वीरगंज, २२ असाेज । पर्सा जिल्ला अदालतका प्रमुख न्यायाधीश गायत्री प्रसाद रेग्मीले कानुनका विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक तथा न्यायिक ज्ञान प्रदान गर्न अदालत र कानुन अध्ययनरत विद्यार्थीबीच सहकार्य आवश्यक रहेको बताएका छन्।
वीरगंजस्थित वीरगंज स्कुल अफ ल कलेजद्वारा आयोजित दसैँ तथा तिहार पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रमुख अतिथि रेग्मीले आजका कानुनका विद्यार्थी नै भविष्यमा अधिवक्ता, न्यायाधीश तथा सामाजिक अभियन्ताका रूपमा समाज र न्याय क्षेत्रको नेतृत्व गर्ने भएकाले उनीहरूलाई व्यवहारिक ज्ञान अत्यन्त आवश्यक रहेको बताए।
उनले कानुनका विद्यार्थीलाई अदालतको कार्यप्रणाली, न्याय सम्पादन प्रक्रिया तथा न्यायिक अभ्यासका व्यवहारिक पक्षबारे जानकारी गराउन पर्सा जिल्ला अदालत सधैँ साथ, सहयोग र समन्वयका लागि तयार रहेको बताए।
क्याम्पस सञ्चालिका सुशिला कुमारी पटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पर्सा जिल्ला अदालतका प्रमुख न्यायाधीश गायत्री प्रसाद रेग्मी तथा विशिष्ट अतिथिका रूपमा जिल्ला न्यायाधीश तीर्थराज केसी, पर्साका प्रहरी उपरीक्षक पवनकुमार भट्टराई, पर्सा बार एसोसिएसनका अध्यक्ष अधिवक्ता रामनारायण कुर्मी, पर्सा जिल्ला अदालतका श्रेस्तेदार प्रभाकर कुमार मल्लिक, कलेजका कार्यक्रम संयोजक प्राध्यापक डा. हरेराम ठाकुर, शिक्षकहरू प्रमोद पाण्डे र पूजा यादव, क्याम्पस प्रमुख अधिवक्ता चन्द्रिका पटेललगायत विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा क्याम्पस प्रमुख अधिवक्ता चन्द्रिका पटेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन बीए एलएलबी (BA LL.B) मा अध्ययनरत प्रथम वर्षकी छात्रा नन्दिनी पटेलले गरेकी थिइन्।
कार्यक्रममा दसैँ तथा तिहार पर्वको शुभकामना आदानप्रदान गर्दै विद्यार्थी तथा अतिथिहरूबीच कानुनी शिक्षा, व्यवहारिक ज्ञान र न्यायिक क्षेत्रसँग सम्बन्धित विषयमा विचार आदानप्रदान गरिएको थियो।

