अभिलाष गुप्ता
वीरगंज, ०६ भदाै । वीरगंज महानगरपालिका–४ बिर्तास्थित वीरगंज नरसिंह क्याम्पसको क्यान्टिनमा खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी मापदण्ड उल्लंघन भएको पाइएपछि संयुक्त बजार अनुगमन टोलीले क्यान्टिन सञ्चालकलाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ।
क्याम्पसमा अध्ययनरत विद्यार्थीले गरेको उजुरीका आधारमा शुक्रबार संयुक्त अनुगमन टोलीले क्याम्पस परिसरमा सञ्चालित ममता खाजा घरको अनुगमन गरेको थियो। अनुगमनका क्रममा क्यान्टिनको भान्सा तथा परिसरमा आवश्यक सरसफाइ नभएको, खाद्य सामग्री असुरक्षित रूपमा भण्डारण गरिएको, माखा–झिँगा भन्किरहेको तथा खाद्य पदार्थमा अखाद्य रङ प्रयोग गरिएको पाइएको टोलीले जनाएको छ।
त्यसैगरी, मापदण्डविपरीत जङ्कफुड बिक्री–वितरण भइरहेको तथा उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने खाद्य सामग्री प्रयोग भएको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३९ (ख) बमोजिम क्यान्टिनलाई २५ हजार रुपैयाँ जरिवाना गरिएको हो।
अनुगमन टोलीले क्यान्टिन सञ्चालकलाई तत्काल सरसफाइमा सुधार गर्न, खाद्य सामग्रीलाई धुलो, धुवाँ, माखा–झिँगा तथा अन्य किराफट्याङ्ग्राबाट सुरक्षित राख्न, अखाद्य तथा प्रतिबन्धित रङ प्रयोग नगर्न र विद्यार्थीले स्पष्ट रूपमा देख्ने गरी खाजा तथा खानाको मूल्यसूची अनिवार्य रूपमा राख्न निर्देशन दिएको छ।
त्यसैगरी, क्यान्टिनमा बिक्री हुँदै आएको मापदण्डविपरीत जङ्कफुडको बिक्री–वितरण नगर्न निर्देशन दिँदै सुधारका लागि आवश्यक समयसमेत दिइएको अनुगमन टोलीले जनाएको छ।
स्वास्थ्य पढाइ हुने क्याम्पसमै खाद्य स्वच्छतामा प्रश्न
वीरगञ्ज नरसिंह क्याम्पसमा स्वास्थ्यसम्बन्धी विषय अध्ययन हुने र भविष्यमा स्वास्थ्य क्षेत्रमा जनशक्ति उत्पादन गर्ने संस्थामै क्यान्टिनको खाद्य स्वच्छता कमजोर देखिनुले गम्भीर प्रश्न उठाएको छ।
क्याम्पसमा अध्ययनरत विद्यार्थीका लागि दैनिक उपभोग हुने खाना तथा खाजाको गुणस्तर, मूल्य, सरसफाइ र खाद्य सुरक्षा सुनिश्चित गर्ने जिम्मेवारी क्याम्पस प्रशासनको समेत हुने भए पनि नियमित अनुगमन तथा निगरानीमा पर्याप्त ध्यान नदिइएको गुनासो विद्यार्थीहरूले गरेका छन्।
विद्यार्थीहरूले क्यान्टिन सञ्चालनका लागि टेन्डर प्रक्रिया अपनाइएको हो वा होइन, सम्झौता अनुसारको खाना तथा खाजा उपलब्ध भइरहेको छ कि छैन, तोकिएको मूल्यभन्दा बढी रकम असुल भइरहेको छ कि छैन र क्यान्टिनको खाद्य स्वच्छता तथा सरसफाइको नियमित निरीक्षण क्याम्पस प्रशासनले गर्ने गरेको छ कि छैन भन्ने विषयमा समेत प्रश्न उठाएका छन्।
विद्यार्थीले क्याम्पसको उजुरी पेटिका मार्फत समस्या राखिसकेपछि पनि समयमै आवश्यक कदम नचालिएको र अन्ततः बाह्य अनुगमन टोलीलाई गुहार्नुपर्ने अवस्था किन आयो भन्ने प्रश्नसमेत उनीहरूले उठाएका छन्। यसले क्याम्पस प्रशासनको निगरानी प्रणालीप्रति थप प्रश्न खडा गरेको विद्यार्थीहरूको भनाइ छ।
‘क्याम्पस प्रशासनले नियमित निगरानी गर्नुपर्छ’
स्वास्थ्यसम्बन्धी शिक्षा प्रदान गर्ने संस्थाको क्यान्टिनमा नै खाद्य स्वच्छताको अवस्था कमजोर हुनु सामान्य विषय नभएको विद्यार्थीहरूको भनाइ छ। उनीहरूले क्याम्पस प्रशासनले क्यान्टिनको नियमित निरीक्षण गरी विद्यार्थीले सुरक्षित, स्वच्छ र गुणस्तरीय खाना तथा खाजा उपभोग गर्न पाउने वातावरण सुनिश्चित गर्नुपर्ने माग गरेका छन्।
विद्यार्थीहरूले क्यान्टिनमा प्रयोग हुने कच्चा पदार्थदेखि तयार खाद्य सामग्रीसम्मको गुणस्तर, मूल्यसूची, भान्साको सरसफाइ र खाद्य सुरक्षा मापदण्डको नियमित अनुगमन हुनुपर्ने बताएका छन्।
खाद्य ल्याब भ्यानसहित विशेष बजार अनुगमन उपभोक्ताले सुरक्षित, स्वच्छ तथा गुणस्तरीय खाद्य सामग्री उपभोग गर्न पाउने अधिकार सुनिश्चित गर्ने उद्देश्यले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको खाद्य ल्याब भ्यानसहित वीरगञ्जका विभिन्न बजार क्षेत्रमा संयुक्त अनुगमन भइरहेको छ।
अनुगमन टोलीमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगंज, खाद्य प्रविधि तथा गुण डिभिजन कार्यालय वीरगंज, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको खाद्य ल्याब भ्यान, जिल्ला प्रशासन कार्यालय पर्सा, वीरगंज उद्योग वाणिज्य संघ, उपभोक्ता हित संरक्षण मञ्च नेपाल, पत्रकार तथा सम्बन्धित निकायका प्रतिनिधि सहभागी थिए।
टोलीले क्यान्टिन तथा खाद्य व्यवसायको सञ्चालन अवस्था, भान्साको सरसफाइ, खाद्य सामग्रीको भण्डारण, प्रयोग हुने कच्चा पदार्थ, खाद्य पदार्थको गुणस्तर तथा स्वच्छता मापदण्डको पालना भए–नभएको विषयमा स्थलगत निरीक्षण गर्दै आएको जनाएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरीक्षक श्रवण साहले खाद्य पदार्थको स्वच्छता र गुणस्तरमा लापरवाही गर्ने व्यवसायीलाई कानुनी दायरामा ल्याइने बताएका छन्।
उनका अनुसार व्यवसायीलाई भान्सा तथा पसल परिसर नियमित रूपमा सफा राख्न, खाद्य सामग्री सुरक्षित रूपमा भण्डारण गर्न तथा अखाद्य रङ र प्रतिबन्धित सामग्री प्रयोग नगर्न कडाइका साथ निर्देशन दिइएको छ।
उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने व्यवसायीमाथि उपभोक्ता संरक्षण ऐन, २०७५ तथा खाद्य स्वच्छता एवं गुणस्तरसँग सम्बन्धित प्रचलित कानुनबमोजिम कारबाहीलाई निरन्तरता दिइने अनुगमन टोलीले जनाएको छ।
विद्यार्थीको उजुरीपछि भएको यो कारबाहीले वीरगंजका शैक्षिक संस्थाका क्यान्टिनमा समेत खाद्य स्वच्छता र उपभोक्ता अधिकारको नियमित निगरानी आवश्यक रहेको सन्देश दिएको छ।

