अभिलाष गुप्ता
वीरगंज, ०४ भदौ । वीरगंज बसपार्कबाट विद्युतीय सवारीसाधन जथाभावी सञ्चालन रोक्न तथा बसपार्कलाई व्यवस्थित बनाउन चार महिनाअघि जिल्ला प्रशासन कार्यालय, पर्सामा भएको सहमति कार्यान्वयन नभएको भन्दै बस व्यवसायीहरूले आक्रोश व्यक्त गरेका छन्।
प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा गत वैशाख २२ गते ट्राफिक प्रहरी, बस व्यवसायी तथा विद्युतीय सवारीसाधन सञ्चालक लगायत सरोकारवालाबीच बसेको बैठकले बसपार्क व्यवस्थापन तथा विद्युतीय सवारी सञ्चालनलाई व्यवस्थित गर्ने विषयमा विभिन्न बुँदामा सहमति गरेको थियो। तर सहमति भएको लामो समय बितिसक्दा पनि त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन नगरिएको व्यवसायीहरूको गुनासो छ।
बसपार्कमा हुने गरेका विकृति रोकथाम, यात्रुलाई सहज सेवा तथा सवारी सञ्चालनलाई व्यवस्थित गर्ने उद्देश्यले गरिएको सहमति कार्यान्वयन नहुँदा यात्रु र व्यवसायी दुवै समस्यामा परेको उनीहरूको भनाइ छ। बसपार्कमा टिकट काट्ने नाममा बिचौलिया राखेर यात्रुलाई दुःख दिने गतिविधिसमेत अझै नरोकिएको व्यवसायीहरूले बताएका छन्।
सहमति अनुसार दिवा सेवामा सञ्चालन हुने विद्युतीय सवारीसाधन तथा टाटा सुमोलाई दिउँसो २ बजेसम्म सञ्चालनको समय तोकिएको थियो। तर तोकिएको समयपछि पनि यस्ता सवारीसाधन राति ७ बजेसम्म सञ्चालन हुँदा रात्रि सेवाका बस प्रभावित भइरहेको एक बस व्यवसायीले बताए।
उनका अनुसार जिल्ला प्रशासन कार्यालयमा सरोकारवालाबीच भएको सहमति तत्काल र कडाइका साथ कार्यान्वयन गर्न आवश्यक छ। सहमति पालना नभएपछि बसपार्कको अवस्था पुनः पुरानै शैलीमा लथालिङ्ग र भद्रगोल बन्दै गएको उनले बताए।
बस व्यवसायीहरूले सम्बन्धित निकायले सहमति कार्यान्वयनमा तत्काल ध्यान दिई बसपार्कको सञ्चालनलाई व्यवस्थित बनाउन माग गरेका छन्।

