वीरगंंज, १८ कार्तिक । रोटरी क्लब अफ वीरगंजले दीपावलीको अवसरमा पर्साको सुखुवापर्सौनी गाउँपालिका–स्थित सिद्धपुर गाउँका १०० धांगड परिवारलाई दीपावली सामग्री वितरण गरेको छ। क्लबले ‘दीपावली जोय सेलिब्रेसन’ कार्यक्रम आयोजना गरी आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका समुदायसँग चाडपर्वको खुसी साटेको हो।
कार्यक्रमअन्तर्गत परिवारहरूलाई चामल, गहुँ, खानेतेल, चिनी, दियो, बत्ती लगायतका खाद्यान्न तथा पूजासामग्री वितरण गरिएको थियो। चाडपर्वको खुसी सबै समुदायसम्म पुर्याउने र सीमान्तकृत परिवारलाई सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको क्लबले जनाएको छ।
यसैगरी, क्लबले सुखुवापर्सौनी गाउँपालिका–स्थित औराहाका निवासी मुकेश महतोलाई दैनिक आवागमन सहज बनाउन ह्विलचेयर प्रदान गरेको छ।
कार्यक्रममा क्लबका अध्यक्ष रोटेरियन राकेश मिश्र, अध्यक्ष निर्वाचित रोटेरियन दीनदयाल केडिया, सचिव रोटेरियन श्वेता गुप्ता, रोटेरियन कल्पना भगत, डा. प्रेरणा झा तथा राजेन्द्र चौधरीलगायतको उपस्थिति रहेको थियो।
रोटरीको मूल मन्त्र ‘स्वार्थभन्दा माथि सेवा’ भन्ने भावनालाई आत्मसात् गर्दै क्लबले सामाजिक तथा मानवीय सेवाका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। दीपावलीको अवसरमा आयोजित यस कार्यक्रमले सामाजिक सद्भाव, समावेशिता र मानवीय सहयोगको सन्देश प्रवाह गरेको छ।
उक्त ह्विलचेयर रोटेरियन निर्मल खत्रीले आफ्नो तर्फ बाट सहयोग गरेका थिए।

