वीरगंज, १६ कार्तिक । विद्यालय तहका विद्यार्थीहरूमा कानुनी ज्ञान तथा चेतना अभिवृद्धि गर्ने उद्देश्यले तराई मधेश कानून विद्यार्थी समाजका कानुनका विद्यार्थीहरूको समूहद्वारा सञ्चालित ‘लीगल भ्वाइस अभियान–४’ सफलतापूर्वक सम्पन्न भएको छ।
अभियान अन्तर्गत सुसान्त सिंह ठाकुरी, रवि मिश्र, श्वेता मिश्र, आलोक साह, नन्दनी गुप्ता, आदर्श गुप्ता र किरण गुप्तासहितको कानुनका विद्यार्थीहरूको टोलीले तीनवटा शैक्षिक संस्थामा कानुनी सचेतना कार्यक्रम सञ्चालन गरेको थियो।
टोलीले रेलवे स्कुल, श्रीपुर विद्यापीठ र श्री सुन्दरलाल कन्या माध्यमिक विद्यालयमा पुगेर विद्यार्थीहरूलाई आधारभूत कानुनी अधिकार, नागरिकका कर्तव्य तथा दैनिक जीवनमा कानुनको महत्त्वबारे जानकारी गराएको थियो।
एकै दिन सञ्चालन गरिएको उक्त अभियानमार्फत ६० भन्दा बढी विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।
युवापुस्तामाझ कानुनी ज्ञान सहज रूपमा पुर्याउने, उनीहरूलाई आफ्ना अधिकार र कर्तव्यप्रति सचेत बनाउने तथा जिम्मेवार नागरिक बन्न प्रेरित गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको आयोजकले जनाएको छ।
यस अभियानले सामुदायिक सहभागिता, सामाजिक उत्तरदायित्व तथा तल्लो तहसम्म कानुनी सचेतना विस्तार गर्ने दिशामा युवा कानुनका विद्यार्थीहरूको प्रतिबद्धता झल्काएको छ।
‘आजको कानुनी सचेतना, भोलिका सशक्त नागरिक’ भन्ने मूल सन्देशका साथ सम्पन्न अभियानले कानुनी रूपमा सचेत र सशक्त समाज निर्माण गर्ने प्रयासमा थप योगदान पुर्याएको छ।

