वीरगंज, १९ कार्तिक । जेनजी पर्साको आयोजनामा शुभ दीपावली तथा छठ पर्वको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सहभागीहरूले चाडपर्वले समाजमा आपसी आत्मीयता, सद्भाव, एकता र अपनत्वको भावना अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिएका छन्।
जेनजी पर्साका संयोजक विशेष साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरी,काङ्ग्रेसका युवा नेता कंचन झा, कञ्चनजङ्घा स्कुलका निर्देशक माटिन मोक्तानलगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले दीपावली तथा छठजस्ता सांस्कृतिक पर्वहरू केवल व्यक्तिगत र पारिवारिक खुसी मनाउने अवसर मात्र नभई समाजमा प्रेम, सद्भाव, सहयोग र मानवीय संवेदना अभिवृद्धि गर्ने महत्वपूर्ण अवसर भएको धारणा व्यक्त गरेका थिए।
कार्यक्रममार्फत जेनजी पर्साले चाडपर्वको खुसी आफ्नै घरपरिवार र आफन्तमा मात्र सीमित नराखी छिमेकी, समाज तथा दुःख र पीडामा रहेका परिवारहरूसम्म पुर्याउनुपर्ने सन्देश दिएको छ।
विशेषगरी जेनजी आन्दोलनका क्रममा प्रभावित भई परिवारका सदस्य गुमाएका तथा रसुवामा आएको बाढीबाट प्रभावित भएर आफन्त गुमाएका, एक्लिएका र पीडामा रहेका परिवारलाई समेत चाडपर्वको खुसीमा सहभागी गराउनुपर्नेमा जोड दिइएको थियो।
कार्यक्रममा व्यक्त विचारअनुसार परिवर्तनको आवाज उठाउने पुस्ताले प्रश्न र विरोधमा मात्र सीमित नभई आवश्यक परेको समयमा समाजका पीडित, असहाय तथा प्रभावित नागरिकलाई सहयोगको हात पनि बढाउन सक्नुपर्छ। परिवर्तनको वास्तविक अर्थ समाजमा सकारात्मक योगदान पुर्याउनु र दुःखमा परेकाहरूसँगै उभिनु पनि भएको धारणा व्यक्त गरिएको थियो।
त्यसैगरी, चाडपर्वको उज्यालो आफ्नै घरआँगनमा मात्र सीमित नराखी छिमेकीको ढोकासम्म पुर्याउनुपर्ने र विशेष परिस्थितिका कारण सुनसान बनेका परिवारका आँगनमा समेत खुसी, आशा र आत्मीयताको अनुभूति गराउनुपर्ने सन्देश कार्यक्रमले दिएको छ।
कार्यक्रमको अन्त्यमा आयोजक जेनजी पर्साले कार्यक्रममा उपस्थित भई साथ, सहयोग र सद्भाव व्यक्त गर्ने प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरी, कञ्चनजङ्घा स्कुलका निर्देशक माटिन मोक्तानलगायत सम्पूर्ण सहभागीप्रति हार्दिक आभार व्यक्त गरेको थियो।
साथै, आयोजकले सम्पूर्ण जिल्लावासी तथा देशवासीमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव र एकताको कामनासहित दीपावली तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ।

