पर्सा, ०८ भदौ । ACCESS परियोजनाअन्तर्गत सामाजिक संस्था जिल्ला समन्वय समिति (SODCC) पर्साको आयोजना तथा एकाउन्टेबिलिटी ल्याब नेपालको सहकार्यमा धोविनी गाउँपालिकामा लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) र अपाङ्गता समावेशी विकास (DID) सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
धोविनी गाउँपालिकाको सभा कक्षमा आयोजित कार्यक्रममा GEDSI तथा DID को अवधारणा, अपाङ्गताको परिचय तथा वर्गीकरण, समावेशी शिक्षा, DID Linkage, बजेट व्यवस्थापन तथा स्रोत परिचालनलगायत विषयमा प्रस्तुतीकरण तथा छलफल गरिएको थियो।
कार्यक्रम गाउँपालिका अध्यक्ष मदनप्रसाद चौहानको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद कटवाल, विभिन्न वडाका वडाध्यक्ष, शिक्षा, स्वास्थ्य तथा सामाजिक शाखाका प्रमुख, महिला तथा बालबालिका शाखा प्रमुख, पालिकास्तरीय अपाङ्गता समन्वय समिति प्रतिनिधि, तीनवटै माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि र SODCC पर्साका कार्यकारी निर्देशक रुपक पाण्डेलगायतको सहभागिता रहेको थियो। कार्यक्रमको उद्घोषण निरजकुमार पटेलले गर्नुभएको थियो।
कार्यक्रममा समाजका सबै व्यक्तिले विभेदबिना समान अधिकार, अवसर, पहुँच र सहभागिता पाउनुपर्नेमा जोड दिइएको थियो। लैङ्गिक समानता, अपाङ्गता समावेशीकरण तथा सामाजिक समावेशीकरणमार्फत विकासका अवसर र सेवामा सबैको समान पहुँच सुनिश्चित गर्नुपर्ने विषयमा सहभागीबीच छलफल भएको थियो।
त्यस्तै, विकासका योजना, नीति, कार्यक्रम, सेवा तथा संरचनामा अपाङ्गता भएका व्यक्तिलाई समान रूपमा समावेश गर्ने प्रक्रियाका रूपमा DID लाई अघि बढाउनुपर्नेमा जोड दिइएको थियो। अपाङ्गता भएका व्यक्तिको अर्थपूर्ण सहभागिता, पहुँच, गैरभेदभाव, सम्मान, उत्तरदायित्व तथा अधिकारमा आधारित दृष्टिकोणलाई प्राथमिकता दिनुपर्ने विषयमा समेत जानकारी गराइएको थियो।
कार्यक्रममा अपाङ्गताप्रतिको मेडिकल, सामाजिक तथा अधिकारमा आधारित मोडेलबारे छलफल गर्दै अपाङ्गतालाई व्यक्तिको कमजोरीका रूपमा मात्र नभई समाजमा रहेका भौतिक, सूचना तथा व्यवहारगत अवरोधसँग जोडेर हेर्नुपर्नेमा जोड दिइयो। अपाङ्गता भएका व्यक्तिलाई दयाको पात्र नभई समान अधिकार भएका नागरिकका रूपमा स्वीकार गर्नुपर्ने सहभागीहरूको धारणा थियो।
समावेशी शिक्षालाई पनि कार्यक्रमको महत्वपूर्ण विषयका रूपमा लिइएको थियो। जात, लिङ्ग, भाषा, धर्म, अपाङ्गता वा आर्थिक अवस्थाका आधारमा कुनै पनि बालबालिकालाई शिक्षाबाट वञ्चित गर्न नहुने तथा विद्यालयले बालबालिकाको आवश्यकता अनुसार सिकाइ वातावरण, शिक्षण विधि र शैक्षिक सामग्री अनुकूल बनाउनुपर्नेमा जोड दिइएको थियो।
विद्यालय तथा सार्वजनिक सेवाहरूलाई पहुँचयुक्त बनाउन र्याम्प, पहुँचयुक्त शौचालय, ह्यान्डरेल, ब्रेल तथा ठूलो अक्षरका सामग्री र सांकेतिक भाषा सेवाजस्ता व्यवस्था आवश्यक रहेको बताइएको थियो। साथै गुनासो सुनुवाइ संयन्त्रलाई समावेशी बनाउने तथा अपाङ्गता भएका बालबालिकाको शिक्षा निरन्तरताका लागि स्थानीय तह, विद्यालय, समुदाय र सम्बन्धित संस्थाबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड दिइयो।
कार्यक्रममा DID लाई छुट्टै गतिविधिका रूपमा नभई विकास तथा परियोजनाका सबै चरणमा लागू हुने cross-cutting approach का रूपमा समावेश गर्नुपर्नेमा विशेष जोड दिइएको थियो। समस्या पहिचानदेखि योजना निर्माण, बजेट व्यवस्थापन, कार्यान्वयन, अनुगमन, मूल्याङ्कन र प्रतिवेदनसम्मका सबै चरणमा अपाङ्गता समावेशी दृष्टिकोण अपनाउनुपर्ने विषयमा अन्तरक्रिया गरिएको थियो।
त्यसैगरी, कार्यक्रम तथा बैठक आयोजना गर्दा स्थानको पहुँचयोग्यता, अपाङ्गता सम्बन्धी तथ्याङ्क, पहुँचयुक्त सामग्री, सांकेतिक भाषा दोभाषे, व्यक्तिगत सहयोगी, यातायात सहयोग तथा अन्य आवश्यक सहायक सेवाका लागि बजेट व्यवस्थापन गर्नुपर्ने विषयमा जानकारी गराइएको थियो।
अन्तरक्रियामा स्थानीय सरकार, विद्यालय, विद्यालय व्यवस्थापन समिति, अभिभावक, समुदाय, CSOs/OPDs तथा अन्य सरोकारवालाले आ–आफ्नो तहबाट GEDSI, DID तथा समावेशी शिक्षालाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमले धोविनी गाउँपालिकामा ‘कसैलाई पनि पछाडि नपार्ने (Leave No One Behind)’ अवधारणालाई स्थानीय योजना, बजेट, शिक्षा तथा सेवा प्रवाहमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरोकारवालाबीच साझा बुझाइ विकास गर्न सहयोग पुगेको आयोजकले जनाएको छ।

