लाइसेन्समा सफलता हासिल गर्ने विद्यार्थी र शिक्षकलाई सक्सेस इन्स्टिच्युटद्वारा सम्मान
अभिलाष गुप्ता
वीरगंज, ६ पुस । सक्सेस इन्स्टिच्युट, वीरगंज–पर्साको आयोजनामा लाइसेन्स परीक्षामा उत्तीर्ण विद्यार्थी तथा शिक्षकहरूलाई सम्मान गर्ने कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
शैक्षिक उपलब्धि हासिल गर्ने प्रतिभालाई कदर गर्ने उद्देश्यले आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा आलोक कुमार कर्णको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रशिक्षकहरू प्रमनन्द यादव, अमित कुमार शाह र अमर राज सुनवारको विशेष सहभागिता रहेको थियो भने कार्यक्रम सञ्चालन बृजेश कुमार पटेलले गर्नुभएको थियो ।

सम्मान कार्यक्रममा सक्सेस इन्स्टिच्युटबाट अध्ययन गरी विभिन्न लाइसेन्स परीक्षामा सफलता हासिल गरेका तथा शैक्षिक क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेका ७५ जना विद्यार्थीहरूलाई प्रमाण पत्र तथा सम्मान–पत्र प्रदान गरी सम्मान गरिएको थियो ।
सम्मानित विद्यार्थीहरूको मेहनत, अनुशासन र निरन्तर अभ्यासको प्रशंसा गर्दै उनीहरूको उज्ज्वल भविष्यको कामना गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि आलोक कुमार कर्णले शिक्षा नै सफलता प्राप्त गर्ने सबैभन्दा बलियो आधार भएको उल्लेख गर्नुभयो ।
उहाँले सक्सेस इन्स्टिच्युटले गुणस्तरीय शिक्षा प्रदानगर्दै विद्यार्थीहरूको भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुर्याइरहेको बताउनु भयो । साथै शिक्षकहरूको समर्पण र विद्यार्थीहरूको लगनशीलताले यस्ता उल्लेखनीय उपलब्धि सम्भव भएको धारणा व्यक्त गर्नुभयो ।
प्रशिक्षकहरूले लाइसेन्स परीक्षामा सफलता प्राप्त गर्नु व्यक्तिगत उपलब्धि मात्र नभई समाज र राष्ट्रका लागि समेत गर्वको विषय भएको बताउँदै विद्यार्थीहरूलाई अझ उच्च लक्ष्यसहित इमान्दारी, अनुशासन र आत्मविश्वासका साथ अघि बढ्न प्रेरित गरे ।
कार्यक्रमको अन्त्यमा संस्थाका प्रतिनिधिहरूले सक्सेस इन्स्टिच्युटले आगामी दिनहरूमा पनि यस्ता प्रेरणादायी कार्यक्रमहरू निरन्तर आयोजना गर्दै शिक्षा क्षेत्र र दक्ष जनशक्ति उत्पादनमा सक्रिय योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?




