सही खबर, सही समयमा

खरिद बिल नदेखाउने पसलेहरुलाई ४५ हजार जरिवाना

ई-दैनिक जागरण
२०८१ आश्विन २, बुधबार २०:१९
वीरगंज, २ असोज । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साले खरिद बिल नदेखाउने वीरगंजका ६ पसलेलाई ४५ हजार रुपियाँँ जरिवाना गरेको छ।
निमित्त कार्यालय प्रमुख सुनिल चौरसियाको नेतृत्वमा बुधवार बजार अनुगमन गर्दा ६ वटा पसलेहरूले खरिद बिल नदेखाएकोले उनीहरूलाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ बमोजिम नगद जरिवाना गरिएको हो ।
न्यु अमित किराना स्टोर्स, मुकेश एण्ड केशरी किराना स्टोर्स, भगवती किराना भण्डारलाई जनही दश हजार र आयुष गल्ला किराना पसल, राहुल एण्ड नविन किराना र मुन्ना लाल किरानालाई जनही पाँच हजार जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका सूचना अधिकारी दिलिप खँग खत्वेले जानकारी दिए ।
जरिवाना गरिएको रकम सात दिन भित्र राष्ट्रिय बाणिज्य बैंकमा दाखिला गरी भौचर कार्यालयमा पेश गर्न निर्देशन पनि दिईएको उनले बताए। साथै, चाडपर्बको बेलामा उपभोक्तासँग बढी मूल्य लिने, गुणस्तरहीन वस्तु बिक्री गर्ने, म्याद नाघेका सामान बिक्री गर्ने, लेबल नभएका सामान बिक्री गर्ने जस्ता कार्य नगर्न पनि कार्यालयले व्यापारीसित अनुरोध पनि गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?