रक्सौल, पूर्वी चम्पारण २५ भदाै । प्रकृतिले मानिसलाई जीवन दिएको छ, स्रोत–साधन दिएको छ र सुरक्षित रूपमा बाँच्नका लागि पृथ्वीमा एउटा सुन्दर सन्तुलन पनि कायम गरेको छ। तर विकास र आधुनिक सुविधाको अन्धो दौडमा मानिसले यही प्रकृतिको निरन्तर दोहन गर्दै आएको छ। आज प्रकृतिको बदलिँदो स्वरूपले हामीलाई चेतावनी दिइरहेको छ कि समयमै आफ्नो जीवनशैली र विकासको दिशाबारे विचार नगर्ने हो भने आउने समय निकै भयावह हुन सक्छ।
वर्तमानमा नेपालको परिस्थितिलाई नै हेर्ने हो भने हिमालय, जुन शताब्दीयौँदेखि आफ्नो विशालता र स्थिरताका लागि परिचित रहँदै आएको छ, आज जलवायु परिवर्तन र बढ्दो मानवीय गतिविधिको दबाबबाट प्रभावित भइरहेको छ।
हिमनदीहरू तीव्र गतिमा पग्लनु केवल हिमाली क्षेत्रका लागि चिन्ताको विषय होइन, यसले नदी, जलस्रोत तथा करोडौँ मानिसको भविष्यमा समेत गम्भीर प्रभाव पार्न सक्छ।
उक्त विचार लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२२ ई, जोन ४१ का जोन चेयरपर्सन सह डिस्ट्रिक्ट चेयरपर्सन एवं भारत विकास परिषद्, रक्सौलका सेवा संयोजक सह मिडिया प्रभारी तथा सामाजिक अभियन्ता बिमल सर्राफले प्रेससँग साझा गर्नुभयो।
अर्कोतर्फ, नदीका प्राकृतिक बहाव क्षेत्र तथा किनारमा तीव्र गतिमा बढिरहेका बस्तीहरूले भविष्यको जोखिमलाई अझ बढाइरहेका छन्। नदी आफ्नो प्राकृतिक मार्गबाट बग्दा जीवनदायिनी हुन्छ, तर यसको मार्गमा अतिक्रमण र अव्यवस्थित निर्माण गरिँदा त्यही नदी विनाशको कारण बन्न सक्छ। बाढी र पहिरोजस्ता प्राकृतिक विपत्तिको प्रभाव यस्ता क्षेत्रमा धेरै गुणा बढ्ने गर्दछ।
पहाडको अनियन्त्रित दोहन पनि गम्भीर चिन्ताको विषय हो। सडक, भवन तथा अन्य निर्माणका नाममा पहाड काट्नु, वन विनाश गर्नु र प्राकृतिक संरचनामाथि हस्तक्षेप गर्नुले पहाडको संवेदनशीलता बढाइरहेको छ। पहाड केवल ढुङ्गाको थुप्रो होइनन्; ती जल, जंगल, जैविक विविधता तथा समग्र पारिस्थितिक प्रणालीका आधार हुन्।
प्रश्न विकास हुनुपर्छ कि पर्दैन भन्ने होइन। विकास आवश्यक छ, तर विकासको मूल्य प्रकृतिको विनाश हुन सक्दैन। हामीलाई यस्तो विकास चाहिन्छ, जसले सडक र भवनसँगै जंगल पनि जोगाओस्, रोजगारीसँगै वातावरणको संरक्षण गरोस् र वर्तमानका आवश्यकता पूरा गर्दै भावी पुस्ताको अधिकारको समेत सम्मान गरोस्।
प्रकृतिले पटक–पटक संकेत दिइरहेको छ। बदलिँदो मौसम, असामान्य वर्षा, बाढी, पहिरो, हिमनदी पग्लनु तथा जलस्रोतमा आएको परिवर्तनले हामीलाई सोच्न बाध्य बनाइरहेको छ— आखिर हामी कुन दिशातर्फ अघि बढिरहेका छौँ ?
यदि आज पनि हामीले प्रकृतिको आवाजलाई बेवास्ता गरिरह्यौँ भने भावी पुस्ताले हामीसँग अवश्य प्रश्न गर्नेछ— जब जोखिमका संकेतहरू स्पष्ट रूपमा देखिइरहेका थिए, तब हामीले आफ्नो विकासको परिभाषा किन परिवर्तन गरेनौँ ?
प्रकृतिमाथि अधिकार जमाउने होइन, प्रकृतिसँग सन्तुलन कायम गरेर अघि बढ्नु आवश्यक छ। किनकि प्रकृति सुरक्षित रह्यो भने मात्र मानव सभ्यता सुरक्षित रहनेछ।




