28 October ,2026,Wednesday

पर्सामा चक्रवातको सम्भावित प्रभावलाई मध्यनजर गर्दै जिल्ला विपद् पूर्वतयारी कमाण्ड पोस्टको बैठक, २४ घण्टा सतर्क रहन निर्देशन

वीरगंंज, १० कार्तिक । सम्भावित चक्रवातको प्रभावबाट हुन सक्ने प्राकृतिक विपद् तथा जनधनको क्षति न्यूनीकरण गर्न पर्सा जिल्लामा विपद् पूर्वतयारीलाई तीव्र बनाइएको छ। जिल्ला विपद् पूर्वतयारी कमाण्ड पोस्टको बैठकले सुरक्षा निकाय, स्थानीय तह, सरकारी कार्यालय तथा सरोकारवाला निकायलाई उच्च सतर्कतामा रहन र आवश्यक तयारी अवस्थामा बस्न निर्देशन दिएको छ।

जिल्ला विपद् पूर्वतयारी कमाण्ड पोस्टको २०८३ साल कात्तिक १० गते बसेको बैठकले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विशेष बुलेटिनलाई आधार मान्दै सम्भावित चक्रवातका कारण मधेश प्रदेशलगायतका क्षेत्रमा भारी वर्षा, चट्याङ तथा हावाहुरीको जोखिम बढ्न सक्ने भन्दै विभिन्न निर्णय गरेको हो।

बैठकले विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, सरकारी कार्यालय, स्थानीय तह तथा गैरसरकारी संस्थाहरूलाई आगामी २४ घण्टा उच्च सतर्कता अर्थात् ‘अलर्ट’ अवस्थामा रहन निर्णय गरेको छ। सम्भावित विपद्का बेला तत्काल परिचालन हुन सक्ने गरी आवश्यक जनशक्ति, उद्धार सामग्री र अन्य स्रोतसाधन तयारी अवस्थामा राख्नसमेत आग्रह गरिएको छ।

बैठकमा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, नेपाल इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष एवं समाजसेवी कमल चौगाईलगायत विभिन्न निकायका प्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

स्थानीय तहलाई उद्धार तथा राहतको तयारी गर्न निर्देशन बैठकले पर्सा जिल्लाका सबै स्थानीय तहअन्तर्गतका स्थानीय विपद् व्यवस्थापन समितिलाई पूर्ण जिम्मेवार र सक्रिय बनाउन आग्रह गरेको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै आ–आफ्नो क्षेत्रका विपद् जोखिमयुक्त स्थानको पहिचान गर्न तथा आवश्यक उद्धार सामग्री र जनशक्तिलाई तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ।

त्यसैगरी बाढी, डुबान तथा हावाहुरीबाट प्रभावित हुन सक्ने क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा राख्न आवश्यक पर्ने आपत्कालीन आश्रयस्थल (इमर्जेन्सी सेल्टर) को तत्काल पहिचान र व्यवस्थापन गर्न भनिएको छ। उद्धार कार्यमा प्रयोग हुने एक्स्काभेटर, डम्पर, जेसीबीजस्ता आवश्यक साधनलाई इन्धनसहित तयारी अवस्थामा राख्नसमेत स्थानीय तहलाई आग्रह गरिएको छ।

किसानलाई धानबाली सुरक्षित राख्न आग्रह सम्भावित प्रतिकूल मौसमबाट कृषि क्षेत्रमा हुन सक्ने क्षति न्यूनीकरण गर्न बैठकले किसानलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। कात्तिक १२ गते बिहीबार अगावै पाकेको धान काट्ने, भित्र्याउने तथा मियाँउ लगाउनेलगायतका कृषि कार्य गर्न स्थानीय विपद् व्यवस्थापन समितिमार्फत किसानलाई तत्काल जानकारी गराउने निर्णय गरिएको छ।

कटान गरिसकेको धानलाई सुरक्षित स्थानमा भण्डारण गर्न तथा मौसमको अवस्था अनुकूल नभएसम्म धान नकाट्न र कृषि कार्य गर्दा सावधानी अपनाउन किसानलाई सूचित गर्ने निर्णयसमेत बैठकले गरेको छ।

सर्वसाधारणलाई अनावश्यक यात्रा नगर्न आग्रह चक्रवातको प्रभाव अवधिभर, विशेषगरी कात्तिक १२, १३ र १४ गते सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन बैठकले आग्रह गरेको छ। हावाहुरी तथा चट्याङको समयमा सुरक्षित स्थानमा आश्रय लिन र सडक वा अन्य स्थानमा अनावश्यक यात्रा नगर्न सार्वजनिक सूचना जारी गर्ने निर्णय गरिएको छ।

उक्त सूचना स्थानीय सञ्चारमाध्यम, एफएम रेडियो तथा सामाजिक सञ्जालमार्फत व्यापक रूपमा प्रचारप्रसार गरिनेछ। पत्रकार महासंघ, उद्योग वाणिज्य संघ, गैरसरकारी संस्था, रेडक्रस, प्याब्सन, एनप्याब्सन, शिक्षा विकास तथा समन्वय इकाइ र स्थानीय तहलाई समेत सूचना प्रवाहमा सहयोग गर्न आग्रह गरिएको छ।

बैठकले सम्भावित विपद्बाट हुन सक्ने मानवीय तथा भौतिक क्षति कम गर्न सबै सरोकारवाला निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको निष्कर्ष निकालेको छ। साथै, विपद्को जोखिमलाई ध्यानमा राख्दै पूर्वतयारी, उद्धार तथा राहतका कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई सक्रिय रहन आग्रह गरिएको छ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...