सही खबर, सही समयमा

वीरगंज महानगरपालिकाद्वारा एसियाली कुस्ती च्याम्पियनसिपका खेलाडीहरू सम्मानित

ई-दैनिक जागरण
२०८२ पुष १२, शनिबार १९:४४

अभिलाष गुप्ता

वीरगंज, १२ पुष । इरानको उरमिया सहरमा सम्पन्न ७ औँ एसियाली कुस्ती च्याम्पियनसिप २०२५ मा सहभागिता जनाई वीरगंज फर्किएका कुस्ती खेलाडीहरूलाई वीरगंज महानगरपालिकाले सम्मान गरेको छ ।

महानगरपालिकाका मेयर राजेशमान सिंहले आज आफ्नै कार्यकक्षमा आयोजित कार्यक्रममा प्रतियोगितामा सहभागी ४ जना खेलाडी—कुन्दन साह, सुजित यादव, निखिल पटेल र राम किशोर यादवलाई गम्छा तथा मायाको चिनो प्रदान गर्दै सम्मान गरे । साथै, च्याम्पियन सिपमा सहभागी अन्य ११ जना कुस्ती खेलाडीहरूलाई ट्र्याक सुट प्रदान गरी सम्मान गरिएको थियो ।कार्यक्रममा मेयर सिंहले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाई देश तथा वीरगंजको नाम चिनाउन सफल खेलाडीहरूको प्रशंसा गर्दै खेलकुद विकासका लागि महानगरपालिका सधैं साथमा रहने प्रतिबद्धता व्यक्त गरे । उनले खेलाडीहरूलाई आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शनका लागि निरन्तर अभ्यास र अनुशासनमा ध्यान दिन आग्रहसमेत गरे ।

सम्मानित खेलाडीहरूले महानगरपालिकाबाट प्राप्त सम्मानले आफूहरूलाई थप हौसला र प्रेरणा मिलेको प्रतिक्रिया व्यक्त गरेका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?