सही खबर, सही समयमा

प्याब्सनकेन्द्रीय कार्यसमितिद्वारा पर्सा जिल्ला कार्यसमितिलाई सम्मान,उत्कृष्ट योगदानको उच्च मूल्याङ्कन

ई-दैनिक जागरण
२०८२ चैत्र ४, बुधबार २१:४०

वीरगंज, ०४ चैत्र । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) केन्द्रीय कार्यसमितिले मधेश प्रदेश अन्तर्गत पर्सा जिल्ला कार्यसमितिलाई संगठनको नीति, निर्णय तथा निर्देशनहरूको पूर्ण पालना गर्दै जिम्मेवार र सक्रिय भूमिका निर्वाह गरेकोमा सम्मान तथा प्रशंसा गरेको छ।

प्याब्सनले शिक्षा क्षेत्रको गुणस्तरीय विकास, संस्थागत विद्यालयहरूको हकहित संरक्षण तथा संगठनको संस्थागत सुदृढीकरणमा पर्सा कार्यसमितिले खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै प्रशंसा पत्र प्रदान गरेको जनाएको छ। केन्द्रीय कार्यसमितिका अनुसार, पर्सा जिल्ला कार्यसमितिले संगठनको मर्यादा उच्च राख्न महत्त्वपूर्ण योगदान पुर्‍याएको छ।

सोही अवसरमा प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीलाई विशेष सम्मान पत्र प्रदान गरिएको थियो। उहाँको नेतृत्वमा गरिएको समन्वय, सक्रियता र प्रतिबद्धताले संगठनलाई थप मजबुत बनाएको उल्लेख गरिएको छ।

प्याब्सन केन्द्रीय कार्यसमितिका अध्यक्ष कृष्ण प्रसाद अधिकारी, महासचिव आरबि कटवाल तथा संयोजक सह-अध्यक्ष गोपाल प्रसाद आचार्यले संयुक्त रूपमा उक्त प्रशंसा पत्र प्रदान गर्दै आगामी दिनमा पनि यस्तै सक्रियता, सहकार्य र प्रतिबद्धताका साथ संगठनलाई अझ उच्च शिखरमा पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

उत्कृष्ट योगदानको कदर स्वरूप प्रदान गरिएको उक्त सम्मानले पर्सा जिल्ला कार्यसमितिलाई थप ऊर्जा र प्रेरणा मिल्ने विश्वास गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?