20 November ,2026,Friday

सिमरामा भारत–नेपाल आर्थिक सहकार्य मञ्च २०२६ सम्पन्न, पर्यटन तथा आर्थिक विकासमा सहकार्य बढाउन जोड

अभिलाष गुप्ता

सिमरा, ३ मंसिर । नेपाल र भारतबीच आर्थिक सहकार्य, पर्यटन प्रवर्द्धन, व्यापार विस्तार तथा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले सिमरामा ‘भारत–नेपाल आर्थिक सहकार्य मञ्च २०२६’ सम्पन्न भएको छ।

बिहीबार (१९ नोभेम्बर २०२६) सिमरास्थित होटल श्रेष्ठा रेसिडेन्सीमा आयोजित उक्त मञ्चमा पर्यटन, उद्योग, व्यापार, कृषि, उत्पादन, मानव संसाधन, संस्कृति तथा सूचना प्रविधिलगायतका विभिन्न क्षेत्रको विकास र नेपाल–भारतबीच आपसी सहकार्य विस्तारका विषयमा व्यापक छलफल गरिएको थियो।

कार्यक्रममा नेपालको पर्यटन क्षेत्रको विकासका लागि निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण शीघ्र सम्पन्न गर्न, भारतको रक्सौल विमानस्थलको सम्भावनालाई उपयोग गर्न तथा सिमरा विमानस्थलको पूर्वाधार र सेवा विस्तार गर्नुपर्ने विषयमा विशेष जोड दिइएको थियो।

वक्ताहरूले नेपालमा पर्यटनको अपार सम्भावना रहे पनि त्यसअनुसार पूर्वाधार तथा सेवाको विकास हुन नसकेको बताएका थिए। पर्यटन विकासका लागि सरकारको सक्रियतासँगै निजी क्षेत्र, उद्योगी, व्यवसायी तथा पर्यटन व्यवसायीहरूले पनि आफ्नो स्तरबाट व्यावहारिक पहल गर्नुपर्नेमा उनीहरूले जोड दिएका थिए।

कार्यक्रममा पर्सा राष्ट्रिय निकुञ्जको पर्यटन पूर्वाधारलाई चितवनको सौराहाको मोडलमा विकास गर्नुपर्ने, जनकपुरधामस्थित जानकी मन्दिरलाई पर्यटन गतिविधिसँग जोड्नुपर्ने तथा नेपालको धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्नुपर्ने सुझावसमेत प्रस्तुत गरिएको थियो।

त्यसैगरी नेपाल र भारतबीच आवतजावत गर्ने पर्यटकहरूले यात्राका क्रममा भोग्ने असुविधा तथा दुर्व्यवहारका विषयमा पनि छलफल गरिएको थियो। पर्यटकको सहज र सुरक्षित यात्राका लागि दुवै देशका सम्बन्धित निकाय तथा दूतावासबीच समन्वय र सहकार्य आवश्यक रहेको सहभागीहरूले बताएका थिए। पर्यटकहरूले ट्याक्सी, होटल तथा अन्य स्थानीय सेवाहरू प्रयोग गर्दा स्थानीय व्यवसाय र अर्थतन्त्रमा समेत सकारात्मक योगदान पुग्ने उनीहरूको भनाइ थियो।

छलफलका क्रममा नेपाल आउने पर्यटकमध्ये करिब ६० प्रतिशत मनोरञ्जन, २० प्रतिशत व्यावसायिक काम तथा २० प्रतिशत पर्वतारोहणका लागि आउने गरेको जानकारी प्रस्तुत गरिएको थियो। नेपालले पर्यटन गन्तव्यका रूपमा अन्तर्राष्ट्रिय पहिचान बनाइसकेको उल्लेख गर्दै पर्यटन पूर्वाधार, सेवा तथा व्यवस्थापनको गुणस्तर सुधार गर्नुपर्नेमा जोड दिइएको थियो।

यसका साथै सीमा क्षेत्रमा भन्सारसँग सम्बन्धित समस्याको समाधान, नेपाल–भारत व्यापार प्रक्रियालाई सहज बनाउने, मानव संसाधनको विकास, सांस्कृतिक आदानप्रदान तथा सूचना प्रविधिको विस्तारका विषयमा पनि सहभागीहरूले आ–आफ्ना धारणा राखेका थिए।

मञ्चमा देशका विभिन्न सहर तथा क्षेत्रबाट पर्यटन, उद्योग, व्यापार, शिक्षा र व्यावसायिक क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। काठमाडौंबाट प्रसन्न अधिकारी, हेटौँडाबाट मनोज शर्मा, जनकपुरबाट विजय झुन्झुनवाला, पर्यटन विकास कार्यालयबाट अरविन्द यादव तथा नाथम कलेज बर्दिवासबाट शिवेन्द्र मलिक सहभागी भएका थिए।

त्यसैगरी वीरगञ्जबाट नेपाल युवा उद्यमी मञ्च (NYEF) का प्रतिनिधि तथा ट्राभल्स व्यवसायी रोशन गुप्ता, अमलेखगञ्जबाट जगन्नाथ लामिछाने, NATTA का विनोद चौधरी, सद्दाम हुसेन अन्सारी, वीरगञ्जका वीरेन्द्र नेपाली, बर्दिवासका दीपेन्द्र पराजुलीलगायतको उपस्थिति रहेको थियो। उद्योग क्षेत्रबाट दीपेश अग्रवाल र दामोदर पराजुलीलगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए।

कार्यक्रममा मञ्चका अध्यक्ष मोहन शर्मा, सीमा जागरण मञ्चका महेश अग्रवाल र अशोक तेमानी, होटल तथा पर्यटन व्यवसायी संघ मधेश प्रदेशका अध्यक्ष हीरा गौतम, उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपाल, वीरगञ्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष अनिल अग्रवाल तथा भारतका सकेत रायको सहभागिता रहेको थियो।

त्यसैगरी पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक राम, कृषि अनुसन्धान निर्देशनालय परवानीपुरका निर्देशक डा. बीपी यादव, इलाका प्रशासन कार्यालय सिमराका प्रमुख गणेश नेपाली तथा नेपाल कराते महासंघका केन्द्रीय अध्यक्ष युवराज लामालगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मीणा रहनुभएको थियो। कार्यक्रममा भारतको नयाँदिल्लीस्थित पीएचडी चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (PHDCCI) का वरिष्ठ सचिव अतुल कुमार ठाकुरको समेत विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागीहरूले नेपाल र भारतबीचको ऐतिहासिक, सामाजिक तथा आर्थिक सम्बन्धलाई थप उचाइमा पुर्‍याउन पर्यटन, व्यापार, उद्योग र लगानीका क्षेत्रमा संयुक्त पहल आवश्यक रहेको बताएका थिए। आपसी समन्वय, सहकार्य र व्यावहारिक योजनामार्फत दुवै देशका व्यवसायी तथा नागरिकले लाभ लिन सक्ने विश्वास व्यक्त गर्दै मञ्चले द्विपक्षीय आर्थिक तथा पर्यटन विकासका लागि महत्वपूर्ण अवसर प्रदान गरेको निष्कर्ष निकालिएको थियो।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...