वीरगंज, २४ कार्तिक । छठ पर्वलाई लक्षित गर्दै ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर र रुङटा वेलफेयर सोसाइटी आदर्शनगरको संयुक्त आयोजनामा वीरगंजस्थित कारागारमा रहेका महिला कैदीबन्दीहरूलाई साडी तथा पिठो वितरण गरिएको छ।
छठ पर्वका अवसरमा कारागारभित्र रहेका महिलाहरूलाई पनि पर्व मनाउन सहज होस् भन्ने उद्देश्यले ६३ जना महिला कैदीबन्दीलाई साडी तथा पिठो वितरण गरिएको हो।
ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी (सीडीओ) भोला दाहाल प्रमुख अतिथिका रूपमा उपस्थित थिए।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराई, सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणका गणपति मोहनबहादुर क्षेत्री, बिर्ता वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक विक्रम सुवेदी तथा कारागारका प्रमुखलगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी, कार्यक्रममा रुङटा वेलफेयर सोसाइटी आदर्शनगरका अध्यक्ष सुरेश रुङ्टासहित विभिन्न क्षेत्रका प्रतिनिधि तथा समाजसेवीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा अध्यक्ष खेतानले छठ पर्व आस्था, श्रद्धा र सामाजिक सद्भावको प्रतीक भएको उल्लेख गर्दै कारागारमा रहेका महिलाहरूलाई पनि पर्वको अवसरमा खुसी साटासाट गर्ने वातावरण बनाउन सहयोग गरिएको बताए। समाजका हरेक वर्ग र समुदायका व्यक्तिलाई पर्वको खुसीमा सहभागी गराउने उद्देश्यले मानवीय तथा सामाजिक उत्तरदायित्व अन्तर्गत साडी र पिठो वितरण गरिएको उनले जानकारी दिए।
कारागारमा रहेका महिला कैदीबन्दीहरूले पनि छठ पर्व मनाउन सहज होस् र पर्वको अवसरमा आफूहरू समाजबाट टाढा नरहेको अनुभूति गर्न सकून् भन्ने उद्देश्यले उक्त सहयोग गरिएको आयोजकले जनाएको छ।
यस प्रकारका सामाजिक तथा मानवीय सेवामूलक कार्यक्रमले समाजमा आपसी सद्भाव, सहयोग र मानवीय संवेदनालाई थप मजबुत बनाउने विश्वास आयोजकले व्यक्त गरेका छन्।

