अभिलाष गुप्ता
वीरगंज, ०४ असोज । बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारको राहत तथा सहयोगका लागि एन्जल वर्ल्ड स्कुलका विद्यार्थी, शिक्षक तथा स्कुलको तर्फबाट रु. १ लाख १ हजार सहयोग गरिएको छ।
नेसनल प्याब्सन मधेश प्रदेशको तेस्रो ऐतिहासिक अधिवेशनका अवसरमा एन्जल वर्ल्ड स्कुलका विद्यार्थी, शिक्षक तथा स्कुलको तर्फबाट संकलित उक्त रकमको चेक राष्ट्रिय अध्यक्ष गीता राणालाई हस्तान्तरण गरिएको जिल्ला अध्यक्ष राम श्रेष्ठले जानकारी दिए।
श्रेष्ठका अनुसार उक्त रकम दैवी प्रकोप प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको हो। बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको सहयोगका लागि एन्जल वर्ल्ड स्कुल परिवारले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सहयोग गरेको उनले बताए।
एन्जल वर्ल्ड स्कुलले मानवता, करुणा र एकताको भावनासहित गरिएको यो सहयोग विपद्को समयमा पीडित परिवारप्रतिको ऐक्यबद्धता र सामाजिक उत्तरदायित्वको प्रतिबिम्ब भएको जनाएको छ।
साथै, विपद्को समयमा सबैले आफ्नो क्षमता र सामर्थ्यअनुसार सहयोग गर्नुपर्ने र सानो सहयोगले पनि प्रभावित परिवारमा आशा तथा राहतको अनुभूति दिलाउन महत्वपूर्ण भूमिका खेल्ने स्कुलले जनाएको छ।

