सिमरा, बारा ०३ भदौ । सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष सञ्चालनमा आएको छ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगंजकाे सहयाेगमा स्थापना गरिएको स्वास्थ्य सहायता कक्षको कलेजका अध्यक्ष प्रो. डा. जैनुद्दिन अन्सारीले एक कार्यक्रमबीच उद्घाटन गरेका हुन्।
सरकारले अघि सारेको १०० दिने विकास कार्यक्रम अन्तर्गत देशका विमानस्थलमा आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले निःशुल्क स्वास्थ्य जाँच कक्ष स्थापना गर्ने कार्यक्रमअनुसार सिमरा विमानस्थलमा पनि सेवा सञ्चालनमा ल्याइएको हो।
सुरुआती चरणमा स्वास्थ्य सहायता कक्ष बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन गरिने नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारीले जानकारी दिए। विमानस्थलमा सेवाग्राहीको चाप र आवश्यकताअनुसार आगामी दिनमा कक्ष सञ्चालनको समय थप गर्न सकिने उनले बताए।
स्वास्थ्य सहायता कक्षबाट विमानस्थलमा कार्यरत कर्मचारी, यात्रु, सरसफाइ कर्मचारी, सुरक्षाकर्मी लगायतलाई आकस्मिक स्वास्थ्य जाँच तथा प्राथमिक उपचार सेवा उपलब्ध गराइने सिमरा विमानस्थलका प्रमुख विष्णुप्रसाद अधिकारीले जानकारी दिए।
यात्रुमा स्वास्थ्यसम्बन्धी आकस्मिक अवस्था आएमा तत्काल मेडिकल इमर्जेन्सी केयर उपलब्ध गराउनुका साथै आवश्यक परे थप उपचारका लागि सम्बन्धित स्वास्थ्य संस्थामा पठाउने व्यवस्था मिलाइने जनाइएको छ। विमानस्थलमा विपद् वा ठूलो आकस्मिक घटना भएमा नेशनल मेडिकल कलेजको डिजास्टर रेस्पोन्स टिममार्फत आवश्यक स्वास्थ्य सहयोग उपलब्ध गराइनेछ।
स्वास्थ्य सहायता कक्षमा नेशनल मेडिकल कलेजका चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले नियमित रूपमा सेवा प्रदान गर्नेछ। विमानस्थल परिसरमै निःशुल्क स्वास्थ्य सेवा उपलब्ध भएपछि यात्रु तथा कर्मचारीलाई आकस्मिक स्वास्थ्य समस्या पर्दा तत्काल स्वास्थ्य परीक्षण, प्राथमिक उपचार तथा चिकित्सकीय परामर्श लिन सहज हुने अपेक्षा गरिएको छ।
विमानस्थल प्रशासन र नेशनल मेडिकल कलेजको सहकार्यमा सुरु गरिएको स्वास्थ्य सहायता कक्षलाई सेवाको आवश्यकता र प्रभावकारिताका आधारमा थप व्यवस्थित गर्दै लैजाने तयारी गरिएको जनाइएको छ।
हेल्थ डेस्कको उद्घाटन कार्यक्रममा नेशनल मेडिकल कलेजका एकेडेमिक डाइरेक्टर डा. रुबी श्रेष्ठ, एडमिशन अफेयर्स तथा मार्केटिङ डाइरेक्टर आबिद हुसेन अन्सारी, हस्पिटल डाइरेक्टर डा. ईशरत जहान लगायत कलेजका प्रशासनिक कर्मचारी, विमानस्थलका कर्मचारी, स्वास्थ्यकर्मी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

