सही खबर, सही समयमा

जसपा नेपालका नेतालाई एमाले प्रवेश गराउँदै पूर्वमन्त्री यादवले भने :कांग्रेस ‘लास र दासको पार्टी’ हो

ई-दैनिक जागरण
२०८२ फाल्गुन ९, शनिबार १४:४१

वीरगंज, ०९ फागुन । वीरगंज महानगरपालिका – ७ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपालका स्थानीय नेता तथा वडाध्यक्षका प्रत्याशी दीपक महतोले नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन् ।

उनीसँगै स्थानीय नेता शिवजी गुप्ता, महिला नेतृ सुनिता देवी, नेपाली काँग्रेसका नेता सियाराम नेपाली लगायत सयौं स्थानीयहरूले विभिन्न राजनीतिक दल त्यागेर एमालेमा सामेल भएका छन् ।नवप्रवेशीहरूलाई नेकपा (एमाले) का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप यादवले फूलमाला र गम्छा लगाएर स्वागत गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै यादवले दीपक महतो र शिवजी गुप्ता जस्ता नेताहरूको प्रवेशले वीरगञ्ज वडा नम्बर ७ मा एमालेको स्थिति थप मजबुत भएको बताए । उनले भने, “यो प्रवेशले हाम्रो पार्टीको आधार लाई थप सशक्त बनाएको छ ।”यादवले कार्यक्रममा बोल्दै आगामी निर्वाचनलाई ‘देश जलाउने र देश जोगाउने बीचको प्रतिस्पर्धा’ को रूपमा व्याख्या गरे । उनले राष्ट्रियता, संघीयता र अखण्डताको रक्षा गर्न एमालेलाई मतदान गर्न स्थानीयहरूलाई आग्रह गरे ।

“देश जलिरहेको बेला सबै लुकेर बस्दा देश र जनताको पक्षमा बोल्ने पहिलो व्यक्ति एमाले अध्यक्ष केपी शर्मा ओली हुनुहुन्छ,” यादवले भने । उनले ओली जस्ता नेताको आवश्यकता रहेको दाबी गर्दै ओली भावी प्रधानमन्त्री बने मात्र वैदेशिक हस्तक्षेप रोकिने बताए ।यादवले नेपाली काँग्रेसप्रति कडा टिप्पणी गर्दै काँग्रेसलाई ‘दास र लासको पार्टी’ को संज्ञा दिए । “काँग्रेसले आफूलाई नयाँ भनेर प्रचार गरिरहे पनि वास्तवमा यो पटक–पटक निर्वाचन लड्ने व्यक्तिहरू लाई टिकट दिएर आफ्नो चरित्र प्रमाणित गरेको छ,” उनले भने ।

पर्सा क्षेत्र नम्बर १ का काँग्रेस उम्मेदवारलाई “व्यवसायी पृष्ठभूमिबाट आएका व्यक्ति” भन्दै यादवले उनको राजनीतिक योगदान र समाजसेवामा प्रश्न उठाए । “पाँच वर्षसम्म आफ्नो व्यवसायमा व्यस्त रहने अनि निर्वाचनको बेला मत माग्न आउने गर्छन् । अब उनि मत माग्न आए पाँच वर्षसम्म उनि कहाँ थिए भनेर प्रश्न गर्नुहोला,” यादवले भने ।

यसअघि पर्सा – १ बाट सांसद निर्वाचित भएर आफूले गरेको विकास निर्माण र परोपकारी कामहरूको विषयमा जानकारी गराउँदै पूर्व मन्त्री समेत रहेका यादवले काम गर्ने नेतालाई छान्न आग्रह गरे ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?