सही खबर, सही समयमा

धोबिनी गाउँपालिकाको ८ ‌औं गाउँ सभा प्रति केही गाउँ सभा सदस्यहरु असन्तुष्ट

ई-दैनिक जागरण
२०८० भाद्र २९, शुक्रबार २३:०८

बीरगंज । पर्साको धोबिनी गाउँपालिकाको ८ ‌औं गाउँ सभा प्रति केही गाउँ सभा सदस्यहरु असन्तुष्टि जनाएका छन् ।

६ जना कार्यपालिका सदस्य र एक जना वडा सदस्य गरी ७ जना गाउँ सभा सदस्यले शुक्रबार पत्रकार सम्मेलन गर्दै आफुहरुको जानकारी बेगर नै गाउँ सभा सम्पन्न भएको भन्दै असन्तुष्टि जनाएका हुन् ।

वीरगंजस्थित नेपाल पत्रकार महासंघ पर्साको भवनमा भएको पत्रकार सम्मेलनमा गाउँ कार्यपालिका सदस्य दिनेश प्रसाद,नन्दकिशोर साह कानु,रिना देवी,सोभावती देवी,सार्धा देवी पासवान,पवन ज्योती कुमारी र वडा सदस्य मैना देवीको उपस्थिती रहेको थियो ।

उनीहरुले गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहान एवं उपाध्यक्ष मंजु देवी कुर्मीले आफूखुसी वीरगंजमा बसी गाउँसभा एवं बजेट सार्वजनिक गरेको आरोप लगाएका हुन् । उनीहरुले २०८० असारदेखि हालसम्म गाउँपालिका परिषद समेत नभएको र ७ जना गाउँपालिका सदस्यहरुले कुनैपनि कागजातमा आफुहरुले हस्ताक्षर समेत नगरेको र गाउँपालिका अध्यक्ष एवं उपाध्यक्षले आफूहरुलाई छाडी वीरगंजमा गोप्य रुपमा यही भदौ २७ गते परिषद गरेको विभिन्न सञ्चार माध्यमबाट जानकारी पाएको हुनाले गाउँसभा रद्द हुनुपर्ने माग गरे ।

यता गाउँपालिका अध्यक्ष मदन चौहानले आफ्नो स्वार्थ सिद्ध नभएपछि जनताको काम नै प्रभावित पार्न केही गाउँ सभा सदस्यहरु खोजेको आरोप लगाए । उनले उनीहरु सहमतिमा नआएपछि पालिकाको काम २ महिना भन्दा बढि प्रभावित भएको कारण बहुमतीय प्रणाली अन्तर्गत गाउँसभा एवं बजेट सार्वजनिक गरिएको बताए ।

बहुमतीय प्रणाली अन्तर्गत २९ जनामध्ये २२ जनाले सहमतिमा गाउँ सभा सम्पन्न भएको उनको भनाई छ । उनका अनुसार गाउँपालिका अध्यक्ष,उपाध्यक्ष,पांचै जना वडाध्यक्ष र अन्य १५ जना गाउँ सभा सदस्यको सम्पन्न गाउँ सभामा समर्थन जनाएका हुन् ।

गाउँपालिका स्रोतका अनुसार असन्तुष्ट कार्यपालिका सदस्यले वडाध्यक्ष भन्दा बढी बजेट आफुहरुले खर्च गर्न पाउनु पर्ने अडान राखेका थिए । गाउँपालिका अध्यक्ष र उपाध्यक्षले असन्तुष्ट गाउँ कार्यापालिका सदस्यहरुलाई रु २५ लाखको योजना दिन माग गरे पनि आफूहरु रु ६५ लाख बराबरको योजना खर्च गर्न पाउनु पर्ने अडान राखेका थिए । त्यस कारण असार १० गते भित्र सम्पन्न गरिसक्नु पर्ने गाउँ सभा नयाँ आर्थिक मसान्त सुरु हुँदा समेत हुन सकेका थिएन ।

गाउँ सभा नहुँदा गाउँपालिकाको कामकाज प्रभावित भएको थियो । दुई महिनादेखि कर्मचारी तलब पाउन सकेका थिएन भने समाजिक सुरक्षा भत्ता समेत वितरण हुन सकेको थिएन ।

रु ३६ करोड ५ लाख बराबरको बजेट सार्वजनिक

गाउँपालिकाले ८ औं गाउँ सभाबाट आ।व। २०८०र०८१ को लागि ३६ करोड ५ लाख ५५ हजार रुपैया बजेट सार्वजनिक गरेको छ । आयतर्फ समानीकरण अनुदान ८ करोड ४२ लाख, सशर्त अनुदान १२ करोड ९५ लाख तथा राजस्व बाँडफाँड ६ करोड ४८ लाख ६७ हजार ८ सय गरि २७ करोड ८५ लाख ६७ हजार ८ सय रुपैया बजेट सार्वजनिक गरिएको प्रमुख प्रशासकिय अधिकृत महमद नवाज हुसेनले वताए ।

यसैगरि आयतर्फ कै प्रदेश सरकारको वित्तीय हस्तान्तरण अन्तर्गत समानीकरण अनुदान ५९ लाख ११ हजार,सशर्त अनुदान ५० लाख,राजस्व बाँडफाँड ४० लाख,विशेष अनुदान ३० लाख, समपुरक अनुदान २० लाख, स्थानीय राजस्व बाँडफाँड २० लाख गरि २ करोड १९ लाख ११ हजार एवं गत वर्षको आन्तरिक राजस्व मौज्दात ६ करोड ७६ हजार गरि ३६ करोड ५ लाख ५५ हजार बजेट सार्वजनिक गरेको हो ।

गाउँपालिकाको व्ययतर्फ कार्य सञ्चालन तलब भत्ता प्रशासनीक खर्च तथा सम्पूणर् चालु प्रकृतिका खर्चहरुमा ७ करोड ८२ लाख ९५ हजार,भौतिक पूर्वाधार तथा विकास निर्माणमा १४ करोड ७७ लाख ६० हजार,संघीय सशर्त अनुदानमा १२ करोड ९५ लाख,प्रदेश विशेष अनुदानमा ३० लाख,प्रदेश समपुरक अनुदानमा २० लाख बजेट अनुमति विनियोजन गरिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?