वीरगंज, १९ कार्तिक । वीरगंजस्थित नवदीप एकेडेमीका कक्षा ८ मा अध्ययनरत तीन छात्राले तिहार विशेष अवसरमा आयोजित रंगोली प्रतियोगितामा प्रथम स्थान हासिल गरेका छन्।
प्रतियोगितामा विद्यालयका विद्यार्थी फलक हवारी, आरुशी पटेल र अनु पण्डितले उत्कृष्ट रंगोली प्रस्तुत गर्दै प्रथम स्थान प्राप्त गर्न सफल भएका हुन्।
आफ्नो कलात्मक सिर्जना, आकर्षक रङहरूको संयोजन, नवीन सोच तथा उत्कृष्ट सामूहिक सहकार्यका माध्यमबाट तीनै जना विद्यार्थीले आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए। उनीहरूको सिर्जनात्मक प्रस्तुतिले तिहारको उत्सवलाई थप विशेष बनाउनुका साथै विद्यालयको गौरव बढाएको छ।
विद्यालयकी प्रिन्सिपल सुशीला साहको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूको कला, सिर्जनशीलता र प्रतिभाको प्रशंसा गरिएको थियो। यस उपलब्धिले विद्यार्थीहरूमा कल्पनाशक्ति, सामूहिक भावना, मेहनत र सिर्जनात्मक क्षमताको महत्त्व झल्काएको विद्यालयले जनाएको छ।
विद्यार्थीहरूको यस सफलताप्रति विद्यालय परिवारले खुसी व्यक्त गर्दै फलक हवारी, आरुशी पटेल र अनु पण्डितलाई हार्दिक बधाई तथा आगामी दिनमा अझ उत्कृष्ट सफलता हासिल गर्न शुभकामना व्यक्त गरेको छ।
वीरगंज महानगरपालिका–१५ स्थित नवदीप एकेडेमीले ‘गुडनेस बिफोर ग्रेटनेस’ भन्ने मूल मान्यताका साथ विद्यार्थीहरूको शैक्षिक विकाससँगै कला, संस्कृति र अतिरिक्त क्रियाकलापमा समेत विशेष जोड दिँदै आएको छ।

