वीरगंज, २९ कार्तिक । छठ पर्व २०८३ को अवसरमा नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगंजले श्रधालुहरुको स्वास्थ्य सुरक्षा तथा आकस्मिक स्वास्थ्य आवश्यकतालाई मध्यनजर गर्दै वीरगञ्जका पाँच प्रमुख छठ घाटमा मेडिकल पार्टनरका रूपमा स्वास्थ्य सेवा उपलब्ध गराएको छ।
कलेजले रानीघाट, मुर्ली पोखरी, घडिअर्वा पोखरी, स्विमिङ पुल र नगवा पोखरी गरी पाँच स्थानमा प्राथमिक उपचार तथा स्वास्थ्य सहायता डेस्क सञ्चालन गरेको छ। छठ पर्वका अवसरमा घाटमा उपस्थित व्रतालु, श्रद्धालु तथा सर्वसाधारणलाई आवश्यक परेको समयमा तत्काल प्राथमिक उपचार तथा स्वास्थ्य सहायता उपलब्ध गराउने उद्देश्यले उक्त व्यवस्था गरिएको हो।
दुईदिने छठ पर्वअन्तर्गत आज कात्तिक २९ गते साँझको अर्घ्यका अवसरमा पाँचवटै घाटमा स्वास्थ्य सहायता डेस्क सञ्चालन गरिएको थियो। आज साँझको अर्घ्य कार्यक्रम सम्पन्न भइसकेको छ भने भोलि बिहानको अर्घ्यका अवसरमा पनि स्वास्थ्य सेवा निरन्तर सञ्चालन हुनेछ।
प्रत्येक घाटमा छुट्टाछुट्टै हेल्थ डेस्क लिड तथा एमबीबीएस विद्यार्थी स्वयंसेवकहरू परिचालन गरिएको छ। उनीहरूले श्रद्धालुहरूको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै आवश्यक प्राथमिक उपचार तथा स्वास्थ्य सहायता प्रदान गरिरहेका छन्।
स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरूको सहज परिचालनका लागि कलेजले आवश्यक यातायात, समन्वय तथा व्यवस्थापकीय व्यवस्था पनि मिलाएको छ।
छठ पर्वजस्तो महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक उत्सवका अवसरमा समुदायको स्वास्थ्य सुरक्षाप्रति संस्थाको सामाजिक उत्तरदायित्व र प्रतिबद्धता दर्शाउँदै नेशनल मेडिकल कलेजले अस्पतालको सेवासँगै समुदायस्तरमा पनि स्वास्थ्य सेवा विस्तार गर्दै आएको छ।
उक्त कार्यक्रमको समग्र समन्वय कलेजको कर्पोरेट तथा मार्केटिङ विभागले गरिरहेको छ।



