अभिलाष गुप्ता
वीरगंज, ०५ भदौ । खाद्य स्वच्छता तथा गुणस्तर मापदण्ड उल्लंघन गर्ने वीरगंजका विभिन्न मिठाई उद्योग, होटल तथा क्यान्टिनलाई संयुक्त अनुगमन टोलीले कारबाही गरेको छ।
अनुगमनका क्रममा खुला रूपमा राखिएका मिठाई, फोहोर तथा अस्वच्छ भान्सा, असुरक्षित रूपमा भण्डारण गरिएका खाद्य सामग्री, माखा–झिँगा तथा अखाद्य रङ प्रयोग भएको आशंकासहितका सामग्री फेला परेपछि सम्बन्धित व्यवसायीलाई जरिवाना गर्नुका साथै सुधारका लागि समयसीमा तोकिएको हो।
उपभोक्ताले सुरक्षित, स्वच्छ तथा गुणस्तरीय खाद्य सामग्री उपभोग गर्न पाउने अधिकार सुनिश्चित गर्ने उद्देश्यले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको खाद्य ल्याब भ्यानसहित वीरगंजका विभिन्न बजार क्षेत्रमा विशेष संयुक्त अनुगमन गरिएको हो।
उपभोक्ता हित संरक्षण मञ्च नेपालको विशेष आग्रहमा गरिएको अनुगमनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगंज, खाद्य प्रविधि तथा गुण डिभिजन कार्यालय वीरगंज, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको खाद्य ल्याब भ्यान, जिल्ला प्रशासन कार्यालय पर्सा, वीरगञ्ज उद्योग वाणिज्य संघ, उपभोक्ता हित संरक्षण मञ्च नेपाल, पत्रकार तथा सम्बन्धित निकायका प्रतिनिधिहरू सहभागी थिए।
अनुगमन टोलीले खाद्य व्यवसाय सञ्चालनको अवस्था, भान्सा तथा पसलको सरसफाइ, खाद्य सामग्रीको भण्डारण, प्रयोग हुने कच्चा पदार्थ, खाद्य पदार्थको गुणस्तर तथा स्वच्छता मापदण्डको पालना भए–नभएको विषयमा स्थलगत निरीक्षण गरेको थियो।
अनुगमनका क्रममा वीरगंज महानगरपालिका–१६ नगवा सेकेन्ड बाइपास रोडस्थित जय हिमाल मिष्ठान भण्डारलाई २५ हजार रुपैयाँ जरिवाना गरिएको छ। पसलमा करिब ५० लिटर दूध तथा १०० केजी चिनीको चास्नी खुला अवस्थामा राखिएको र त्यसमा माखा तथा झिँगा भेटिएपछि उक्त सामग्री नष्ट गरिएको थियो। पसलमा तत्काल सरसफाइ गर्न सात दिनको समय दिँदै सो अवधिभित्र कार्यालयलाई जानकारी गराएर मात्र मिठाई उत्पादन गर्न निर्देशन दिइएको छ।
त्यस्तै, वीरगञ्ज–१६ इनर्वास्थित माँ बैणवी मिष्ठान भण्डारमा मिठाई उत्पादन गर्ने स्थान खाद्य स्वच्छता मापदण्डविपरीत तथा अत्यन्त अस्वच्छ अवस्थामा भेटिएको टोलीले जनाएको छ। तयार मिठाईमा माखा तथा झिँगा भेटिनुका साथै मिठाई खुला रूपमा राखिएको पाइएपछि मिठाई तथा मिठाई बनाउन प्रयोग गरिएको चिनीको चास्नी नष्ट गरिएको थियो। व्यवसायीलाई सात दिनभित्र खाद्य स्वच्छता मापदण्डअनुसार सरसफाइ गरी कार्यालयलाई जानकारी गराएर मात्र उद्योग सञ्चालन गर्न निर्देशन दिइएको छ। निर्देशन पालना नगरे कानुनी कारबाहीसँगै उद्योग सिल गर्ने चेतावनीसमेत दिइएको छ।
वीरगंज–१६ नगवा पोखरीस्थित मनोकामना मिष्ठान भण्डारलाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ। तयार मिठाई फोहोर स्थानमा खुला रूपमा राखिएको र माखा तथा झिँगा बसेको भेटिएपछि मिठाई जफत गरी नष्ट गरिएको थियो। साथै मिठाई उत्पादन गर्ने स्थानसमेत फोहोर तथा मापदण्डविपरीत भेटिएपछि तत्काल सुधार गर्न निर्देशन दिइएको छ।
वीरगंज–१५ बाइपास मेनरोडस्थित होटल हिमाल एन्ड भान्सा घरलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ। होटलको भान्साघर फोहोर अवस्थामा रहेको, चपिङ बोर्ड बिग्रिएको तथा प्रयोग गर्न नमिल्ने अवस्थामा रहेको, भाँडा माझ्ने स्थान र भान्सा एउटै ठाउँमा रहेको, डस्टबिन खुला रूपमा प्रयोग गरिएको, मसला खुला भाँडामा राखिएको तथा फ्रिजमा राखिएका खाद्य सामग्री नछोपी राखिएको भेटिएपछि खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरेको ठहर गर्दै जरिवाना गरिएको हो। होटललाई तीन दिनभित्र आवश्यक सुधार गरी कार्यालयलाई जानकारी गराउन निर्देशन दिइएको छ।
अनुगमन टोलीका अनुसार होटल भिस्वामा भने अनुगमनका क्रममा उल्लेखनीय कैफियत भेटिएन।अनुगमनका क्रममा केही व्यवसायमा खाद्य सामग्री असुरक्षित तरिकाले भण्डारण गर्ने, खाद्य वस्तु खुला राख्ने, सरसफाइमा लापरवाही गर्ने तथा खाद्य स्वच्छता र सुरक्षा मापदण्ड पालना नगरेको पाइएको थियो। मापदण्डविपरीत सञ्चालन भएका व्यवसायलाई प्रचलित कानुनअनुसार कुल १ लाख ३५ हजार रुपैयाँ जरिवाना गरिएको टोलीले जनाएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरीक्षक श्रवण साहले व्यवसायीलाई भान्सा तथा पसल परिसर नियमित रूपमा सफा राख्न, खाद्य सामग्रीलाई धुलो, धुवाँ, माखा–झिँगा तथा अन्य किराफट्याङ्ग्राबाट सुरक्षित राख्न र अखाद्य तथा प्रतिबन्धित रङ प्रयोग नगर्न कडाइका साथ निर्देशन दिइएको बताए।
उनका अनुसार खाद्य पदार्थको स्वच्छता र गुणस्तरमा लापरवाही गर्ने तथा उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पुग्ने गतिविधि गर्ने व्यवसायीलाई उपभोक्ता संरक्षण ऐन, २०७५ तथा खाद्य स्वच्छता एवं गुणस्तरसँग सम्बन्धित प्रचलित कानुनी व्यवस्था अनुसार कारबाही गरिनेछ।
अनुगमन टोलीले आगामी दिनमा पनि वीरगंजका खाद्य व्यवसायको अनुगमनलाई थप प्रभावकारी र नियमित बनाउने जनाएको छ। टोलीले व्यवसायीलाई खाद्य स्वच्छता तथा सुरक्षा मापदण्ड पूर्ण रूपमा पालना गर्न आग्रह गर्दै उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषयमा कुनै पनि प्रकारको लापरवाही नगर्न चेतावनी दिएको छ।
यसैबीच, उपभोक्तालाई समेत खाद्य सामग्री खरिद गर्दा लेबल, उत्पादन मिति, म्याद अवधि, गुणस्तर चिन्ह तथा प्याकेजिङ अनिवार्य रूपमा जाँच गरेर मात्र प्रयोग गर्न आग्रह गरिएको छ। विशेषगरी खुला रूपमा बिक्री गरिने मिठाई तथा खाद्य सामग्री, अत्यधिक रङ प्रयोग भएका मिठाई र लामो समयदेखि भण्डारण गरिएका खाद्य वस्तु खरिद तथा उपभोग गर्दा विशेष सावधानी अपनाउन सम्बन्धित निकायले अनुरोध गरेको छ।
उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने व्यवसायीलाई कानुनी दायरामा ल्याउने गरी बजार अनुगमनलाई निरन्तरता दिइने अनुगमन टोलीले स्पष्ट पारेको छ।

