अभिलाष गुप्ता
वीरगंव, २९ भदौ । पर्सा क्षेत्र नम्बर २ का सांसद सुशील साह कानुले पर्सागढी नगरपालिका–९, बडेड्वाका शिव महतो थारुका छोरा ध्रुप महतो थारुको मलेसियामा भएको दुःखद निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनलाई भेटेर समवेदना व्यक्त गर्नुभएको छ।
मलेसियामा चार दिनअघि ध्रुप महतो थारुको निधन भएको खबर पाएलगत्तै सांसद कानु सोमबार उहाँको घरमा पुग्नुभएको हो। सांसद कानुले परिवारजन तथा स्थानीयवासीसँग भेटघाट गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो।
भेटका क्रममा सांसद कानुले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभयो। उहाँले दुःखको यस घडीमा आफू परिवारको साथमा रहेको बताउँदै धैर्य धारण गर्न आग्रह गर्नुभयो।
सांसद कानुले मलेसियामा निधन भएका ध्रुप महतो थारुको शव यथाशीघ्र नेपाल ल्याउन आवश्यक पहल तथा समन्वयका लागि आफू सक्रिय रूपमा लागिरहेको जानकारी दिनुभयो। शव नेपाल ल्याउने प्रक्रियामा सम्बन्धित निकाय तथा सरोकारवाला पक्षसँग आवश्यक समन्वय गरिने उहाँले बताउनुभयो।
विदेशमा रोजगारीका क्रममा परिवारका सदस्य गुमाउनुपर्दा परिवारजनमा परेको पीडाप्रति संवेदनशील हुँदै सांसद कानुले मृतकको शव नेपाल ल्याउने कार्यलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
यस अवसरमा स्थानीयवासी तथा परिवारजनले पनि दुःखको समयमा घरमै पुगेर समवेदना व्यक्त गर्नुका साथै शव नेपाल ल्याउन पहल गर्ने प्रतिबद्धता जनाएकोमा सांसद कानुप्रति आभार व्यक्त गरेका थिए।

