
कार्यक्रम प्रतिष्ठानकी अध्यक्ष मुना खनालको सभापतित्वमा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति बृजकिशोर पटेलको उपस्थिति रहेको थियो। प्रमुख अतिथि पटेलले वातावरण संरक्षण आजको प्रमुख आवश्यकता भएको उल्लेख गर्दै वृक्षारोपणलाई केवल औपचारिक कार्यक्रममा सीमित नराखी बिरुवाको संरक्षण र नियमित हेरचाहमा समेत सबैले ध्यान दिनुपर्ने बताए।
कार्यक्रममा प्रतिष्ठानका वरिष्ठ सल्लाहकार एवं समाजसेवी प्रकाश कुमार उपाध्याय, नेपाल प्रौढ संघका अध्यक्ष तथा समाजसेवी नन्दलाल अहिर, प्राध्यापक हरेराम ठाकुर, सन्तोषानन्द महाराज, सञ्चारकर्मी राकेश साह, सन्तोष कुशवाहा, राजन सिंह, क्रियाशील पत्रकार मञ्च नेपालका अध्यक्ष आनन्द पटेल लगायत प्रतिष्ठानका सदस्य तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
त्यसैगरी प्रतिष्ठानका उपाध्यक्ष युवराज खड्का, कोषाध्यक्ष वीणा आचार्य, सहसचिव अजित भुजेल, सदस्यहरू अभिलाष गुप्ता, सुमित गुप्ता, सुभाष सिंह, नवराज भट्टराई लगायतले सक्रिय रूपमा वृक्षारोपणमा सहभागिता जनाएका थिए।
प्रतिष्ठानका सचिव लालबाबु सिंहले सञ्चालन गरेको कार्यक्रमको संयोजन श्रवण रायमाझीले गरेका थिए।
कार्यक्रममा सहभागीहरूले वातावरणीय सन्तुलन कायम गर्न, जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न तथा भावी पुस्तालाई स्वच्छ र हराभरा वातावरण हस्तान्तरण गर्न वृक्षारोपण अभियानलाई निरन्तर अघि बढाउनुपर्नेमा जोड दिएका थिए। प्रतिष्ठानले आगामी दिनमा पनि शिक्षा, सामाजिक उत्तरदायित्व तथा वातावरण संरक्षणसँग सम्बन्धित विभिन्न जनहितका कार्यक्रम सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?




