अभिलाष गुप्ता
वीरगंज, ०१ भदौ । नेपाल विद्युत प्राधिकरण वीरगंज वितरण केन्द्र, पर्साको ४१ औँ वार्षिक उत्सव विभिन्न कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न भएको छ।
वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा नेपाल विद्युत प्राधिकरण वीरगंज वितरण केन्द्र, पर्साका प्रमुख इन्जिनियर विजय महतो तथा सन्तोष कुमार झाको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा प्राधिकरणका वर्तमान कर्मचारी, पूर्वकर्मचारी लगायतको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्ने वक्ताहरूले वीरगञ्ज तथा आसपासका क्षेत्रमा भरपर्दो, गुणस्तरीय र नियमित विद्युत सेवा प्रवाह गर्न नेपाल विद्युत प्राधिकरणले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गरे। विद्युत सेवा विस्तारसँगै सेवाग्राहीलाई छिटो, सहज र प्रभावकारी सेवा उपलब्ध गराउन वितरण केन्द्रले आगामी दिनमा थप सक्रियताका साथ काम गर्नुपर्नेमा उनीहरूले जोड दिए।
वार्षिक उत्सवका अवसरमा वीरगंज वितरण केन्द्रको स्थापना, हालसम्मको सेवा प्रवाह, विद्युत वितरण प्रणालीमा भएका सुधार तथा आगामी दिनमा गर्नुपर्ने कार्यहरूबारे समेत विस्तृत चर्चा गरिएको थियो।
कार्यक्रममा विद्युत चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउने, नियमित तथा गुणस्तरीय विद्युत आपूर्ति सुनिश्चित गर्ने, प्राविधिक समस्या यथाशीघ्र समाधान गर्ने तथा सेवाग्राहीका गुनासालाई प्राथमिकताका साथ सम्बोधन गर्ने विषयमा विशेष जोड दिइएको थियो।
वक्ताहरूले पछिल्लो समय विद्युतको माग बढ्दै गएकाले त्यसअनुसार वितरण प्रणालीलाई थप व्यवस्थित र सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याउँदै सेवाग्राहीको अपेक्षाअनुसार सेवा प्रवाहमा सुधार गर्न कर्मचारीहरूलाई थप जिम्मेवार र उत्तरदायी भएर काम गर्न आग्रह गरे।
कार्यक्रममा वीरगंज वितरण केन्द्रको विगतको योगदान, वर्तमान अवस्था र आगामी कार्ययोजनाबारे समेत छलफल भएको थियो। प्राधिकरणका कर्मचारी तथा पूर्वकर्मचारीहरूले संस्थाको विकास र विद्युत सेवा विस्तारमा आफूहरूले पुर्याएको योगदान तथा अनुभव आदानप्रदान गरेका थिए।
४१ औँ वार्षिक उत्सवले वीरगंज वितरण केन्द्रको विगतको उपलब्धिको समीक्षा गर्दै आगामी दिनमा अझ प्रभावकारी, भरपर्दो र सेवाग्राहीमैत्री विद्युत सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गर्ने अवसरसमेत प्रदान गरेको थियो।

