वीरगंज, २१ कार्तिक । अक्षरारम्भ कपअन्तर्गत आज प्रतियोगिताको सातौँ दिन दुईवटा क्वार्टरफाइनल खेल सम्पन्न भएका छन्। आज सम्पन्न दुवै खेलमा जित हासिल गर्दै विद्या सदन सेकेन्डरी स्कुल र जीएचपी सेकेन्डरी स्कुल सेमिफाइनलमा प्रवेश गरेका छन्।
आजको पहिलो खेल अर्थात् म्याच नम्बर १७ मा विद्या सदन र सनलाइट सेकेन्डरी स्कुलबीच प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा विद्या सदनले ७१ रनको फराकिलो जित हासिल गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ। उत्कृष्ट प्रदर्शन गर्दै ४६ रन अविजित बनाएका विद्या सदनका खेलाडी रिजवान अन्सारी म्यान अफ द म्याच घोषित भएका छन्।
त्यसैगरी, आजको दोस्रो खेल अर्थात् म्याच नम्बर १८ मा पीस जोन र जीएचपीबीच प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा जीएचपीले ४७ रनको जित हासिल गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। उत्कृष्ट प्रदर्शन गर्दै ६ विकेट लिनुका साथै १० रनसमेत बनाएका जीएचपीका खेलाडी केशव यादव म्यान अफ द म्याच घोषित भएका छन्।
आजको जितसँगै विद्या सदन सेकेन्डरी स्कुल र जीएचपी सेकेन्डरी स्कुलले सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेका छन्।
दीपावली पर्वका कारण प्रतियोगिता चार दिनका लागि स्थगित रहनेछ। कार्तिक २६ गते क्वार्टरफाइनलका बाँकी दुई खेल सञ्चालन हुनेछन् भने कार्तिक २७ गते दुवै सेमिफाइनल खेलहरू सञ्चालन हुनेछन्।
यसैबीच, पहिलो सेमिफाइनलको समीकरणसमेत पूरा भएको छ। कार्तिक २७ गते हुने पहिलो सेमिफाइनल खेलमा विद्या सदन सेकेन्डरी स्कुल र जीएचपी सेकेन्डरी स्कुल आमनेसामने हुनेछन्।

