वीरगंज, १५ कार्तिक । अक्टोबर २४ देखि सुरु भएको पोलियो अन्त्य सप्ताह (End Polio Week) को समापनका अवसरमा आइतबारका दिन वीरगंजमा भव्य जनचेतनामूलक र्याली आयोजना गरिएको छ। पोलियो रोगको पूर्ण उन्मूलनका लागि जनचेतना अभिवृद्धि गर्ने तथा विश्वव्यापी पोलियो उन्मूलन अभियानप्रति ऐक्यबद्धता जनाउने उद्देश्यले र्याली आयोजना गरिएको हो।
रोटरी क्लब अफ वीरगंज र रोटरी क्लब अफ वीरगंज मेट्रोपोलिसको संयुक्त आयोजनामा सम्पन्न उक्त र्याली वीरगंजको घण्टाघरबाट सुरु भई सीमावर्ती भारतीय रक्सौलस्थित मितेरीपुल क्षेत्रसम्म पुगेको थियो। र्याली रक्सौल पुग्दा भारत विकास परिषद्का सदस्यहरूले सहभागीहरूलाई स्वागत गरेका थिए। नेपाल र भारतका सामाजिक संस्थाबीचको सहकार्य र एकताको सन्देशसमेत र्यालीले प्रवाह गरेको थियो।
र्यालीमा रोटरी क्लब अफ वीरगंज, रोटरी क्लब अफ वीरगंज मेट्रोपोलिस, रोट्र्याक्ट क्लब, इन्टर्याक्ट क्लब तथा इनर ह्वीलका सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरू साइकल, मोटरसाइकल, स्कुटी तथा चारपाङ्ग्रे सवारीसाधनसहित र्यालीमा सहभागी भएका थिए। उनीहरूले पोलियो उन्मूलनसम्बन्धी सन्देश प्रवाह गर्दै सर्वसाधारणलाई यस रोगविरुद्धको अभियानमा सक्रिय सहभागिता जनाउन आग्रह गरेका थिए।
आयोजकका अनुसार पोलियो रोग विश्वका विभिन्न स्थानबाट उन्मूलन हुँदै गए पनि विश्वभरबाट पूर्ण रूपमा समाप्त नभएसम्म यसको जोखिम कायमै रहने भएकाले निरन्तर सचेतना आवश्यक छ। विशेषगरी बालबालिकालाई पोलियोबाट सुरक्षित राख्न नियमित खोपको महत्त्वबारे समुदायलाई जानकारी गराउनु र पोलियो उन्मूलन अभियानलाई निरन्तरता दिनु कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो।
पोलियो अन्त्य सप्ताहले पोलियोविरुद्धको विश्वव्यापी अभियानलाई स्मरण गराउँदै यसको पूर्ण उन्मूलनका लागि सरकार, स्वास्थ्यकर्मी, सामाजिक सङ्घसंस्था तथा आम नागरिक सबैको साझा प्रयास आवश्यक रहेको सन्देश दिएको छ।
कार्यक्रम रोटरी क्लब अफ वीरगंजका अध्यक्ष रोटरियन राकेश मिश्र तथा रोटरी क्लब अफ वीरगंज मेट्रोपोलिसका अध्यक्ष रोटरियन राजकिशोर प्रसादको संयुक्त अध्यक्षतामा सम्पन्न भएको थियो।
आयोजकले पोलियो उन्मूलनको लक्ष्य हासिल नभएसम्म जनचेतनामूलक कार्यक्रम तथा अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।

