सही खबर, सही समयमा

वीरगंज तेक्वान्दो दोजाङका अफताब आलम चीनमा हुने विश्व तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुने

ई-दैनिक जागरण
२०८२ कार्तिक ४, मंगलवार १९:३७

अभिलाष गुप्ता

वीरगंज, ४ कार्तिक । वीरगंज तेक्वान्दो दोजाङका उत्कृष्ट खेलाडी अफताब आलम (५४ केजी) ले आगामी विश्व तेक्वान्दो च्याम्पियनसिप (G14) मा सहभागी हुन लागेका छन्। उक्त प्रतियोगिता अक्टोबर २४ देखि ३० सम्म चीनको उक्सी (Wuxi) सहरमा आयोजना हुँदैछ। अफताबले यस प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा प्रदर्शन गर्न लागेका हुन्।

उनीसँगै नेपाल तेक्वान्दो संघले अन्य खेलाडी र प्रशिक्षकहरुलाई समेत प्रतियोगितामा सहभागी हुनका लागि बिदाइ गरेको छ।संघका अनुसार पुरुष खेलाडीहरुमा सुमित विष्ट (–५८ केजी), आशिष भण्डारी (–७४ केजी), अफ्ताब आलम (–५४ केजी), सुगन श्रेष्ठ (–६८ केजी), अरुण टमाटा (–६३ केजी) र अभिषेक बराल (–८० केजी) रहेका छन् भने महिला खेलाडीहरुमा सन्तोषी राई (–४६ केजी) र ईशा महतो (–४९ केजी) सहभागी हुँदैछन्।
प्रशिक्षकको रूपमा सयद हसन रेजा टोलीसँग रहेका छन्।

विश्व च्याम्पियनसिपपछि खेलाडीहरु नोभेम्बर २ देखि ४ सम्म चीनमा नै सञ्चालन हुने “विश्व तेक्वान्दो ग्रान्ड स्ल्याम च्यालेन्ज (G2)” प्रतियोगितामा समेत सहभागी हुनेछन्।

वीरगंज तेक्वान्दो दोजाङका गुरु महमद सकिलले अफताब आलमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै भने हामी सबैलाई गर्व छ कि अफताब आलम जस्तो प्रतिभाशाली खेलाडीले हाम्रो दोजाङ र देशको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय स्तरमा कदम राख्दैछन्। उहाँको यात्रा सफल होस्, उत्कृष्ट प्रदर्शन होस् र नेपालको नाम उज्जवल पार्नुहोस भन्ने हाम्रो शुभकामना छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?