सही खबर, सही समयमा

साउथ जोन माध्यमिक विद्यालयको १७औँ स्थापना दिवसमा जुनियर खेलकुद उत्सव, ८०० विद्यार्थीको उत्साहपूर्ण सहभागिता

ई-दैनिक जागरण
२०८२ माघ २०, मंगलवार २०:०६

अभिलाष गुप्ता

वीरगंज, २० माघ । वीरगंज महानगरपालिका वडा नं. १३ राधे माईस्थित साउथ जोन माध्यमिक विद्यालयको १७ औँ स्थापना दिवसको अवसरमा आयोजना गरिएको सप्ताव्यापी कार्यक्रम अन्तर्गत मङ्गलबार नर्सरीदेखि कक्षा २ सम्मका विद्यार्थीहरूका लागि जुनियर खेलकुद कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।

विद्यालयका सञ्चालक तथा प्रिन्सिपल सरोज प्रसाद चौधरीको सभापतित्व तथा वडा नं. १३ का वडा अध्यक्ष हिरागिरीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। प्रमुख अतिथि गिरीले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभएको थियो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै वडा अध्यक्ष गिरीले साउ जोन माध्यमिक विद्यालयले छोटो समयमै अभिभावकहरूको विश्वास जित्न सफल भएको उल्लेख गर्नुभयो। उहाँले विद्यालय प्रशासन, शिक्षक–शिक्षिका तथा व्यवस्थापन पक्षको समर्पण र सहकार्यको प्रशंसा गर्दै गुणस्तरीय शिक्षा र नियमित अतिरिक्त क्रियाकलापका कारण विद्यालय पर्सा जिल्लाका उत्कृष्ट विद्यालयहरूमध्ये पर्न सफल भएको बताउनुभयो।

सप्ताव्यापी कार्यक्रमको पहिलो दिन आयोजित जुनियर खेलकुद कार्यक्रममा करिब ८०० जना विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। विभिन्न खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त विद्यार्थीहरूलाई प्रमाणपत्र र मेडल प्रदान गरी सम्मान गरिएको विद्यालयले जनाएको छ। यस अवसरमा कुल ५५ वटा मेडल वितरण गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रिन्सिपल सरोज प्रसाद चौधरीले विद्यालयको १७ वर्षे यात्रा निरन्तर प्रयास, अनुशासन र सामूहिक सफलताको परिणाम भएको बताउनुभयो। उहाँले यस सफलतामा शिक्षक–शिक्षिका, भाइस प्रिन्सिपल, कर्मचारी तथा अभिभावकहरूको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्नुभयो। विद्यालयले शैक्षिक गुणस्तरसँगै अनुशासन, सिर्जनशीलता र व्यक्तित्व विकासलाई प्राथमिकतामा राख्दै खेलकुद, सिर्जनात्मक तथा सांस्कृतिक गतिविधिहरू नियमित रूपमा सञ्चालन गर्दै आएको उहाँको भनाइ थियो।

त्यसैगरी, भाइस प्रिन्सिपल अशोक संग्रौलाले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि पाठ्यपुस्तकको ज्ञान मात्र पर्याप्त नहुने बताउनुभयो। सानै उमेरदेखि विद्यार्थीभित्र लुकेका प्रतिभा पहिचान गरी विकास गर्न यस्ता कार्यक्रम आवश्यक रहेको उहाँको धारणा थियो। विद्यालय विद्यार्थीहरूलाई आत्मविश्वासी, अनुशासित र सक्षम नागरिक बनाउन प्रतिबद्ध रहेको उहाँले जोड दिनुभयो।

विद्यालयले आगामी दिनमा थप आधुनिक तथा प्राविधिक शिक्षण पद्धति अवलम्बन गर्दै विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्ने लक्ष्य लिएको जनाएको छ। सप्ताव्यापी स्थापना दिवस कार्यक्रम अन्तर्गत आगामी दिनहरूमा विभिन्न शैक्षिक, सांस्कृतिक तथा सिर्जनात्मक गतिविधिहरू आयोजना गरिने विद्यालय प्रशासनले जानकारी दिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?