अभिलाष गुप्ता
वीरगंज, भदौ २६ । हरितालिका तीजको अवसरमा लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एसअन्तर्गत वीरगंजमा खाद्यान्न तथा सरसफाइसम्बन्धी सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ। वीरगंजस्थित बिर्ता कारागारमा रहेका महिलाहरूलाई लक्षित गरी खाद्यान्न तथा स्वास्थ्य र सरसफाइसम्बन्धी सामग्री वितरण गरिएको हो।
कार्यक्रममा वीरगंज महानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष जगतप्रसाद कानु प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। उहाँले तीजको अवसरमा महिलाहरूलाई लक्षित गरी गरिएको सहयोग तथा सामाजिक सेवामूलक कार्यक्रमले सकारात्मक सन्देश दिएको बताउनुभयो।
कार्यक्रममा लायन रोशन गुप्ता, लायन डी.एन. अग्रवाल, सुशील चाचान, बिनोद खण्डेवाल, वीरगञ्ज कारागारका सुरक्षा प्रमुख प्रदीप जैसवाल, गजेन्द्र राउत तथा वीरगञ्ज कारागारका जेलर प्रमुख सुनिल चौरसिया लगायतको विशेष उपस्थिति रहेको थियो।
लायन्स क्लब अफ वीरगंज मिलेनियम एमजेएफका अध्यक्ष वीरेन्द्र साह र लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रलकी अध्यक्ष मिनाक्षी गुप्ताको संयुक्त अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा महिलाहरूको आवश्यकतालाई ध्यानमा राख्दै खाद्यान्नका साथै व्यक्तिगत सरसफाइ तथा स्वच्छतासम्बन्धी सामग्री वितरण गरिएको थियो। सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजना गरिएको उक्त कार्यक्रमले कारागारमा रहेका महिलाहरूलाई सहयोग पुग्ने आयोजकहरूले बताएका छन्।
कार्यक्रमका संयोजक सुमन श्रेष्ठ, के.एम. अन्सारी लगायत लायन्स क्लबका पदाधिकारी, सदस्य तथा सम्बन्धित व्यक्तिहरूको सहभागिता रहेको थियो। कार्यक्रमले चाडपर्वलाई केवल उत्सवका रूपमा नभई सामाजिक सेवा र मानवीय सहयोगसँग जोड्नुपर्ने सन्देश दिएको आयोजकहरूको भनाइ थियो।
कार्यक्रमका लागि आवश्यक सम्पूर्ण खर्च लायन लालबहादुर थिङकी छोरी तथा अस्ट्रेलियामा बस्दै आएकी इनु थिङले व्यहोर्नुभएको थियो। कार्यक्रमको सञ्चालन लालबहादुर थिङले गर्नुभएको थियो।

