रक्सौल/वीरगंज, ०१ भदाै । भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (ICCR) तथा भारतीय महावाणिज्य दूतावासको पहलमा भारत–नेपाल सांस्कृतिक मैत्रीको सुन्दर झल्को
भारतको ८० औँ स्वतन्त्रता दिवसको अवसरमा भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (ICCR) तथा भारतको महावाणिज्य दूतावास, वीरगञ्जको संयुक्त आयोजनामा आइतबार साँझ आदर्शनगरस्थित टाउन हलमा विशेष लाइट म्युजिक (सुगम संगीत) कार्यक्रम आयोजना गरिएको छ। प्रसिद्ध भारतीय गायक राजेश पाण्डेय तथा उहाँको सात सदस्यीय टोलीले गीत, गजल, भजन र सूफी रचनाहरूको मनमोहक प्रस्तुति दिएर संगीतप्रेमीहरूलाई मन्त्रमुग्ध बनाएका थिए।
कार्यक्रमको शुभारम्भ भारतका महावाणिज्यदूत देवी सहाय मीणा, पर्साका सांसद हरि पन्त, मधेश प्रदेशकी प्रदेशसभा सदस्य वीणा शर्मा तथा प्रसिद्ध गायक राजेश पाण्डेयले संयुक्त रूपमा दीप प्रज्वलन गरी गर्नुभएको थियो। कार्यक्रममा सशस्त्र प्रहरी बल, वीरगञ्जका प्रहरी उपरीक्षक (एसपी) मोहन क्षेत्रीको पनि गरिमामय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै भारतका महावाणिज्यदूत देवी सहाय मीणाले भारत र नेपालबीचको सम्बन्ध केवल कूटनीतिक सम्बन्धमा सीमित नरहेको बताउनुभयो। उहाँले दुवै देशका नागरिकबीच सदियौँ पुराना सामाजिक, सांस्कृतिक तथा भावनात्मक सम्बन्ध रहेको उल्लेख गर्नुभयो।
उहाँले संगीत र संस्कृतिले मानिसलाई जोड्ने सबैभन्दा सहज र प्रभावकारी माध्यमको भूमिका निर्वाह गर्ने बताउँदै यस्ता सांस्कृतिक कार्यक्रमले दुवै देशका कलाकार तथा सर्वसाधारणलाई एक–अर्काको संस्कृति बुझ्ने र आपसी आत्मीयता बढाउने अवसर प्रदान गर्ने धारणा व्यक्त गर्नुभयो।
भारत र नेपालको साझा सांस्कृतिक विरासतले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो।
राजेश पाण्डेयको प्रस्तुतिले बाँध्यो माहोल
राजेश पाण्डेय तथा उहाँको टोलीको संगीतमय प्रस्तुतिका क्रममा टाउन हल तालीको गडगडाहटले गुञ्जायमान बनेको थियो। लोकप्रिय गीतसँगै गजल, भजन तथा सूफी संगीतका प्रस्तुतिले दर्शकहरूको मन जितेको थियो। कलाकारहरूको उत्कृष्ट प्रस्तुतिमा संगीतप्रेमीहरूले उत्साहपूर्वक ताली बजाएर हौसला प्रदान गरेका थिए।
सुरले सजिएको उक्त सुन्दर साँझमा भारत–नेपाल सांस्कृतिक मैत्रीको जीवन्त झल्को देखिएको थियो। कार्यक्रमले कला, संगीत र संस्कृतिले दुई देशबीचको जनस्तरीय सम्बन्धलाई अझ प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने सन्देश दिएको थियो।
कार्यक्रममा भारत विकास परिषद्, शाखा–रक्सौलका सेवा संयोजक सह मिडिया प्रभारी बिमल कुमार सर्राफ, पूनम सर्राफ, महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादव, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, उपाध्यक्ष माधव राजपाल, पिया सिंह, गुड्डी जोशी, प्रसिद्धि आनन्द सिंह, अभिषेक चौधरी, राधेश्याम खेतान, जयप्रकाश खेतानलगायत स्थानीय गण्यमान्य नागरिक, कला तथा संगीतप्रेमी एवं भारत–नेपाल मैत्रीसँग जोडिएका व्यक्तिहरूको उपस्थिति रहेको थियो।
भारतीय महावाणिज्य दूतावासका वाणिज्यदूत मनीष दासका साथै अजय जैन, चन्दन श्रीवास्तव तथा अन्य सहकर्मीहरूको पनि गरिमामय उपस्थिति रहेको थियो।

