वीरगंज, ०४ भदौ । पर्सामा निजी तथा आवासीय विद्यालयमा अध्ययनरत विद्यार्थी, उनीहरूका अभिभावक, शिक्षक तथा कर्मचारीले वीरगञ्जस्थित वीरगञ्ज न्यूरो एण्ड जनरल हस्पिटल रिसर्च सेन्टर प्रा.लि.बाट उपलब्ध स्वास्थ्य उपचार सेवामा १५ प्रतिशत सहुलियत पाउने भएका छन्।
स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउने तथा उपचारमा लाग्ने आर्थिक भार केही हदसम्म न्यूनीकरण गर्ने उद्देश्यले निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) पर्सा र वीरगञ्ज न्यूरो एण्ड जनरल हस्पिटल रिसर्च सेन्टर प्रा.लि.बीच स्वास्थ्य उपचार सेवामा सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो।
सम्झौतामा प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरी, वीरगञ्ज महानगर प्याब्सनका अध्यक्ष राहुल श्रीवास्तव तथा वीरगञ्ज न्यूरो एण्ड जनरल हस्पिटल रिसर्च सेन्टर प्रा.लि.का सञ्चालक डा. श्यामबाबु प्रसादले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार प्रथम पक्षअन्तर्गत आबद्ध विद्यालयका विद्यार्थी, उनीहरूका बाबु, आमा वा कानुनी अभिभावक, शिक्षक तथा प्रशासनिक र अन्य कर्मचारीले अस्पतालबाट उपलब्ध हुने स्वास्थ्य उपचार सेवामा १५ प्रतिशत सहुलियत प्राप्त गर्नेछन्।
अस्पतालले योग्य लाभग्राहीलाई प्रचलित तथा लागू शुल्कमा १५ प्रतिशत छुट उपलब्ध गराउनेछ भने सहुलियतपछिको बाँकी रकम सम्बन्धित लाभग्राहीले स्वयं भुक्तानी गर्नुपर्नेछ। सहुलियत लागू हुने स्वास्थ्य सेवा तथा सुविधाको विस्तृत विवरण सम्झौतामा उल्लेख गरिएको छ।
सहुलियत प्राप्त गर्न विद्यार्थीले सम्बन्धित विद्यालयबाट जारी गरिएको परिचयपत्र प्रस्तुत गर्नुपर्नेछ। शिक्षक तथा कर्मचारीले विद्यालयको परिचयपत्र वा आधिकारिक प्रमाण पेश गर्नुपर्नेछ। विद्यार्थीका अभिभावकले सम्बन्धित विद्यार्थीको परिचयपत्र तथा आवश्यक परे विद्यालयबाट जारी गरिएको सिफारिसपत्र पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।अस्पतालले आवश्यक प्रमाणिकरण गरेपछि मात्र सम्झौताअनुसारको सहुलियत लागू गर्नेछ।
त्यस्तै, आकस्मिक उपचार आवश्यक परेका लाभग्राहीको परिचयपत्र वा सिफारिसपत्र तत्काल उपलब्ध नभएको अवस्थामा त्यसकै कारण उपचारमा अनावश्यक ढिलाइ नगरिने सम्झौतामा उल्लेख छ। आकस्मिक उपचारलाई प्राथमिकता दिइने र उपचारपछि लाभग्राहीको पात्रता प्रमाणित भएमा सम्झौताअनुसारको सहुलियत समायोजन गर्न सकिने व्यवस्था गरिएको छ।
सम्झौताअनुसार प्याब्सनले आबद्ध विद्यालयहरूलाई सम्झौताबारे जानकारी गराउने तथा विद्यार्थी, अभिभावक, शिक्षक र कर्मचारीलाई अस्पतालबाट उपलब्ध हुने सहुलियतबारे जानकारी गराउनेछ।
यसैगरी दुवै पक्षले स्वास्थ्य सचेतना कार्यक्रम, स्वास्थ्य परीक्षण, स्वास्थ्य शिविर तथा आवश्यकताअनुसार अन्य स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालनमा समेत सहकार्य गर्ने सहमति गरेका छन्।
सम्झौताले निजी विद्यालयमा आबद्ध विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच पुग्नुका साथै उपचारमा लाग्ने खर्च केही हदसम्म कम हुने अपेक्षा गरिएको छ।

