वीरगंज, ०३ असाेज। ११ औँ संविधान दिवसको अवसरमा वीरगंज स्कुल अफ लको आयोजनामा वीरगंजकाे घण्टाघरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।
कलेजका निर्देशक अधिवक्ता चन्द्रिका पटेलको अध्यक्षतामा आयोजित कार्यक्रममा पर्सा क्षेत्र नम्बर १ का सांसद बुद्धि प्रसाद (हरी पन्त) प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।
कार्यक्रममा कलेजका प्राध्यापक डा. हरेराम ठाकुर, घण्टाघरस्थित अस्थायी प्रहरी पोस्टका इन्चार्ज असई चौधरीलगायत विद्यार्थी, युवा तथा बुद्धिजीवीहरूको सहभागिता थियो।
कार्यक्रममा संविधानको कार्यान्वयन, नागरिकका अधिकार तथा राज्यका दायित्वका विषयमा सहभागीहरूले आ–आफ्ना धारणा राखेका थिए। विद्यार्थीहरूले संविधानलाई समयानुकूल बनाउँदै नागरिकका मौलिक अधिकारको प्रभावकारी कार्यान्वयन तथा कानुनी शासनलाई थप बलियो बनाउनुपर्नेमा जोड दिएका थिए।एक विद्यार्थीले धारणा राख्दै संविधानमा आवश्यक संशोधन गरी बलात्कारजस्ता जघन्य अपराधमा संलग्न दोषीलाई कडा कानुनी सजायको व्यवस्था गर्नुपर्ने माग गरेका थिए।
प्रमुख अतिथि सांसद पन्तले संविधानको पालना गर्नु सबैको अधिकार र दायित्व भएको उल्लेख गर्दै आफ्नो पार्टीका तर्फबाट संविधानको पालना गर्ने र गराउने प्रतिबद्धता व्यक्त गरे।
उनले संविधानले सुनिश्चित गरेका अधिकारको संरक्षणसँगै नागरिकले पनि आफ्नो कर्तव्य निर्वाह गर्नुपर्नेमा जोड दिए।
कार्यक्रमका वक्ताहरूले संविधान दिवसलाई औपचारिक रूपमा मात्र नभई संविधानले प्रत्याभूत गरेका नागरिक अधिकार, लोकतान्त्रिक मूल्य–मान्यता र कानुनी शासनबारे जनचेतना अभिवृद्धि गर्ने अवसरका रूपमा लिनुपर्ने धारणा व्यक्त गरेका थिए।
दीप प्रज्वलनसँगै सहभागीहरूले संविधानको प्रभावकारी कार्यान्वयन र नागरिक अधिकारको संरक्षणका लागि प्रतिबद्धता व्यक्त गरेका थिए।

