24 August ,2026,Monday

खाद्य स्वच्छता उल्लंघन गर्ने व्यवसायीमाथि कारबाही, नियमित अनुगमनले बजार सुधार हुने विश्वास

अभिलाष गुप्ता
वीरगंज, ०७ भदौ । वीरगंजमा उपभोक्ताले सुरक्षित, स्वच्छ तथा गुणस्तरीय खाद्य सामग्री उपभोग गर्न पाउने अधिकार सुनिश्चित गर्ने उद्देश्यले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको खाद्य ल्याब भ्यानसहित संयुक्त बजार अनुगमनलाई तीव्रता दिइएको छ। नियमित अनुगमनका क्रममा खाद्य स्वच्छता तथा सरसफाइमा लापरबाही गर्ने व्यवसायीलाई जरिवाना गर्नुका साथै अखाद्य तथा अस्वच्छ अवस्थामा राखिएका खाद्य सामग्री र क्षतिग्रस्त पानीका जार नष्ट गरिएको छ।

खाद्य प्रविधि तथा गुण डिभिजन विभाग, काठमाडौंको खाद्य ल्याब भ्यानसहितको टोलीले शनिबार वीरगञ्जका विभिन्न क्षेत्रमा अनुगमन गरेको हो। अनुगमनका क्रममा खाद्य पदार्थको गुणस्तर, भण्डारण, उत्पादनस्थलको सरसफाइ, कच्चा पदार्थको अवस्था तथा खाद्य स्वच्छता मापदण्डको पालना भए–नभएको विषयमा स्थलगत निरीक्षण गरिएको थियो।

वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित न्यू अंशु स्वीट्स एन्ड फास्ट फुडमा अनुगमन गर्दा सरसफाइको अवस्था सन्तोषजनक नपाइएको टोलीले जनाएको छ। अखबारले छोपेर राखिएको करिब २ किलो खुवा तथा म्याद गुज्रिएका फ्लेभर्स र रङका दुई डब्बा फेला परेका थिए। अखबार तथा पत्रिकाले छोपेर राखिएको करिब २ किलो पेडा सामग्री जफत गरी नष्ट गरिएको छ। साथै व्यवसायीलाई खाद्य स्वच्छता कायम गर्न निर्देशन दिइएको छ।

त्यसैगरी रानीघाटकै सोनु स्वीट्समा पनि सरसफाइको अवस्था सन्तोषजनक नभएको तथा पत्रपत्रिकाले छोपेर राखिएको करिब ६ किलो मिठाई फेला परेको थियो। उक्त मिठाई जफत गरी नष्ट गर्नुका साथै व्यवसायीलाई तत्काल ५ हजार रुपैयाँ जरिवाना गरिएको छ। मिठाई उत्पादन गर्ने स्थान र समग्र सरसफाइमा सुधार गरी सात दिनभित्र खाद्य स्वच्छता कायम गर्न निर्देशन दिँदै तोकिएको समयभित्र सुधार नगरे पसल सिल गरी थप कारबाही गरिने चेतावनी दिइएको छ।

रानीघाट–१० स्थित बोलबम प्योर ड्रिङ्किङ उद्योगलाई पनि सरसफाइ तथा आवश्यक पूर्वाधार व्यवस्थित नगरी खाद्य स्वच्छता मापदण्डविपरीत उद्योग सञ्चालन गरेको पाइएपछि पहिलो पटकका लागि ५ हजार रुपैयाँ जरिवाना गरिएको खाद्य निरीक्षक श्रवण साहले जानकारी दिए। उद्योगलाई सात दिनभित्र सरसफाइलगायत आवश्यक सम्पूर्ण पूर्वाधार तयार गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, वीरगंजलाई जानकारी गराउन निर्देशन दिइएको छ।त्यस्तै आदर्शनगर–१० स्थित रियल–मी मिनरल वाटर उद्योगमा अनुगमन गर्दा मिनी प्रयोगशाला नभएको, कुचिएका जार प्रयोगमा रहेको तथा कामदारको व्यक्तिगत सरसफाइमा समेत कमजोरी देखिएको टोलीले जनाएको छ। उद्योगलाई मिनी ल्याबको व्यवस्था गर्न, कुचिएका जार प्रयोग नगर्न तथा व्यक्तिगत र उद्योगको सरसफाइमा विशेष ध्यान दिन निर्देशन दिइएको छ। अनुगमनका क्रममा १९ वटा कुचिएका खाली जार नष्ट गरिएको छ।

आदर्शनगर–१० स्थित द हङ्ग्री आइसक्रिमलाई पनि खाद्य स्वच्छता तथा मापदण्डको पालना नगरेको पाइएपछि ५ हजार रुपैयाँ जरिवाना गरिएको छ।

खाद्य निरीक्षक श्रवण साहले उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने तथा खाद्य स्वच्छता मापदण्डको उल्लंघन गर्ने व्यवसायीलाई कानुनी दायरामा ल्याउने गरी बजार अनुगमनलाई निरन्तरता दिइने बताए।

बजार अनुगमनका क्रममा पसल तथा क्यान्टिनको सरसफाइ, भान्साको अवस्था, खाद्य सामग्रीको भण्डारण, प्रयोग हुने कच्चा पदार्थ, उत्पादन तथा बिक्रीका लागि राखिएका खाद्य पदार्थको गुणस्तर र खाद्य स्वच्छता मापदण्डको पालना लगायतका विषयमा नियमित रूपमा निरीक्षण हुँदै आएको टोलीले जनाएको छ।

अनुगमनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज, खाद्य प्रविधि तथा गुण डिभिजन कार्यालय वीरगञ्ज, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको खाद्य ल्याब भ्यान, जिल्ला प्रशासन कार्यालय पर्सा, वीरगञ्ज उद्योग वाणिज्य संघ, उपभोक्ता हित संरक्षण मञ्च नेपाल, पत्रकार तथा सम्बन्धित निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

नियमित र प्रभावकारी बजार अनुगमनले व्यवसायीलाई आफ्नो व्यवसाय सञ्चालनमा खाद्य स्वच्छता, सरसफाइ र गुणस्तरप्रति थप सचेत बनाउने अपेक्षा गरिएको छ। अनुगमनकै कारण बजारमा रहेका कमजोरी सुधार हुँदै जाने, उपभोक्ता पनि आफ्नो अधिकारप्रति जागरुक बन्ने तथा खाद्य वस्तुको नाममा हुने सम्भावित ठगी र गुणस्तरहीन वस्तुको बिक्रीबाट बच्न सकिने विश्वास गरिएको छ।

सम्बन्धित निकायले बजार अनुगमनलाई निरन्तरता दिँदै व्यवसायीलाई स्वच्छता र गुणस्तर कायम गर्न जिम्मेवार बनाउने हो भने आम उपभोक्ताले शुद्ध, सुरक्षित र ताजा खाद्य सामग्री उपभोग गर्न पाउने अधिकार व्यवहारमै सुनिश्चित हुने अपेक्षा गरिएको छ। साथै उपभोक्ताले पनि खाद्य सामग्री खरिद गर्दा उत्पादन मिति, म्याद गुज्रिएको अवस्था, लेबल, प्याकेजिङ तथा सरसफाइजस्ता विषयमा सचेत हुनुपर्ने देखिएको छ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...