वीरगंंज, २४ भदाै । लायन्स क्लब अफ वीरगंज मेट्रो सिटी, डिस्ट्रिक्ट ३२२ एसको आयोजनामा वीरगंजस्थित त्रिजुद्ध विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीका लागि ‘स्वच्छता तथा कपाल काट्ने कार्यक्रम’ आयोजना गरिएको छ।
“Cleanliness Builds Confidence, A Fresh Look Brings Joy” भन्ने सन्देशसहित आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई व्यक्तिगत स्वच्छताको महत्वबारे जानकारी दिइएको थियो। साथै, १८ जना दृष्टिविहीन विद्यार्थीलाई निःशुल्क कपाल काट्ने सेवा प्रदान गरिएको थियो।
कार्यक्रमको अध्यक्षता लायन्स क्लब अफ वीरगंज मेट्रो सिटीकी अध्यक्ष लायन पिया सिंहले गर्नुभएको थियो। सो अवसरमा उहाँले क्लबले “We Serve | We Care | We Empower” भन्ने भावनाका साथ समाजमा रहेका विपन्न तथा विशेष आवश्यकता भएका वर्गको सेवाका लागि निरन्तर काम गर्दै आएको बताउनुभयो। उहाँले व्यक्तिगत स्वच्छता स्वास्थ्यका लागि मात्र नभई आत्मविश्वास र सकारात्मक सोचका लागि समेत महत्वपूर्ण रहेको बताउनुभयो।
कार्यक्रममा क्लब अध्यक्ष लायन पिया सिंह, महेश साह कानू, प्रवीण पराजुली, पत्रकार लालबाबु सिंह, कञ्चनजंघा विद्यालयका निर्देशक मार्टिन मोक्तान, सचिव लायन नेल्सन भण्डारी, सह-सचिव लायन प्रसिद्धि आनन्द सिंह, पूर्वअध्यक्ष उमेश कुमार गुप्ता लगायत क्लबका सदस्यहरू श्रुति गुप्ता, श्वेता गुप्ता र सञ्जना बरनवालको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमलाई सफल बनाउन विभिन्न ब्युटी पार्लरका विशेषज्ञहरू प्रतिमा साह, संगीता गिरी (क्वीन ब्युटी पार्लर), सीमा साह (दुर्गा ब्युटी पार्लर), सावित्री श्रेष्ठ (क्वीन ब्युटी पार्लर) र आयुषी बरनवालले प्राविधिक सहयोग प्रदान गर्नुभएको थियो।
कार्यक्रममा दृष्टिविहीन विद्यार्थीहरूलाई व्यक्तिगत स्वच्छताप्रति सचेत गराउनुका साथै उनीहरूलाई निःशुल्क कपाल काट्ने सेवा प्रदान गरिएको थियो। आयोजकका अनुसार यस्ता सेवामूलक कार्यक्रमले समाजका विशेष आवश्यकता भएका वर्गप्रति संवेदनशीलता, सहयोग र सम्मानको भावना अझ बलियो बनाउन मद्दत पुर्याउँछ।

