मुम्बई, ०७ oct. असाेज २१ । बिहारमा आएको बाढीका कारण जनजीवन प्रभावित भइरहेका बेला पीडा, आस्था र आशालाई समेटिएको भोजपुरी गीत ‘बाढीमा बिहार, छठी मइया खेवनहार’ सार्वजनिक भएको छ।
लोकप्रिय अभिनेत्री तथा गायिका अक्षरा सिंहको भावपूर्ण स्वरमा रहेको उक्त गीतले बाढीबाट प्रभावित बिहारवासीको पीडा, दुःख र संकटका बीच आशा तथा विश्वासको सन्देश दिएको छ।
गीतका रचनाकार मनोज भावुकले बाढीका कारण प्रभावित घरपरिवार, खेतखलिहान तथा सर्वसाधारणको व्यथा मार्मिक शब्दमार्फत प्रस्तुत गरेका छन्। गीतमा विपद्को घडीमा दुर्गा मइया र छठी मइयासँग बिहारको नैया पार लगाइदिन प्रार्थना गरिएको छ।
गीतमा मधुकर आनन्दको संगीत रहेको छ। गीतको भावअनुसार उनले करुणा, पीडा र आशालाई समेट्ने गरी संगीत संयोजन गरेका छन्। अक्षरा सिंहको भावपूर्ण गायनले गीतमा बाढीपीडितको पीडा र प्रार्थनालाई अझ प्रभावकारी बनाएको छ।
बाढीका क्रममा अक्षरा सिंह स्वयं बिहार पुगेर प्रभावित तथा पीडितहरूलाई सहयोगमा जुटेकी थिइन्। त्यस क्रममा उनले नजिकबाट बाढी प्रभावित नागरिकको अवस्था र पीडा देखेकी कारण पनि गीतको भाव र उनको प्रस्तुतिमा आत्मीयता झल्किएको बताइएको छ।
भोजपुरी साहित्य तथा संस्कृतिमा सक्रिय मनोज भावुकले यसअघि पनि ‘पलायन के दर्द, सुनs ए छठी मइया’ र ‘जागे यूपी-बिहार’ लगायतका गीतमार्फत सामाजिक सरोकारका विषयलाई आवाज दिँदै आएका छन्।
‘बाढीमा बिहार, छठी मइया खेवनहार’ पनि विपद्को पीडाबीच आस्था र आशा जगाउने उनको सिर्जनाको निरन्तरता भएको बताइएको छ। गीतले बाढीबाट प्रभावित बिहारवासीको दुःखसँगै कठिन समयपछि अवस्था सामान्य बन्ने र आशाको बाटो खुल्ने विश्वास व्यक्त गरेको छ।

