बिहारका २५ शिक्षक सम्मानित
पटना, ६ सेप्टेम्बर भदाै २१ । शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने शिक्षकहरूलाई सम्मान गर्ने उद्देश्यले पटानाको जेडी वुमेन्स कलेजमा आइतबार ‘गुरु शिक्षा सम्मान–२०२६’ समारोह भव्य रूपमा सम्पन्न भएको छ।
ईडीसी, बिहारको आयोजनामा भएको समारोहमा शिक्षा क्षेत्रमा उत्कृष्ट कार्य, समर्पण र अतुलनीय योगदान पुर्याएका बिहारका २५ जना शिक्षकलाई सम्मान गरिएको हो।
समारोहको अध्यक्षता पाटलिपुत्र विश्वविद्यालयका कुलपति प्रो. उपेन्द्र प्रसाद सिंहले गर्नुभएको थियो भने बिहार विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रो. गिरीश कुमार चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। बिहार सरकारका शिक्षा निर्देशक प्रो. एन.के. अग्रवाल विशिष्ट अतिथि तथा विशेष वक्ताका रूपमा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रमका संयोजक तथा ईडीसीका अध्यक्ष प्रो. कमल प्रसाद बौद्धले अतिथि तथा सम्मानित शिक्षकहरूलाई स्वागत गर्नुभएको थियो। कार्यक्रममा जेडी वुमेन्स कलेजकी प्राचार्य डा. मीरा कुमारी, ईडीसीका महासचिव प्रो. एस.के. श्रीवास्तव, विभागाध्यक्ष, डिन, शिक्षाविद्, बुद्धिजीवी, शिक्षाप्रेमी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
गुरुको भूमिका महत्वपूर्ण

समारोहलाई सम्बोधन गर्दै वक्ताहरूले गुरुको भूमिका तथा वर्तमान शिक्षा प्रणालीको अवस्थाबारे चर्चा गरेका थिए। उनीहरूले शिक्षक विद्यार्थीलाई विषयगत ज्ञान दिने व्यक्ति मात्र नभई व्यक्तित्व, संस्कार र चरित्र निर्माणका मार्गदर्शकसमेत भएको बताए।
बदलिँदो समय तथा प्रविधिको युगमा शिक्षाका क्षेत्रमा नयाँ चुनौतीहरू थपिए पनि शिक्षकको भूमिका अझै महत्वपूर्ण रहेको वक्ताहरूको भनाइ थियो। शिक्षाको गुणस्तर सुधारका लागि शिक्षकलाई सम्मान, आवश्यक स्रोतसाधन तथा सकारात्मक शैक्षिक वातावरण उपलब्ध गराउनुपर्नेमा उनीहरूले जोड दिए।
विद्यार्थीमा अनुशासन, नैतिक मूल्य, संवेदनशीलता तथा सामाजिक उत्तरदायित्वको भावना विकास गर्न शिक्षकको भूमिका महत्वपूर्ण हुने बताउँदै वक्ताहरूले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लगायतका प्रविधिले शिक्षामा नयाँ अवसर सिर्जना गरे पनि प्रविधि शिक्षकको विकल्प नभई शिक्षालाई प्रभावकारी बनाउने सहयोगी माध्यम मात्र भएको बताए।
भारतीय शिक्षा परम्पराको महत्वपूर्ण पहिचानका रूपमा रहेको गुरु–शिष्य परम्पराका मूल्यमान्यतालाई आधुनिक शिक्षासँगै संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा पनि वक्ताहरूले जोड दिएका थिए।
२५ शिक्षक सम्मानित
समारोहमा शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका प्रो. उमेश प्रसाद, प्रो. अशरफ अन्जुम, प्रो. अर्जुन रहमान, रहमान खान, प्रो. दिनेश नारायण वर्मा, डा. रामनाथ सिंह, प्रो. राजीव रञ्जन, प्रो. रविकान्त, प्रो. जितेन्द्र रजक, प्रो. मनोज कुमार, प्रो. सहेली मेहता, प्रो. ध्रुव नारायण सिंह, डा. सहजानन्द शर्मा, डा. सादाबरीन अहमद, डा. मनोज कुमार, डा. राकेश कुमार सिंह, डा. पंकज कुमार, डा. अमलेश वर्मा, डा. संगम भारती, डा. हैदर, डा. अस्मिता शाह, डा. मोहम्मद मुजफ्फर इस्लाम, डा. कुसुम लता कुमारी, डा. मोहम्मद सोहराब तथा राघवेन्द्र कुमार मणिकान्तलाई सम्मान गरिएको थियो।
कार्यक्रममा प्रो. दिवाकर प्रसाद, प्रो. कृष्णानन्द, डा. गम अन्सारी, डा. सुशील कुमार सिंह, डा. प्रणव कुमार गुप्तालगायतको उपस्थिति थियो। मानवअधिकार टुडेका सम्पादक तथा वैशाली अन्तर्राष्ट्रिय विद्यापीठका संस्थापक डा. शशि भूषण कुमारसमेत समारोहमा सहभागी हुनुभएको थियो।
समारोहमा अतिथिहरूले सम्मानित शिक्षकहरूको योगदानको प्रशंसा गर्दै समाज र राष्ट्र निर्माणमा शिक्षकको भूमिका सबैभन्दा महत्वपूर्ण रहेको बताए। यस्ता सम्मान कार्यक्रमले शिक्षकहरूको मनोबल बढाउनुका साथै समाजमा शिक्षा र गुरु–शिष्य परम्पराप्रतिको सम्मानलाई थप बलियो बनाउने उनीहरूको भनाइ थियो।
कार्यक्रमको अन्त्यमा सम्मानित सबै शिक्षकलाई सम्मानपत्र तथा स्मृतिचिह्न प्रदान गर्दै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरिएको थियो ।

