सही खबर, सही समयमा

भक्ति र साहसको संगम: वीरगंजका यश सराफको केदारनाथसम्म साइकल यात्रा सुरु

ई-दैनिक जागरण
२०८२ चैत्र १३, शुक्रबार २०:५०

अभिलाष गुप्ता

वीरगंज, १३ चैत्र ।  नेपाल–भारत सम्बन्ध विस्तार, सनातन हिन्दु धर्मको प्रचार तथा नेपाललाई हिन्दु राष्ट्र बनाउने महाअभियानका साथ वीरगन्जका एक युवाले भारतको उत्तराखण्डस्थित केदारनाथसम्म साइकल यात्रा सुरु गरेका छन्।

वीरगंज महानगरपालिका–३ छपकैया निवासी यश सराफलाई शुक्रबार बिहान नेपाल–भारत सीमास्थित मितेरी पुलबाट भव्य बिदाइ गरिएको छ।

विश्व हिन्दु परिषद् नेपाल, वीरगंज महानगर समितिका प्रमुख ज्योति रुङ्गटा, उपाध्यक्ष अमित टिवडेवाल, सेवा प्रमुख अनुज गुप्ता, सोनु गुप्ता तथा बन्दना शर्मा लगायतले खादा र माला लगाई सफल यात्राको शुभकामना दिँदै बिदाइ गरेका हुन्।

सराफका अनुसार करिब एक महिनासम्म चल्ने यस यात्रामा उनले झण्डै १४ सय किलोमिटर दूरी पार गर्ने लक्ष्य राखेका छन्। उनी वीरगंजका ‘गौ रक्षा प्रमुख’ समेत हुन् । यात्राका क्रममा आइपर्ने आपतकालीन अवस्थाको व्यवस्थापनका लागि भारतका विभिन्न संघ–संस्थासँग समन्वय गरिएको सराफले जानकारी दिएका छन्।

धार्मिक पर्यटनको प्रवर्द्धन गर्दै नेपाल–भारतबीचको ‘रोटी–बेटी’ सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले सुरु गरिएको यस साहसिक यात्राको वीरगन्जबासीले प्रशंसा गरेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?