पर्सागढी, १७ असोज । पर्सागढी युवा शक्ति क्लबको आयोजनामा पर्सागढी नगरपालिका–४ का विभिन्न गाउँमा जनसेवा अभियानअन्तर्गत सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गरिएको छ।
विगत सात वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको जनसेवा अभियानअन्तर्गत हर्दासपुर, छोटैली, बकनेरवा तथा धनुका हर्दासपुरलगायतका गाउँमा कार्यक्रम गरिएको हो। स्थानीय युवाहरूको पहलमा गठन भएको पर्सागढी युवा शक्ति क्लबले समुदायमा सामाजिक सेवा र जनचेतनामूलक गतिविधिलाई प्राथमिकता दिँदै अभियान सञ्चालन गरेको जनाएको छ।
कार्यक्रममा विशेषगरी अपाङ्गता भएका व्यक्ति तथा एकल महिलालाई लक्षित गरी लामखुट्टेको झुल वितरण गरिएको थियो। डेंगूको जोखिमलाई ध्यानमा राख्दै लामखुट्टेको टोकाइबाट बच्ने उपाय तथा अपनाउनुपर्ने सावधानीबारे सहभागीलाई जानकारी गराइएको थियो।
त्यसैगरी स्थानीयको सामान्य स्वास्थ्य परीक्षण गर्नुका साथै प्राथमिक उपचारसम्बन्धी आधारभूत जानकारीसमेत प्रदान गरिएको थियो। आकस्मिक अवस्थामा प्रारम्भिक रूपमा अपनाउन सकिने सावधानी तथा प्राथमिक उपचारका उपायबारे सहभागीलाई सचेत गराइएको आयोजकले जनाएको छ।
क्लबका अध्यक्ष प्रेम मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामाजिक अभियन्ता, युवा तथा स्थानीय नागरिकको सहभागिता रहेको थियो। कार्यक्रममा डा. चन्द्रभूषण सिंह, शान्ति पौडेल, रवि शंकर चौधरी, जोखु मियाँ, अलोक सिंह, फिरोज मियाँ, रौनक सिंह, सर्फू आलम, केदार ठाकुर, बिर्जु चौधरी, बालेश्वर चौधरी, हरिचन्द्र महतोलगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागी सामाजिक अभियन्ताहरूले सामाजिक सेवा कुनै एक व्यक्ति वा संस्थाको मात्र नभई समुदायको साझा दायित्व भएको बताएका थिए। समाजका आर्थिक तथा सामाजिक रूपमा कमजोर वर्गलाई लक्षित गरी स्वास्थ्य, शिक्षा, सरसफाइ तथा सामाजिक सुरक्षासम्बन्धी कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा उनीहरूले जोड दिएका थिए।
क्लबका आयोजकहरूका अनुसार जनसेवा अभियानलाई राहत तथा सहयोग वितरणमा मात्र सीमित नराखी समुदायमा सेवाको संस्कार विकास गर्ने र नागरिकका वास्तविक आवश्यकता पहिचान गरी सहयोग पुर्याउने उद्देश्य राखिएको छ। अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने क्लबले जनाएको छ।

