अभिलाष गुप्ता
वीरगंज, १० असोज । रोटरी क्लब अफ वीरगंजकाे आयोजनामा समुदाय तथा सामाजिक सेवा परियोजनाका लागि सहयोग जुटाउने उद्देश्यले वीरगञ्जस्थित होटल सिद्धार्थ डियालोमा ‘Rotary Trade Fair’ सुरु भएको छ।
मेलाको उद्घाटन उद्योग वाणिज्य संघ वीरगंज्ञजका अध्यक्ष हरि गौतमको प्रमुख आतिथ्यमा भएको हो। कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष माधव राजपाललगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको अध्यक्षता रोटरी क्लब अफ वीरगंजका अध्यक्ष राकेश मिश्रले गरेका थिए। कार्यक्रममा क्लबका पदाधिकारी तथा सदस्यहरूको समेत सहभागिता रहेको थियो।
ट्रेड फेयरमा विभिन्न प्रकारका खाद्य परिकार, खेलकुद, कृत्रिम आभूषण, कपडालगायतका सामग्रीका आकर्षक स्टलहरू राखिएका छन्। मेलामा सहभागीहरूले विभिन्न सामग्री तथा सेवाको अवलोकन तथा खरिदसँगै मनोरञ्जनात्मक गतिविधिमा समेत सहभागी हुन सक्ने आयोजकले जनाएको छ।
आयोजकका अनुसार ट्रेड फेयरबाट प्राप्त हुने आम्दानी रोटरी क्लब अफ वीरगंजले सञ्चालन गर्ने विभिन्न सामुदायिक तथा सामाजिक सेवा परियोजनामा उपयोग गरिनेछ। सामाजिक क्षेत्रमा क्लबले गर्दै आएका गतिविधिलाई थप प्रभावकारी बनाउन मेलाबाट संकलित रकम उपयोग गरिने बताइएको छ।
ट्रेड फेयर बिहान ११ बजेदेखि राति ८ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। यस्तै, मेलामा साँझ ५ बजेदेखि कुल श्रेष्ठ कमलको विशेष सांगीतिक प्रस्तुति समेत रहने बताइएको छ।
कार्यक्रममा रोट्रयाक्ट क्लब अफ वीरगंज, रोट्रयाक्ट क्लब अफ शंकराचार्य, इन्टरयाक्ट क्लब अफ ज्ञानदा एकेडेमी तथा इन्टरयाक्ट क्लब अफ कादम्बरी एकेडेमीको समेत सक्रिय सहभागिता रहेको छ।
आयोजकले ट्रेड फेयरमा सर्वसाधारणको सहभागिता जनाउँदै सामाजिक सेवा अभियानमा सहयोग पुर्याउन आग्रह गरेको छ।

