भ्रष्टाचारमा पाँच वर्षभित्र छिनोफानो गर्नुपर्ने विधेयक पास गर्नै दिइएनः ओली
काठमाडौँ, ३० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारको उजुरी परेको पाँच वर्षभित्र कारबाही हुनुपर्ने गरी विधेयक पास गर्न नदिइएको बताएका छन्।
आइतबार वसन्तपुरमा ज्यापु दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफूहरुले भ्रष्टाचारको मुद्दामा पाँच वर्षभित्र कारबाही गरिसक्नुपर्ने आवाज उठाए पनि ऐन पास गर्न नदिइएको बताए।
उनले भ्रष्टाचारको उजुरी परेको कहिलेसम्म कारबाही चलाउने भन्ने व्यवस्था नरहेकाले ढिलोमा ५ वर्षभित्र कारबाही गर्नैपर्ने गरी व्यवस्था गर्न लागेकोमा जननिर्वाचित प्रतिनिधिहरुबाट अस्वीकार भएको बताए।
उनले भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनमा भ्रष्टाचारको मुद्दामा अब उजुरी अल्झाएर पचासौँ वर्षसम्म पनि मुद्दा चलाउन नपर्ने गरी विधेयक बनाइएको बताए।
भ्रष्टाचारको उजुरी परेपछि तत्काल कारबाही हुनुपर्ने उनको भनाइ थियो। कथंकदाचित ढिलो भए पनि ५ वर्षभित्र त्यसको छिनोफानो भएको हुनुपर्ने र लम्ब्याएर त्यत्तिकै छोडिदिन नपाइने व्यवस्था राखिनुपर्ने बताए।
प्रधानमन्त्री ओलीले राष्ट्रिय एकता भाँड्नका लागि पनि हल्ला चलाइने गरेको भन्दै सचेत रहनुपर्ने बताए। सरकार देशमा सुशासन कायम गर्ने, विकासको बाटोमा लैजाने दिशामा अघि बढिरहेको बताए।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?
