8 August ,2026,Saturday

वीरगंजका सीडीओ दाहाल आफैं बजार अनुगमनमा, डिलरका गोदाममा सयौं खाली सिलिन्डर भेटिए

अभिलाष गुप्ता
वीरगंज, २४ साउन  । वीरगंजमा खाना पकाउने ग्यासको अभाव देखिएपछि जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल आफैं शनिबार बजार अनुगमनमा निस्किएका छन्। अनुगमनका क्रममा अधिकांश डिलरमा भरिएका ग्यास सिलिन्डरको मौज्दात न्यून देखिए पनि डिलर तथा गोदाममा ठूलो संख्यामा खाली सिलिन्डर मौज्दात रहेको भेटिएको छ।

प्रमुख जिल्ला अधिकारी दाहालको नेतृत्वमा सहायक प्रमुख जिल्ला अधिकारी दयाकृष्ण थापा र कृष्णप्रसाद चापागाईं, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्की, नेपाल आयल निगम वीरगञ्जका प्रमुख मोहनकुमार साह, गुणस्तर तथा नापतौल कार्यालयका प्रतिनिधि, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगंजका मधुलेश साह, उपभोक्ता संरक्षण मञ्च नेपालका केन्द्रीय सदस्य अजित भुजेल तथा ग्यास बिक्रेता संघ पर्साका अध्यक्ष वीरेन्द्र साहलगायतको टोलीले विभिन्न ग्यास डिलरको अनुगमन गरेको हो।टोलीले वीरगंजस्थित सीडीओ कार्यालय पछाडि, बनारसी चोक, रानीघाट, श्रीपुर, ओमआश्रम, पानीटंकी, रेशमकोठी, ६ नम्बर गेटलगायतका क्षेत्रमा रहेका ग्यास डिलरमा पुगेर मौज्दात तथा आपूर्ति अवस्थाबारे जानकारी लिएको थियो।अनुगमनका क्रममा अधिकांश डिलरमा भरिएका ग्यास सिलिन्डरको मौज्दात निकै कम रहेको पाइएको थियो। डिलर सञ्चालकहरूले कम्पनीबाट पर्याप्त मात्रामा ग्यास नआएकाले बजारमा अभाव भएको बताएका थिए।

डिलरहरूको भनाइअनुसार उद्योगले समयमा ग्यास उपलब्ध नगराउँदा उपभोक्ताको मागअनुसार वितरण गर्न नसकिएको हो। यता ग्यास उद्योगहरूले भने आफूसँग पर्याप्त खाली सिलिन्डर नभएकाले डिलरबाट खाली सिलिन्डर संकलन हुन नसकेको र त्यसका कारण समयमा ग्यास भरेर पठाउन नसकिएको बताउँदै आएका छन्।तर अनुगमनका क्रममा एउटा डिलरमा मात्रै करिब ४८० वटा खाली ग्यास सिलिन्डर मौज्दात रहेको भेटिएको छ। वीरगञ्जका अन्य डिलर तथा गोदाममा समेत ३५०, २५०, १०० र ५० वटासम्म खाली सिलिन्डर राखिएको अनुगमन टोलीले फेला पारेको छ।

उद्योगले ‘खाली सिलिन्डरको अभाव’ देखाउने तर डिलर तथा गोदाममा सयौं खाली सिलिन्डर थुप्रिएको भेटिएपछि ग्यासको आपूर्ति व्यवस्थापनप्रति प्रश्न उठेको छ। बजारमा देखिएको अभाव वास्तविक आपूर्ति समस्या हो वा वितरण प्रणालीमा भएको कमजोरीका कारण कृत्रिम अभाव सिर्जना भएको हो भन्ने विषयमा समेत अनुगमनले चासो बढाएको छ।

यता ग्यास नपाएपछि उपभोक्ताहरू भने डिलर–डिलर धाउन बाध्य भएका छन्। ग्यास पाइने आशामा विभिन्न डिलरमा पुगेका उपभोक्तामध्ये कतिपय ग्यास नपाएर रित्तै फर्किनुपर्ने अवस्था रहेको छ।बजारमा ग्यासको अभाव देखिइरहेका बेला डिलर तथा गोदाममा ठूलो संख्यामा खाली सिलिन्डर भेटिनुले ग्यास वितरण प्रणालीलाई व्यवस्थित र पारदर्शी बनाउनुपर्ने आवश्यकता देखिएको छ।

प्रमुख जिल्ला अधिकारी दाहालको नेतृत्वमा भएको अनुगमनपछि ग्यास उद्योग, डिलर र वितरण प्रणालीको वास्तविक अवस्थाबारे प्रशासनले थप निगरानी गर्ने अपेक्षा गरिएको छ। उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन उद्योग र डिलरबीचको आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउनुपर्ने देखिएको छ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...