अभिलाष गुप्ता
वीरगंज, ३१ भदौ । नेपाल नागरिक फाउन्डेसन पर्सा, वीरगंजको आयोजना तथा वीरगंज सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा वीरगंज महानगरपालिका वडा नं. ११, श्रीपुरमा एकदिने निःशुल्क आँखा चेकजाँच शिविर सम्पन्न भएको छ।
फाउन्डेसनका अध्यक्ष सुरज महतो धानुकको सभापतित्व तथा नेता सुन्दर कुर्मीको प्रमुख आतिथ्यमा सम्पन्न शिविरमा जेष्ठ नागरिक, अल्पसंख्यक तथा आर्थिक रूपमा कमजोर स्थानीयबासीहरूको निःशुल्क आँखा परीक्षण गरिएको थियो।
अध्यक्ष धानुकका अनुसार, आफ्ना वडाबासीहरूलाई सहज स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले वीरगंज सामुदायिक आँखा अस्पतालसँगको समन्वय र सहकार्यमा शिविरको आयोजना गरिएको हो। भविष्यमा निःशुल्क अप्रेसनको समेत व्यवस्था गरिने उनले बताए।
वीरगंज सामुदायिक आँखा अस्पतालका चिकित्सक महेश सिंह धामीको नेतृत्वमा खटिएको प्राविधिक टोलीले सेवा प्रदान गरेको थियो। टोलीमा राजेश चौधरी, श्रुति चौधरी र ओमप्रकाश दास थारू लगायतका स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो।
चिकित्सक धामीका अनुसार शिविरमा कुल ८५ जनाको आँखा परीक्षण गरिएकोमा २५ जनामा मोतियाबिन्दुको समस्या फेला परेको छ। मोतियाबिन्दु देखिएका बिरामीहरूलाई थप उपचार तथा परामर्शका लागि शनिबार सम्बन्धित अस्पतालमा सम्पर्क गर्न सुझाव दिइएको छ।
शिविरमा वडा नं. ११ का वडाध्यक्ष अजय चौरसिया, पूर्व वडाध्यक्ष प्रदुमन सेढाई, संस्थाका सचिव रामप्रीत महतो धानुक, कोषाध्यक्ष ज्ञानेन्द्र महतो धानुक, सदस्य राजकुमार महतो धानुक, राम शाह लगायत स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो

