वीरगंज, २१ भदाै । पर्साको जिराभवानी गाउँपालिकाले बाढीबाट प्रभावित नागरिकलाई राहत, उद्धार तथा पुनर्निर्माणका लागि विभिन्न शीर्षकमा आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
गाउँ कार्यपालिकाको बैठकले रसुवा, नुवाकोटलगायतका जिल्लामा आएको भीषण बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्मा ज्यान गुमाउने नेपाली तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ।
बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा व्यवस्थापन र पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले गाउँपालिकाले विभिन्न निर्णय गरेको हो।
निर्णयअनुसार गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट ५ लाख ५५ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ। त्यस्तै, गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिहरूलाई एक महिनाको सुविधा बराबरको रकम आर्थिक सहयोग गर्न आग्रह गर्ने निर्णय गरिएको छ।
गाउँपालिकाका स्थायी कर्मचारीको हकमा नेपाल सरकारको निर्णयबमोजिम आर्थिक सहयोग गर्ने तथा कार्यालयमा कार्यरत करार कर्मचारीमध्ये अधिकृतस्तरको सुरु तलब स्केलको पाँच बराबर र सहायक तथा श्रेणीविहीन कर्मचारीहरूको तीन दिन बराबरको रकम कट्टा गरी आर्थिक सहयोग गर्ने निर्णय गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।
गाउँपालिका अध्यक्ष अनोज चौधरीद्वारा जारी विज्ञप्तिमा विपद्बाट प्रभावित नागरिकको शीघ्र उद्धार, राहत, स्वास्थ्य लाभ तथा पुनर्निर्माणका लागि गाउँपालिका प्रतिबद्ध रहेको जनाइएको छ।

