हाजीपुर, १९ सेप्टेम्बर २०२६ भदाै ०३ गते । हाजीपुरस्थित प्रसिद्ध एवं ऐतिहासिक बाबा पातालेश्वरनाथ मन्दिरमा अन्तर्राष्ट्रिय पत्रकारहरूको १५ सदस्यीय टोलीले दर्शन तथा मन्दिर परिसरको अवलोकन गरेको छ। सार्क जर्नालिस्ट फोरम इन्टरनेसनलका अन्तर्राष्ट्रिय अध्यक्ष नेपालका राजु लामाको नेतृत्वमा टोली हाजीपुर पुगेको हो।
मन्दिरमा पुगेका पत्रकारहरूलाई मन्दिर न्यास समितिका अध्यक्ष, सचिवलगायत पदाधिकारी तथा सदस्यहरूले स्वागत गरेका थिए। सो अवसरमा अतिथिहरूलाई अंगवस्त्र, पुष्पगुच्छा, पुस्तक तथा स्मृतिचिह्न प्रदान गरी सम्मान गरिएको थियो।
कार्यक्रममा सार्क जर्नालिस्ट फोरम इन्टरनेसनल, इन्डिया च्याप्टर बिहारका अध्यक्ष तथा अन्तर्राष्ट्रिय पत्रकार डा. शशि भूषण कुमारलाई पनि मन्दिर न्यास समितिले सम्मान गरेको थियो। कार्यक्रमको संयोजनसमेत डा. कुमारले गरेका थिए।
हाजीपुर नगर परिषद्की सभापति डा. संगीता कुमारीले अन्तर्राष्ट्रिय पत्रकारहरूको टोलीलाई स्वागत गर्दै नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक सम्बन्धबारे चर्चा गरिन्। उनले नेपाल र भारतबीच सद्भाव, संस्कृति र धार्मिक सम्बन्ध लामो समयदेखि कायम रहेको बताउँदै आगामी दिनमा पनि दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरिन्।
मन्दिर न्यास समितिका सचिव अनिलचन्द्र कुशवाहाले बाबा पातालेश्वरनाथ मन्दिरको ऐतिहासिक, धार्मिक तथा आध्यात्मिक महत्वबारे पत्रकारहरूलाई जानकारी गराए। उनले मन्दिरका धार्मिक परम्परा तथा मान्यताबारे जानकारी दिँदै पत्रकारहरूको टोलीलाई मन्दिर परिसरका विभिन्न महत्वपूर्ण स्थलको अवलोकनसमेत गराएका थिए।
अन्तर्राष्ट्रिय पत्रकारहरूले मन्दिरको ऐतिहासिक विरासत, धार्मिक परम्परा तथा स्थानीय संस्कृतिबारे जानकारी लिएका थिए। सो क्रममा पत्रकारिताका माध्यमबाट विभिन्न देशबीच सांस्कृतिक संवाद, आपसी सद्भाव तथा मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउन सकिने विषयमा समेत चर्चा गरिएको थियो।
मन्दिर परिसरमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा न्यास समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो। अन्तर्राष्ट्रिय पत्रकारहरूको बाबा पातालेश्वरनाथ मन्दिर भ्रमणले हाजीपुरको धार्मिक तथा सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण अवसर प्रदान गरेको आयोजकले जनाएको छ।

