अभिलाष गुप्ता
वीरगंज, २४ साउन। माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा ३.९ जीपीए आएपछि पनि आफ्नो मेहनतप्रति विश्वास नछाडेका आरव कुमार सिंह र आयुशी चौरसियाले पुनःपरीक्षणपछि ४ जीपीए हासिल गर्दै नेपाल टपर बनेका छन्।
एसईईको प्रारम्भिक नतिजामा दुवै जनाको कम्प्युटर विषयमा अपेक्षाभन्दा कम ग्रेड आएपछि उनीहरूले अभिभावक र विद्यालयको साथमा पुनर्गणनाका लागि निवेदन दिएका थिए। पुनर्गणनाबाट पनि अपेक्षित परिवर्तन नभएपछि उनीहरूले राष्ट्रिय परीक्षा बोर्डमा उत्तरपुस्तिकाको पुनःपरीक्षण गराएका थिए।
तीन जना परीक्षकले उत्तरपुस्तिका पुनः जाँच गरेपछि औसत अंकका आधारमा दुवैको ग्रेड परिवर्तन भई ४ जीपीए कायम भएको थियो। यससँगै उनीहरू नेपाल टपर बन्न सफल भएका हुन्।
आफ्नो मेहनत र आत्मविश्वासमा अडिग रही उत्कृष्ट नतिजा हासिल गरेको भन्दै गौतम माविले आरव र आयुशीलाई सम्मानस्वरूप ल्यापटप प्रदान गरेको छ। विद्यालयको प्रार्थना समयमा प्रधानाध्यापक गणेश क्षेत्री, सहायक प्रधानाध्यापक ललित कर्ण र कम्प्युटर शिक्षक टीएन चौधरीले दुवै विद्यार्थीलाई ल्यापटप हस्तान्तरण गरेका थिए।
ल्यापटप हस्तान्तरणपछि विद्यालयकी प्रवन्ध निर्देशक परीक्षा पिया लामाले विद्यार्थीलाई बधाई दिँदै आगामी शैक्षिक भविष्यको शुभकामना व्यक्त गरिन्। उनले विद्यार्थीको आत्मविश्वास र आत्मबल बढाउन अभिभावक तथा शिक्षकहरूले खेलेको भूमिकाको प्रशंसा गरिन्।
विद्यालयका निर्देशक सोनाम लामाले स्थापनादेखि एसएलसी तथा एसईई परीक्षामा विद्यार्थीले हासिल गर्दै आएको उपलब्धिले विद्यालयको संस्थागत उचाइ बढाएको बताए। उनले यस सफलताले गुणस्तरीय शिक्षामा थप अघि बढ्न प्रेरणा मिलेको उल्लेख गरे।
ल्यापटप ग्रहण गर्दै आरव र आयुशीले सफलता प्राप्त गर्न निरन्तर मेहनत, अनुशासन र आत्मविश्वास आवश्यक रहेको बताए। उनीहरूले शिक्षकले पढाएका विषयमा गहिरो अध्ययनसँगै पाठ्यपुस्तक र अतिरिक्त क्रियाकलापलाई सँगसँगै अघि बढाउन विद्यार्थीहरूलाई सुझाव दिए।
विद्यालयका कोअर्डिनेटर सौराज प्रधानले विद्यार्थीहरूको आत्मविश्वास, आत्मबल र मेहनतको कदर गर्दै उच्च शिक्षाका लागि थप प्रोत्साहन गर्न ल्यापटप प्रदान गरिएको बताए। कार्यक्रममा प्रशासन प्रमुख रमेश शर्मा, इनोभेसन प्रमुख एल्भिन रेञ्जरलगायत शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति थियो।
आरव र आयुशीको सफलता केवल उत्कृष्ट नतिजाको कथा नभई प्रारम्भिक नतिजाले निराश बनाए पनि आफ्नो मेहनत र सत्यप्रतिको विश्वास नछाड्दा सफलता हासिल गर्न सकिन्छ भन्ने प्रेरणादायी उदाहरण बनेको छ।

