वीरगंज, २८ कार्तिक । छठ पर्वलाई स्वच्छ, सुरक्षित तथा व्यवस्थित रूपमा सम्पन्न गराउने उद्देश्यले पर्सा जिल्लाका सुरक्षा निकाय, वीरगंज उद्योग वाणिज्य संघ तथा वीरगंज महानगरपालिकासहितको संयुक्त टोलीले सिर्सिया नदी र आसपासका क्षेत्रको अनुगमन गरेको छ।
अनुगमनका क्रममा जगन्नाथपुर क्षेत्रबाट गण्डक नहरको पानी ल्याएर सिर्सिया नदीमा जम्मा गर्ने तयारी गरिएको जानकारी दिइएको छ। छठ पर्वमा व्रतालु तथा श्रद्धालु भक्तजनलाई पूजा गर्न सहज होस् भन्ने उद्देश्यले आजैसम्म सिर्सिया नदीमा पानी भरिसक्ने तयारी पूरा भएको सम्बन्धित पक्षले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी (सीडीओ) भोला दाहालको नेतृत्वमा संयुक्त अनुगमन टोलीले नदीको अवस्था, सरसफाइ, पानीको उपलब्धता तथा छठ पर्वका लागि आवश्यक व्यवस्थापनबारे स्थलगत निरीक्षण गरेको थियो।
अनुगमन टोलीमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराई, सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) मोहनबहादुर क्षेत्री, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमलगायत सुरक्षा निकाय तथा सम्बन्धित निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
टोलीले छठ पर्वका अवसरमा सिर्सिया नदीमा ठूलो संख्यामा श्रद्धालु भक्तजन तथा व्रतालुहरू पूजा गर्न आउने भएकाले नदीको सरसफाइ, स्वच्छ पानीको व्यवस्थापन, सुरक्षा तथा अन्य आवश्यक पूर्वाधारमा विशेष ध्यान दिनुपर्ने विषयमा छलफलसमेत गरेको थियो।
छठ पर्वलाई लक्षित गरी नदीमा पानीको उचित व्यवस्थापन गर्नुका साथै घाट क्षेत्रमा सरसफाइ, सुरक्षा निगरानी र भक्तजनको सुविधालाई प्राथमिकतामा राखेर काम अघि बढाइएको जनाइएको छ।
छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिन सिर्सिया नदी तथा विभिन्न जलाशयमा श्रद्धालुहरूको ठूलो भीड लाग्ने गर्दछ। त्यसैले पर्वलाई व्यवस्थित, सुरक्षित र स्वच्छ वातावरणमा सम्पन्न गराउन स्थानीय प्रशासन, सुरक्षा निकाय, महानगरपालिका तथा निजी क्षेत्रबीच समन्वय गरेर तयारीलाई तीव्रता दिइएको छ।

