Author: eDainik Jagran

  • नेपाल अडिटर्स एसोसिएसनको २१ औँ स्थापना दिवसमा वीरगंजमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड

    नेपाल अडिटर्स एसोसिएसनको २१ औँ स्थापना दिवसमा वीरगंजमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड

    अभिलाष गुप्ता
    वीरगंज, २० साउन । नेपाल अडिटर्स एसोसिएसन (अडान) को २१औँ स्थापना दिवसको अवसरमा देशभर केन्द्र, प्रदेश तथा जिल्ला तहमा विभिन्न कार्यक्रम आयोजना गरिएका छन्। सोही क्रममा नेपाल अडिटर्स एसोसिएसन पर्साले बुधबार वीरगञ्जमा प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाएको छ।

    कार्यक्रमअन्तर्गत पर्सा जिल्लाका लेखापरीक्षक तथा लेखा व्यवसायीहरू वीरगञ्जको घण्टाघरमा भेला भएका थिए। त्यहाँबाट सहभागीहरूले भानुचोकको परिक्रमा गर्दै पुनः घण्टाघरमा पुगेर कार्यक्रम सम्पन्न गरेका थिए।

    कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल अडिटर्स एसोसिएसनका केन्द्रीय सदस्य दिनानाथ रौनियार ले लेखापरीक्षकहरूको संख्या घट्दै गएको तथा पेशालाई कमजोर पार्ने विभिन्न षड्यन्त्र भइरहेको उल्लेख गर्दै पेशागत हकहित, सुरक्षा र सम्मानका लागि सबै लेखापरीक्षक अझ सशक्त र एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए।

    त्यसैगरी, अर्का केन्द्रीय सदस्य डा. सन्तोष कुमार साह ले लेखापरीक्षकहरूलाई बिचौलिया तथा झोले प्रवृत्तिबाट सचेत रहँदै इमान्दार र मर्यादित ढंगले पेशागत जिम्मेवारी निर्वाह गर्न आग्रह गरे।

    कार्यक्रममा केन्द्रीय अनुशासन समितिका सदस्य प्रदुम्न प्रसाद सेढाई, वरिष्ठ लेखापरीक्षक श्यामनारायण श्रेष्ठ, रोशन श्रेष्ठ, दिपक ध्वज जोशी, श्याम ठाकुर, विजयराज शर्मा, जयन्त चौरसिया, रामसदाय सिंह, प्रेम उपाध्याय, किशोर गुप्ता, उमेशचन्द्र यादव लगायतका लेखापरीक्षक तथा भिजन टिम को विशेष उपस्थिति रहेको थियो।

    कार्यक्रममा सहभागी सम्पूर्ण लेखापरीक्षक तथा अतिथिहरूलाई अडान पर्साका उपाध्यक्ष प्रेमचन्द चौरसिया ले स्वागत गरेका थिए। कार्यक्रमको सञ्चालन अडान पर्साका सचिव कुलोत्तम पोखरेल ले गरेका थिए भने व्यवस्थापनको जिम्मेवारी कोषाध्यक्ष रामबाबु साह ले सम्हालेका थिए।

    अडान पर्साका अध्यक्ष गजेन्द्रमान सिंह को अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले लेखापरीक्षकहरूलाई नियामक निकायले लागू गरेको आचारसंहिता पूर्ण रूपमा पालना गर्न तथा आफ्नो हस्ताक्षरको कुनै पनि प्रकारको दुरुपयोग हुन नदिन विशेष सतर्क रहन आग्रह गरे।

    अध्यक्ष सिंहले कार्यक्रममा सहभागी भिजन टिम ले लेखापरीक्षकहरूका लागि भेष्ट उपलब्ध गराएको तथा आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएकोमा धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए।

    स्थापना दिवसका अवसरमा आयोजित उक्त कार्यक्रमले लेखापरीक्षकहरूबीच पेशागत एकता, अनुशासन, आचारसंहिताको पालना तथा पेशाको गरिमा संरक्षण गर्ने प्रतिबद्धतालाई थप सुदृढ बनाएको सहभागीहरूले बताएका छन्।

  • डीएसपी राजु कार्कीको सक्रिय कार्यशैलीप्रति सर्वसाधारणको प्रशंसा, उत्कृष्ट सेवाका लागि सम्मान गर्नुपर्ने आवाज

    डीएसपी राजु कार्कीको सक्रिय कार्यशैलीप्रति सर्वसाधारणको प्रशंसा, उत्कृष्ट सेवाका लागि सम्मान गर्नुपर्ने आवाज

    अभिलाष गुप्ता
    वीरगंज, २० साउन । जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु कार्कीले पर्सा जिल्लाको शान्ति–सुरक्षा कायम गर्न, कानुनको प्रभावकारी कार्यान्वयन गर्न तथा नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्दै निर्वाह गरिरहेको भूमिकाप्रति स्थानीय तहमा सकारात्मक प्रतिक्रिया व्यक्त हुने गरेको छ।

    सहज, सरल र जिम्मेवार कार्यशैलीका लागि परिचित डीएसपी कार्कीले आफ्नो जिम्मेवारी इमानदारी, निष्पक्षता र व्यावसायिक ढंगले निर्वाह गर्दै आएको भन्दै विभिन्न सामाजिक तथा धार्मिक कार्यक्रमहरूमा सुरक्षाको प्रभावकारी व्यवस्थापन गरेको स्थानीयको भनाइ छ।

    विशेषगरी गहवा माई रथयात्रा, हनुमान जयन्तीलगायत हजारौं श्रद्धालु सहभागी हुने धार्मिक कार्यक्रमहरूलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन सुरक्षा व्यवस्थापनमा उनले खेलेको भूमिकाको प्रशंसा गरिएको छ। यस्ता संवेदनशील अवसरहरूमा प्रहरीले अपनाएको सुरक्षा सतर्कताले नागरिकमा विश्वास बढाएको स्थानीयहरू बताउँछन्।

    स्थानीयवासी तथा विभिन्न सामाजिक क्षेत्रका व्यक्तिहरूले डीएसपी कार्कीले देखाएको समर्पण, निष्ठा, अनुशासन र निष्पक्ष सेवाको कदर गर्दै आगामी दिनहरूमा पनि यही प्रतिबद्धताका साथ जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन्।

    यसैबीच, उत्कृष्ट कार्यसम्पादन, व्यावसायिक नेतृत्व र नागरिकमैत्री प्रहरी सेवाका लागि डीएसपी राजु कार्कीलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट उचित सम्मान वा पुरस्कार प्रदान गर्नुपर्ने आवाज पनि केही सामाजिक अगुवा तथा स्थानीयवासीबाट उठ्न थालेको छ। यद्यपि, यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालयले कुनै आधिकारिक निर्णय सार्वजनिक गरेको छैन।

  • नेशनल मेडिकल कलेजमा विश्व स्तनपान सप्ताह अन्तर्गत शैक्षिक खेलौना प्रदर्शनी तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    नेशनल मेडिकल कलेजमा विश्व स्तनपान सप्ताह अन्तर्गत शैक्षिक खेलौना प्रदर्शनी तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    वीरगंज, २० साउन । विश्व स्तनपान सप्ताह २०२६ को चौथो दिन नेशनल मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटल, वीरगंजकाे नर्सिङ विभागद्वारा बालरोग वार्ड परिसरमा शैक्षिक खेलौना प्रदर्शनी तथा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ।

    “Breastfeeding for a Sustainable Start in Life: Strengthen What Works” भन्ने नाराका साथ आयोजित कार्यक्रमको उद्घाटन अस्पताल निर्देशक डा. इशरत जहानले गर्नुभएको थियो। कार्यक्रममा शैक्षिक खेलौना तथा विश्व स्तनपान सप्ताहसम्बन्धी पोस्टर प्रदर्शनी गरिएको थियो।प्रदर्शनी मार्फत बालबालिकाको सिर्जनात्मक क्षमता, बौद्धिक विकास तथा खेलआधारित सिकाइको महत्त्वबारे जानकारी प्रदान गरिएको थियो। साथै, स्तनपानसम्बन्धी पोस्टरमार्फत आमाहरूलाई सही स्तनपान विधि, शिशुलाई स्तनपान गराउने उचित तरिका तथा शिशुको स्वस्थ विकासमा स्तनपानको भूमिकाबारे सचेतना फैलाइएको थियो।

    कार्यक्रममा गौतम स्कुल, नवदीप एकेडेमी, वीरगञ्ज पब्लिक स्कुल, लिटल बडी तथा चिल्ड्रेन मोन्टेसरीका कक्षा १ देखि ५ सम्मका करिब ७६२ विद्यार्थी तथा शिक्षकहरूको सहभागिता रहेको थियो। सहभागी विद्यार्थीहरूले शैक्षिक खेलौनाको अवलोकन गर्दै खेल्दै सिक्ने विधि, सिर्जनात्मकता र बाल विकासका विविध आयामबारे जानकारी हासिल गरेका थिए।यस अवसरमा मातृ–शिशु सम्बन्धलाई थप प्रगाढ बनाउन नवप्रसूता आमाहरूलाई बेबी–मदर फोटो फ्रेम पनि वितरण गरिएको थियो। यस पहलले अस्पतालमा मातृमैत्री तथा शिशुमैत्री वातावरण प्रवर्द्धन गर्न सकारात्मक योगदान पुर्‍याएको आयोजकको विश्वास रहेको छ।

    नर्सिङ विभागले कार्यक्रम सफल बनाउन सहयोग गर्ने अस्पताल प्रशासन, कर्मचारी, सहभागी विद्यालय, शिक्षक, विद्यार्थी, अभिभावक तथा आमाहरूलाई धन्यवाद ज्ञापन गरेको छ।

     

     

  • साउनमा शिव तप–साधनाद्वारा आत्मउन्नति र मानव कल्याणको दिव्य यात्रा— बिमल सर्राफ

    साउनमा शिव तप–साधनाद्वारा आत्मउन्नति र मानव कल्याणको दिव्य यात्रा— बिमल सर्राफ

    रक्सौल, पूर्वी चम्पारण १८ साउन । सृष्टिको आदिकालदेखि नै प्रकृति र अध्यात्मबीच गहिरो सम्बन्ध रहँदै आएको छ। जब वर्षाको पहिलो थोपा धर्तीमा पर्छ, सुख्खा जमिन हरियालीले ढाकिन्छ, नदीहरू कलकल बग्न थाल्छन् र चारैतिर “हर–हर महादेव” को जयघोष गुञ्जिन थाल्छ, तब पवित्र साउन महिनाले मानव जीवनमा नयाँ ऊर्जा, चेतना र आध्यात्मिक जागरण ल्याउँछ। साउन केवल एउटा ऋतु मात्र होइन, यो आत्मशुद्धि, तप, साधना, भक्ति, संयम र आत्मउन्नतिको पवित्र अवसर हो।

    यी विचार लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२२ ई का जोनल चेयरपर्सन तथा डिस्ट्रिक्ट चेयरपर्सन, भारत विकास परिषद् रक्सौलका सेवा संयोजक, मिडिया प्रभारी तथा समाजसेवी बिमल सर्राफ ले सञ्चारकर्मीसँग साझा गर्नुभएको हो।भगवान शिव सनातन संस्कृतिमा केवल आराध्य देव मात्र होइनन्, उहाँ सम्पूर्ण सृष्टिको कल्याण, समानता, करुणा, त्याग र तपस्याका प्रतीक हुनुहुन्छ। कैलाश पर्वतमा विराजमान भएर उहाँले जीवनको सबैभन्दा ठूलो विजय अरूमाथि होइन, आफ्नै मन, इन्द्रिय र विकारमाथि विजय प्राप्त गर्नु हो भन्ने सन्देश दिनुहुन्छ। जसले आफूलाई जित्न सक्छ, उसले संसारलाई पनि जित्न सक्छ।

    आज मानिससँग भौतिक सुविधा धेरै छन्, तर मनको शान्ति भने हराउँदै गएको छ। धन, साधन र प्रविधि बढेका छन्, तर तनाव, असन्तोष र सम्बन्धमा दूरी पनि बढिरहेको छ। यस्तो अवस्थामा भगवान शिवको जीवनले हामीलाई सादगी, सन्तुलन, आत्मसंयम र शान्त जीवनको मार्ग देखाउँछ।भगवान शिवको व्यक्तित्व विरोधाभासबीच पनि अद्भुत सन्तुलनको उदाहरण हो। उहाँ शरीरमा भस्म लगाउनुहुन्छ, तर सौन्दर्यका प्रतीक हुनुहुन्छ। घाँटीमा सर्प धारण गर्नुभएको छ, तर पूर्ण रूपमा निर्भय हुनुहुन्छ। मस्तकमा शीतल चन्द्रमा र जटामा जीवनदायिनी गङ्गा विराजमान छन्। उहाँको कण्ठमा विष छ, तर हृदय करुणा र प्रेमले भरिएको छ। यसले हामीलाई सिकाउँछ कि जीवनमा कठिनाइ र दुःख आउँछन्, तर यदि मन स्थिर र हृदय शुद्ध छ भने ती कठिनाइहरू पनि शक्तिमा परिवर्तन गर्न सकिन्छ।

    समुद्र मन्थनका बेला सम्पूर्ण सृष्टिको रक्षा गर्न भगवान शिवले हलाहल विष पान गर्नुभयो। यो केवल धार्मिक कथा मात्र होइन, मानवताका लागि महान् प्रेरणा पनि हो। साँचो नेतृत्व त्यही हो, जसले आफ्नो स्वार्थभन्दा माथि उठेर समाज र मानवताको हितका लागि त्याग गर्न जान्दछ।साउन महिनामा लाखौँ श्रद्धालुहरूले शिवालयमा जलाभिषेक गर्छन्, व्रत बस्छन् र श्रद्धापूर्वक पूजा–आराधना गर्छन्। यो अत्यन्त शुभ कार्य हो। तर यदि हाम्रो जीवनमा सत्य, दया, क्षमा, सेवा, इमानदारी र विनम्रता छैन भने पूजा मात्रले पूर्णता पाउँदैन। भगवान शिवलाई प्रसन्न पार्ने सबैभन्दा सरल मार्ग मानव सेवा, सदाचार र करुणामय जीवन हो।

    वास्तविक तप भनेको जंगलमा गएर मात्र कठोर साधना गर्नु होइन। परिवारमा प्रेम कायम राख्नु, आमाबुबाको सम्मान गर्नु, आफ्नो कर्तव्य इमानदारीपूर्वक पूरा गर्नु, क्रोधलाई नियन्त्रण गर्नु, लोभ त्याग्नु, दुःखीको सहारा बन्नु र समाजमा सद्भाव फैलाउनु पनि महान् तप हो। यही नै भगवान शिवको जीवनदर्शन हो।साउनले हामीलाई प्रकृति संरक्षणको सन्देश पनि दिन्छ। रुख, नदी, हिमाल र सम्पूर्ण प्रकृति भगवान शिवकै स्वरूप हुन्। यदि हामीले वातावरण प्रदूषित गर्यौं, पानीको दुरुपयोग गर्यौं वा प्रकृतिको विनाश गर्यौं भने त्यो शिवभक्ति हुन सक्दैन। एउटा रुख रोप्नु, पानी जोगाउनु र वातावरणको संरक्षण गर्नु पनि शिव आराधनाकै उत्कृष्ट रूप हो।

    आज समाजमा बढ्दो कटुता, असहिष्णुता, स्वार्थ र मानसिक तनावका बीच साउनले प्रेम, सहिष्णुता, संयम र आत्मचिन्तनको सन्देश दिन्छ। यसले अरूको कमजोरी खोज्नुभन्दा पहिले आफ्नै कमजोरी पहिचान गरेर सुधार गर्न प्रेरित गर्छ। जब मानिसले आफूलाई सुधार्छ, तब उसको जीवन उज्यालो बन्छ।आउनुहोस्, यस पवित्र साउनमा हामी केवल शिवलिङ्गमा जल चढाउने मात्र होइन, आफ्नो मनभित्रको अहंकार, क्रोध, ईर्ष्या, द्वेष र नकारात्मक सोचलाई पनि त्यागौँ। आफ्नो जीवनमा प्रेम, सेवा, सत्य, करुणा, सदाचार र मानवताको दीप प्रज्वलित गरौँ। यही साँचो शिव साधना हो, यही मानव जीवनको सर्वोच्च तप हो र यही साउनको वास्तविक सन्देश हो।

    जब मन शुद्ध हुन्छ, तब प्रत्येक श्वास शिवमय बन्छ। जब जीवन सेवा, सत्य र करुणाले भरिन्छ, तब मानिस ईश्वरको सबैभन्दा नजिक पुग्छ।

    आउनुहोस्, यस साउनमा हामी सबैले संकल्प गरौँ— भगवान शिवलाई केवल मन्दिरमा मात्र होइन, आफ्ना विचार, व्यवहार, चरित्र र कर्ममा पनि स्थापित गरौँ। यही साँचो तप–साधना हो, यही मानवता हो र यही शिवत्व प्राप्त गर्ने मार्ग हो।हर–हर महादेव!

  • लागूऔषध दुर्व्यसन विरुद्ध वीरगंजमा ‘सरी मम’ को विशेष प्रदर्शन

    लागूऔषध दुर्व्यसन विरुद्ध वीरगंजमा ‘सरी मम’ को विशेष प्रदर्शन

    अभिलाष गुप्ता
    वीरगंज, १७ साउन । लागूऔषध दुर्व्यसनविरुद्ध जनचेतना फैलाउने उद्देश्यले निर्माण गरिएको नेपाली चलचित्र ‘सरी मम’ को विशेष प्रदर्शन शनिबार वीरगञ्जस्थित ए–म्याक्स सिनेमा हलमा सम्पन्न भएको छ।एन.एफ.आई. क्रियसन प्रालिको आयोजनामा सम्पन्न कार्यक्रममा वीरगञ्ज, सिमरा तथा कलैया क्षेत्रका विभिन्न विद्यालयका प्रधानाध्यापक, सह–प्रधानाध्यापक तथा शिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    चलचित्रमार्फत लागूऔषध दुर्व्यसनका कारण व्यक्ति, परिवार र समाजमा पर्ने नकारात्मक प्रभावलाई यथार्थपरक ढंगले प्रस्तुत गरिएको थियो। चलचित्र अवलोकनपछि सहभागी शिक्षकहरूले युवापुस्तालाई लागूऔषधको दुष्परिणामबारे सचेत गराउन यस्ता जनचेतनामूलक चलचित्र प्रभावकारी माध्यम बन्न सक्ने धारणा व्यक्त गरेका थिए। उनीहरूले विद्यालय तहमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको बताएका छन्।

    कार्यक्रमलाई सम्बोधन गर्दै हिसान पर्साका अध्यक्ष मुकेश गुप्ताले लागूऔषध दुर्व्यसन आजको समाजको गम्भीर चुनौती बनेको उल्लेख गर्दै त्यसविरुद्ध विद्यालय, अभिभावक र समाज सबैले संयुक्त रूपमा अभियान सञ्चालन गर्नुपर्ने बताए। चलचित्रले विद्यार्थी तथा युवामा सकारात्मक सोच विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै उनले यस्ता सचेतनामूलक पहलको प्रशंसा गरे।

    त्यसैगरी प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरीले विद्यार्थीलाई केवल पाठ्यपुस्तकको शिक्षा मात्र नभई नैतिक शिक्षा र जीवनोपयोगी सचेतना पनि आवश्यक रहेको बताए। उनले लागूऔषध दुर्व्यसन न्यूनीकरणका लागि विद्यालयहरूले नियमित रूपमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए।

    त्यसैगरी प्याब्सन पर्साका सचिव अशोक सङ्ग्रौला,बरिस्ठ महिला उपाध्यक्ष सुशिला साह,एन प्याब्सनका जियालाल गुप्ता,सोनालाल पटेल,अलोक चौरसिया लगाएतका शिक्षकहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

    चलचित्रका निर्माता विनोद लामाले ‘सरी मम’ मनोरञ्जनका लागि मात्र नभई समाजलाई सही सन्देश दिन निर्माण गरिएको बताए। उनले लागूऔषधको कुलतमा फसेका युवाको पीडा, परिवारले भोग्नुपर्ने अवस्था र त्यसबाट बच्नुपर्ने सन्देशलाई चलचित्रमार्फत प्रस्तुत गरिएको उल्लेख गर्दै देशका विभिन्न स्थानमा यस्ता विशेष प्रदर्शनलाई निरन्तरता दिइने जानकारी दिए।

  • जीवनको संघर्ष : सच्चा अध्यात्मतर्फ लैजाने दिव्य यात्रा बिमल सर्राफ

    जीवनको संघर्ष : सच्चा अध्यात्मतर्फ लैजाने दिव्य यात्रा बिमल सर्राफ

    रक्सौल, पूर्वी चम्पारण  १७ साउन। मानिसको जीवन जन्मदेखि अन्तिम श्वाससम्म संघर्षले भरिएको यात्रा हो। संसारमा यस्तो कुनै पनि व्यक्ति छैन, जसको जीवनमा दुःख, कठिनाइ, चुनौती वा असफलता नआओस्। वास्तवमा संघर्ष नै जीवनको सबैभन्दा ठूलो शिक्षक हो। यसले मानिसलाई धैर्य, साहस, आत्मविश्वास र राम्रो चरित्र बनाउन सिकाउँछ। जो मानिस संघर्षसँग डराएर पछि हट्छ, उसले जीवनका धेरै अवसर गुमाउँछ। तर जसले धैर्य, विश्वास र मेहनतका साथ संघर्षको सामना गर्छ, उसले अन्ततः सफलता र मनको शान्ति पाउँछ।

    यी विचार लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२२ ई का जोनल चेयरपर्सन तथा डिस्ट्रिक्ट चेयरपर्सन, भारत विकास परिषद्, रक्सौलका सेवा संयोजक, मिडिया प्रभारी तथा समाजसेवी बिमल सर्राफले प्रेसलाई दिएको सन्देशमा व्यक्त गरेका हुन्।उनले भने, आजको समय भौतिक सुख–सुविधाको समय हो। मानिस धन, पद, प्रतिष्ठा र आरामदायी जीवनको खोजीमा दिनरात दौडिरहेको छ। तर जब जीवनमा समस्या आउँछ, धेरै मानिस आफूलाई कमजोर र एक्लो महसुस गर्न थाल्छन्। यस्तो बेला धन वा सुविधा भन्दा पनि सच्चा अध्यात्मले मानिसलाई हिम्मत, आशा र आत्मबल दिन्छ।

    सच्चा अध्यात्म भनेको संसार छोडेर भाग्नु होइन। बरु परिवार र समाजसँगै बसेर आफ्नो कर्तव्य इमानदारीका साथ पूरा गर्नु, सबै परिस्थितिमा मनलाई शान्त राख्नु र भगवानप्रति विश्वास राख्नु नै सच्चा अध्यात्म हो। अध्यात्मले संघर्षलाई दुःख होइन, आफूलाई अझ राम्रो बनाउने अवसरका रूपमा हेर्न सिकाउँछ। जसरी सुन आगोमा तताएपछि अझ चम्किलो बन्छ, त्यसरी नै मानिस पनि कठिनाइ पार गरेर अझ बलियो र परिपक्व बन्छ।जीवनमा निराशा, असफलता, अपमान वा पीडा आउँदा अध्यात्मले मानिसलाई हार मान्न दिँदैन। यसले हरेक अँध्यारोपछि उज्यालो आउँछ भन्ने विश्वास दिलाउँछ। हरेक कठिनाइले केही न केही सिकाउँछ, र हरेक संघर्षले भविष्यको सफलताका लागि बलियो आधार तयार गर्छ।

    श्रीमद्भगवद्गीताले पनि यही शिक्षा दिन्छ कि मानिसले आफ्नो काम इमानदारीका साथ गरिरहनुपर्छ र फलको चिन्ता गर्नु हुँदैन। जसले निस्वार्थ भावले आफ्नो कर्तव्य पूरा गर्छ र भगवानको इच्छामा विश्वास राख्छ, उसले साँचो शान्ति पाउँछ। अध्यात्मले मानिसमा दया, क्षमा, सेवा, नम्रता र प्रेमजस्ता असल गुणहरूको विकास गराउँछ। यिनै गुणहरूले जीवनका कठिनाइहरू पार गर्न सजिलो बनाउँछन्।आजको आवश्यकता संघर्षबाट भाग्ने होइन, त्यसको साहसका साथ सामना गर्ने हो। सकारात्मक सोच राखौँ, आत्मविश्वास बढाऔँ र भगवानप्रतिको विश्वासलाई बलियो बनाऔँ। जब मानिसले राम्रो कर्म, असल चरित्र र अध्यात्मलाई आफ्नो जीवनको आधार बनाउँछ, तब कुनै पनि कठिनाइले उसलाई हराउन सक्दैन।

    जीवनको हरेक संघर्षले हामीलाई नयाँ बाटो देखाउँछ। यदि हामीले त्यसलाई भगवानको परीक्षा र आफूलाई सुधार्ने अवसरका रूपमा स्वीकार गर्यौँ भने, त्यही संघर्ष हाम्रो सबैभन्दा ठूलो शक्ति बन्न सक्छ। त्यसैले कठिनाइसँग डराउनु हुँदैन, मुस्कुराउँदै त्यसको सामना गर्नुपर्छ। किनकि संघर्ष नै सफलताको बाटो हो, र सच्चा अध्यात्म त्यो बाटोलाई उज्यालो बनाउने दीपक हो।अन्त्यमा भन्नुपर्दा, जीवनको वास्तविक सुन्दरता संघर्षबाट भाग्नुमा होइन, धैर्य, साहस, सत्कर्म र अध्यात्मको सहाराले संघर्षमाथि विजय हासिल गर्नुमा छ। जसले संघर्षलाई साधना र अध्यात्मलाई जीवनको आधार बनाउँछ, उसले आफ्नो जीवनलाई सफल, अर्थपूर्ण र आनन्दमय बनाउन सक्छ।

  • उद्यमशीलता प्रवर्द्धनका लागि एनवाईईएफ वीरगंज च्याप्टर र द स्टार्टअप नेटवर्कबीच समझदारी

    उद्यमशीलता प्रवर्द्धनका लागि एनवाईईएफ वीरगंज च्याप्टर र द स्टार्टअप नेटवर्कबीच समझदारी

    अभिलाष गुप्ता
    वीरगंज, १६ साउन । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) वीरगञ्ज च्याप्टर र द स्टार्टअप नेटवर्क (टीएसएन) बीच नेपालमा उद्यमशीलता, नवप्रवर्तन (इनोभेसन), स्टार्टअप विकास तथा क्षमता अभिवृद्धिलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरिएको छ।

    वीरगञ्जमा शनिबार आयोजित एक कार्यक्रमबीच एनवाईईएफ वीरगञ्ज च्याप्टरका स्टार्टअप चेयर अतुल राउत को नेतृत्वमा दुवै संस्थाबीच औपचारिक रूपमा एमओयूमा हस्ताक्षर सम्पन्न भएको हो।

    समारोहमा वीरगञ्ज उद्योग वाणिज्य संघ (बीआईसीसीआई) का अध्यक्ष हरि गौतम, नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) मधेश प्रदेशका आईपीपी अशोक टेमानी, बीआईसीसीआईका उपाध्यक्ष माधव राजपाल, नेपाल–भारत चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एनआईसीसीआई) का अध्यक्ष अभिषेक चौधरी, द स्टार्टअप नेटवर्कका अध्यक्ष सुदीप रौनियार तथा दुवै संस्थाका पदाधिकारी र सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    समझदारीअनुसार दुवै संस्थाले संयुक्त रूपमा उद्यमशीलता विकाससम्बन्धी कार्यक्रम, स्टार्टअपलाई लक्षित मार्गदर्शन (मेण्टरसिप), क्षमता अभिवृद्धि तालिम, नेटवर्किङ कार्यक्रम तथा नवप्रवर्तनमा आधारित विभिन्न गतिविधि सञ्चालन गर्नेछन्। यस सहकार्यबाट नयाँ सोच भएका युवालाई व्यवसाय सुरु गर्न आवश्यक ज्ञान, सीप, सञ्जाल र अवसर उपलब्ध गराउँदै नेपालको स्टार्टअप इकोसिस्टमलाई थप सुदृढ बनाउने लक्ष्य लिइएको छ।

    कार्यक्रममा बोल्ने वक्ताहरूले नेपालमा उद्यमशीलताको सम्भावना दिनप्रतिदिन विस्तार हुँदै गएको उल्लेख गर्दै निजी क्षेत्र, उद्यमी संस्था तथा स्टार्टअप समुदायबीचको सहकार्यले नवप्रवर्तनमा आधारित व्यवसायलाई प्रोत्साहन पुग्ने विश्वास व्यक्त गरे।

    दुवै संस्थाका प्रतिनिधिहरूले यस समझदारीले विशेषगरी मधेश प्रदेशसहित देशभरका युवा उद्यमी र स्टार्टअपहरूलाई नयाँ अवसर सिर्जना गर्न, लगानी, सहकार्य तथा व्यवसाय विस्तारका सम्भावनाहरू बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

  • काठमाडौंमा शान्ति प्रार्थना तथा दीप प्रज्वलन कार्यक्रम, नेपालमा शान्ति र सद्भाव कायम गर्न आह्वान

    काठमाडौंमा शान्ति प्रार्थना तथा दीप प्रज्वलन कार्यक्रम, नेपालमा शान्ति र सद्भाव कायम गर्न आह्वान

    काठमाडौं, १६ साउन । नेपालमा जारी द्वन्द्व, अशान्ति तथा तनावको अन्त्य गर्दै विश्व शान्तिको कामनासहित सप्तरङ्गी इन्द्रेणी समाजको आयोजनामा शुक्रबार काठमाडौंमा शान्ति प्रार्थना तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।

    आयोजक संस्थाद्वारा जारी विज्ञप्तिअनुसार कार्यक्रममा परम्परागत बटर ल्याम्प (दीप) प्रज्वलन, विश्व शान्तिको प्रार्थना तथा बौद्ध परम्पराअनुसार प्राणिदान गरिएको थियो। कार्यक्रममार्फत करुणा, अहिंसा, सहिष्णुता र सामाजिक सद्भावको सन्देश प्रवाह गरिएको जनाइएको छ।

    संस्थाले नेपालमा हिंसा, द्वन्द्व र आपसी वैमनस्यको अन्त्य भई सबै प्राणीबीच मित्रता, करुणा, प्रेम र शान्तिको भावना विकास होस् भन्ने पवित्र उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको जनाएको छ। विज्ञप्तिमा दीगो शान्तिका लागि पारस्परिक सम्मान, सहिष्णुता र सामाजिक एकता अपरिहार्य रहेको उल्लेख गरिएको छ।

    कार्यक्रमको समापनमा समाजका अध्यक्ष माणिक लामा गोलेले बौद्ध परम्पराअनुसार पारिणाम पूजा सम्पन्न गरिएको तथा शान्ति र समृद्धिको कामनासहित बौद्ध स्तूपाको परिक्रमा गरिएको जानकारी दिए।

    हाल देशका विभिन्न स्थानमा देखिएका तनावपूर्ण घटनाक्रमका बीच नेपालका विभिन्न संघ–संस्था तथा समुदायका अगुवाहरूले संयमता अपनाउन, संवादमार्फत समस्या समाधान गर्न र सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न आग्रह गरिरहेका छन्। सरकारले पनि नागरिकहरूलाई अफवाह र भ्रामक सूचनाबाट सचेत रहँदै राष्ट्रिय एकता तथा सामाजिक सद्भाव कायम राख्न अपिल गर्दै आएको छ।

  • रक्सौलमा तीनदिने धर्म संसद सम्पन्न, हिन्दु राष्ट्र घोषणा र गौमातालाई राष्ट्रमाताको मान्यता दिन सन्तहरूको माग

    रक्सौलमा तीनदिने धर्म संसद सम्पन्न, हिन्दु राष्ट्र घोषणा र गौमातालाई राष्ट्रमाताको मान्यता दिन सन्तहरूको माग

    रक्सौल (पूर्वी चम्पारण) १६ साउन । गुरु पूर्णिमाको अवसरमा भारतको सीमावर्ती सहर रक्सौलमा आयोजित तीनदिने धर्म संसद धार्मिक एवं भक्तिमय वातावरणबीच सम्पन्न भएको छ। कार्यक्रममा भारत र नेपालबाट आएका विभिन्न सन्त–महात्मा, अखाडाका प्रतिनिधि तथा हजारौँ श्रद्धालुको उल्लेखनीय सहभागिता रहेको थियो। धर्म संसदमा सनातन धर्म, गौसंरक्षण, धार्मिक एकता तथा सांस्कृतिक संरक्षणसँग सम्बन्धित विभिन्न प्रस्ताव सर्वसम्मत रूपमा पारित गरिएका छन्।

    धर्म संसदका संयोजक जगतगुरु वामाचार्य सेवक संजयनाथजी महाराजले धर्म संसदको उद्देश्य समाजलाई सनातन संस्कृति, आध्यात्मिक मूल्य तथा राष्ट्रसेवाप्रति जागरूक गराउनु रहेको बताउनुभयो। उहाँले भारत र नेपालका सन्तहरूको यो ऐतिहासिक संगमले धार्मिक एकता, सामाजिक सद्भाव र मानव कल्याणको सशक्त सन्देश दिएको उल्लेख गर्दै धर्म, संस्कृति र नैतिक मूल्यहरूको संरक्षणका लागि सबैले संगठित भएर कार्य गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।काली सेनाकी राष्ट्रिय प्रमुख पार्वती तिवारीले धर्म संसद केवल धार्मिक कार्यक्रम मात्र नभई सनातन संस्कृति, सामाजिक समरसता तथा भारतीय परम्पराको संरक्षणका लागि प्रभावकारी मञ्च भएको बताउनुभयो। उहाँले धर्म संसदबाट पारित प्रस्तावहरू सन्तहरूको सामूहिक चिन्तन र संकल्पको प्रतिफल भएको उल्लेख गर्दै गौसंरक्षण, सांस्कृतिक चेतना तथा राष्ट्रहितसँग सम्बन्धित विषयमा शान्तिपूर्ण र संवैधानिक संवादलाई निरन्तर अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो।

    धर्म संसदका प्रमुख मागहरू 

    – भारतलाई हिन्दु राष्ट्र घोषणा गर्न माग।
    – गौमातालाई राष्ट्रमाताको संवैधानिक मान्यता प्रदान गर्न आग्रह।
    – सनातन संस्कृति तथा भारतीय परम्पराको संरक्षण र प्रवर्द्धनमा विशेष जोड।
    – समाजमा धार्मिक चेतना अभिवृद्धि गर्दै संगठनात्मक एकतालाई सुदृढ बनाउन आह्वान।धर्म संसदबाट पारित प्रस्तावहरू

    – जम्मु–कश्मीरबाट धारा ३७० हटाइएको तथा अयोध्यामा श्रीराम मन्दिर निर्माण सम्पन्न गराएकोमा भारत सरकारप्रति धन्यवाद प्रस्ताव पारित।
    – बिहार सरकारसँग गुरुनाथ अखाडालाई आवश्यक सरकारी सुविधा उपलब्ध गराउन आग्रह।
    – अखाडाको परम्पराअनुसार विभिन्न सन्तहरूलाई नयाँ जिम्मेवारी प्रदान गरिएको छ। नेपालका रामसुरत नाथलाई मण्डलेश्वर, अल्टर बाबालाई भारतको सभापति, बुद्धनाथलाई महामन्त्री, नेपालको कलैया निवासी नागा बाबालाई सेनापति प्रमुख तथा गुरुनाथ भोलानाथलाई अखाडाको महन्त नियुक्त गरिएको छ।भारत–नेपालका सन्तहरूको साझा संकल्प

    धर्म संसदको सञ्चालन जगतगुरु वामाचार्य सेवक संजयनाथजी महाराजले गर्नुभएको थियो। कार्यक्रममा सहभागी भारत र नेपालका सन्त–महात्माहरूले सनातन धर्मको संरक्षण, सामाजिक सद्भाव, आपसी भाइचारा तथा राष्ट्रहितका पक्षमा संयुक्त रूपमा कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। तीन दिनसम्म सञ्चालन भएको यस धर्म संसदमा ठूलो सङ्ख्यामा श्रद्धालु, धर्मगुरु तथा सन्त–महात्माहरूको उत्साहजनक सहभागिता रहेको थियो।

  • गुनगुनाउने मन नै जीवनको सबैभन्दा मधुर सङ्गीत हो — बिमल सर्राफ

    गुनगुनाउने मन नै जीवनको सबैभन्दा मधुर सङ्गीत हो — बिमल सर्राफ

    रक्सौल, पूर्वी चम्पारण १६ साउन । जीवन ईश्वरको अनुपम उपहार हो। यो केवल जन्मदेखि मृत्युसम्मको यात्रा मात्र होइन, अनुभव, भावना, संघर्ष, आशा र उपलब्धिहरूको अनुपम समन्वय पनि हो।

    यदि हामी जीवनलाई सकारात्मक दृष्टिकोणले हेर्ने हो भने, यो कुनै मधुर सङ्गीतभन्दा कम छैन। जसरी सङ्गीत अनेकौँ स्वर, लय र तालको सुन्दर संयोजनबाट मनलाई आनन्दित बनाउँछ, त्यसरी नै जीवन पनि सुख–दुःख, सफलता–असफलता, हाँसो–आँसु तथा मिलन–विछोडजस्ता विविध अनुभवहरूको समिश्रणबाट पूर्ण बन्छ।यी विचार लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२२ ई का जोनल चेयरपर्सन, डिस्ट्रिक्ट चेयरपर्सन तथा भारत विकास परिषद्, रक्सौल का सेवा संयोजक, सञ्चार (मिडिया) प्रभारी एवं समाजसेवी बिमल सर्राफ ले सञ्चारकर्मीहरूसँग साझा गर्नुभएको हो।

    उहाँले भन्नुभयो, “जसरी सङ्गीतको वास्तविक आनन्द त्यही व्यक्तिले लिन सक्छ, जसले प्रत्येक स्वरलाई सहज रूपमा स्वीकार गर्न जान्दछ, त्यसरी नै जीवनको आनन्द पनि त्यही व्यक्तिले लिन सक्छ, जसले हरेक परिस्थितिमा सन्तुलित, धैर्यवान र प्रसन्न रहन जान्दछ।कठिनाइहरू जीवनको गति रोक्नका लागि आउँदैनन्, बरु जीवनलाई अझ अर्थपूर्ण र परिपक्व बनाउनका लागि आउँछन्। जसरी वीणाका तारहरूमा उचित तनाव हुँदा मात्र मधुर धुन निस्कन्छ, त्यसरी नै जीवनका संघर्षहरूले व्यक्तित्वलाई अझ निखार्छन्।”

    उहाँले भन्नुभयो कि आजको युग भौतिक सुविधाले सम्पन्न भए पनि मानसिक शान्ति र आत्मिक आनन्दको अभाव बढ्दो छ। मानिसहरू सफलता प्राप्त गर्ने होडमा यति व्यस्त भएका छन् कि मुस्कुराउन, गुनगुनाउन र साना–साना खुसीहरूको आनन्द लिनसमेत बिर्सँदै गएका छन्। चिन्ता, तनाव, ईर्ष्या र अनावश्यक अपेक्षाको बोझले मनलाई यति भारी बनाइदिन्छ कि जीवनको मधुर सङ्गीत विस्तारै कोलाहलमा परिणत हुन थाल्छ।बिमल सर्राफले भन्नुभयो, “गुनगुनाउनु भनेको केवल गीत गाउनु मात्र होइन, यो सकारात्मक जीवनदृष्टि पनि हो। यसको अर्थ हरेक परिस्थितिमा आशावादी रहनु, आफ्नो मनमा सकारात्मक ऊर्जा सञ्चार गर्नु, साना–साना खुसीहरूलाई महसुस गर्नु तथा प्रत्येक नयाँ दिनलाई मुस्कानका साथ स्वागत गर्नु हो। जब मन प्रसन्न हुन्छ, तब साधारण क्षणहरू पनि असाधारण बन्न पुग्छन्।”

    उहाँका अनुसार मानिसको जीवनको सबैभन्दा मधुर सङ्गीत उसका शब्दहरूमा होइन, व्यवहारमा सुन्न सकिन्छ। मधुर वाणी, विनम्रता, प्रेम, करुणा, सेवा र क्षमा यस्ता स्वरहरू हुन्, जसले कुनै पनि जीवनलाई सुन्दर र प्रेरणादायी बनाउन सक्छन्।यसको विपरीत अहंकार, क्रोध, ईर्ष्या र कटुता जीवनको लय बिगार्ने तत्वहरू हुन्। त्यसैले यदि जीवनलाई मधुर बनाउन चाहन्छौँ भने सबैभन्दा पहिले आफ्नै मनलाई निर्मल, शान्त र सकारात्मक बनाउन आवश्यक छ।

    उहाँले थप भन्नुभयो कि कुनै पनि परिस्थिति स्थायी हुँदैन। जसरी अँध्यारो रातपछि उज्यालो बिहान आउँछ र वर्षापछि इन्द्रेणी देखापर्छ, त्यसरी नै कठिन समयपछि सुखद अवसरहरू पनि अवश्य आउँछन्। त्यसैले प्रतिकूल परिस्थितिमा पनि धैर्य, विश्वास र आत्मबल कायम राख्नु नै सफल जीवनको सबैभन्दा ठूलो कला हो।

    उहाँले भन्नुभयो, “जीवनको वास्तविक सफलता धन, पद वा प्रसिद्धिमा होइन, बरु हाम्रो कारण कति मानिसको जीवनमा आशा, मुस्कान र आत्मविश्वास जागृत भयो भन्ने कुरामा निहित छ। यदि हाम्रो व्यवहारले कुनै निराश व्यक्तिलाई आशा दिन सक्छ, कुनै दुःखी अनुहारमा मुस्कान ल्याउन सक्छ र कुनै टुटेको मनलाई सहारा दिन सक्छ भने त्यही नै जीवनको सबैभन्दा मधुर गीत हो।”

    अन्त्यमा उहाँले सबैलाई आग्रह गर्दै भन्नुभयो, “गुनासोको सट्टा कृतज्ञता, निराशाको सट्टा आशा र तनावको सट्टा मुस्कानलाई अँगालौँ। प्रत्येक दिनलाई नयाँ गीतझैँ जिऔँ, प्रत्येक चुनौतीलाई नयाँ सिकाइको रूपमा स्वीकार गरौँ र आफ्नो जीवनलाई प्रेम, सेवा, सद्भाव तथा सकारात्मक सोचका मधुर स्वरहरूले सजाऔँ।”जब मन गुनगुनाउँछ, तब जीवन आफैँ एउटा मधुर सङ्गीत बन्न पुग्छ। त्यसैले परिस्थिति जस्तोसुकै भए पनि आफ्नो मनको मधुरता कहिल्यै हराउन नदिनुहोस्। मुस्कुराउनुहोस्, गुनगुनाउनुहोस् र आफ्नो जीवनलाई यस्तो प्रेरणादायी गीत बनाउनुहोस्, जसको मधुर प्रतिध्वनिले अरूको जीवनमा पनि आशा, प्रेम र आनन्द भरिदियोस्।