अभिलाष गुप्ता
वीरगंज, ०८ कार्तिक । चाडपर्वलाई लक्षित गर्दै सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साले अवैध पटाका तथा विस्फोटक पदार्थ नियन्त्रण अभियानलाई तीव्रता दिएको छ। अभियानअन्तर्गत तीन लाख रुपैयाँभन्दा बढी मूल्यका विभिन्न प्रकारका पटाका बरामद गरी नष्ट गरिएको छ।
गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) मोहनबहादुर क्षेत्रीको नेतृत्व तथा निर्देशनमा सञ्चालन गरिएको उक् अभियानको मुख्य उद्देश्य चाडपर्वका बेला पटाका तथा अन्य विस्फोटक पदार्थको अवैध ओसारपसार, बिक्रीवितरण र प्रयोगबाट हुन सक्ने सम्भावित दुर्घटना न्यूनीकरण गर्नु रहेको छ।
पटाकाको अनियन्त्रित प्रयोगले आगलागी, शारीरिक चोटपटक, जनधनको क्षति तथा ध्वनि र वायु प्रदूषणजस्ता समस्या निम्त्याउन सक्ने भएकाले यसको नियन्त्रणलाई प्राथमिकतामा राखिएको छ। विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, बिरामी तथा वातावरणमा पटाकाको प्रयोगले नकारात्मक असर पार्न सक्ने भएकाले नागरिकलाई समेत सचेत रहन आवश्यक छ।
सीमावर्ती जिल्ला पर्सामा अवैध रूपमा भित्रिने तथा कारोबार हुने प्रतिबन्धित सामग्रीमाथि निगरानी बढाउँदै सशस्त्र प्रहरीले सुरक्षा व्यवस्था प्रभावकारी बनाउन सक्रियता देखाएको छ। चाडपर्वको समयमा यस्ता सामग्रीको कारोबार तथा प्रयोग बढ्न सक्ने जोखिमलाई मध्यनजर गर्दै नियन्त्रण अभियानलाई तीव्रता दिइएको हो।
सशस्त्र प्रहरी बल नेपालले सीमा सुरक्षासँगै अवैध गतिविधि नियन्त्रण, विपद् व्यवस्थापन तथा नागरिकको जिउधनको सुरक्षामा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। पटाका नियन्त्रण अभियानले सार्वजनिक सुरक्षा कायम गर्न र चाडपर्वलाई शान्तिपूर्ण तथा सुरक्षित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
चाडपर्वको खुसीलाई दुर्घटना र जोखिममा परिणत हुन नदिन नागरिक स्वयं पनि सचेत हुन आवश्यक छ। प्रतिबन्धित पटाका तथा विस्फोटक पदार्थको अवैध कारोबार र प्रयोग नगर्न तथा त्यस्ता गतिविधिबारे जानकारी पाएमा सम्बन्धित सुरक्षा निकायलाई सूचना दिन सशस्त्र प्रहरीले आग्रह गरेको छ।
अवैध पटाका नियन्त्रण अभियानलाई निरन्तरता दिँदै सुरक्षा सतर्कता बढाउन सके चाडपर्वका बेला हुन सक्ने सम्भावित दुर्घटना न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

